+
+
Shares

दयनीय हालतमा बलिउड अभिनेता, प्रशंसकले भने- ‘सलमान, उनलाई सहयोग गर्नुहोस्’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते ६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शरद कपूरको अस्तव्यस्त देखिएको भिडियो भाइरल भएपछि उनका प्रशंसकले चिन्ता व्यक्त गरेका छन् ।
  • हेमा चौधरीले शरद बिरामी भएको र कुकुरको हेरचाहका लागि अस्थायी रूपमा वेलफेयर सेन्टरमा छोडिएको स्पष्ट पारेकी छिन् ।
  • शरदले नयाँ घरमा सरेपछि कुकुरहरूलाई पुनः घर फर्काउने बताएका छन् ।

चर्चित अभिनेता शरद कपूरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा अभिनेता निकै अस्तव्यस्त सेतो सर्ट र दाग लागेको जिन्स लगाएको अवस्थामा देखिएका छन् भने उनको खुट्टामा जुत्ता-चप्पलसमेत छैन ।

 अभिनेताको यस्तो अवस्था देखेर उनका प्रशंसकहरू निकै चिन्तित बनेका छन् । यद्यपि, उनकी एक नजिककी साथी तथा पशु अधिकारकर्मीले अहिले उनको अवस्थाबारे स्पष्ट पारेकी छिन् ।

शाहरुख खानसँग ‘जोश’, ‘जानी दुश्मन’ र ‘जय हो’ जस्ता चलचित्रमा काम गरिसकेका शरद कपूरको यो भाइरल भिडियो उनका फ्यानहरूका लागि चिन्ताको विषय बनेको छ ।

पहिलो भाइरल भिडियोमा अभिनेता अस्तव्यस्त सेतो टि-सर्ट र नीलो जिन्समा देखिएका थिए । खाली खुट्टा रहेका उनी आफ्ना प्यारा कुकुरहरूलाई एउटा पशु कल्याण केन्द्र (एनिमल वेलफेयर सेन्टर) मा छोड्न गएका थिए ।

यो भावुक बिदाइ अभिनेताका लागि निकै कठिन थियो, तर उनकी साथी हेमा चौधरीले  उनलाई साथ दिएकी थिइन् ।  यो भिडियो भाइरल हुनेबित्तिकै फ्यानहरू उनलाई देखेर छक्क परेका थिए । तर, भिडियोमा शरदले आफू फुटबल खेलिरहेकाले कपडा फोहोर भएको बताएको सुन्न सकिन्छ ।

भिडियो भाइरल भएलगत्तै हेमाले इन्स्टाग्राममा थप केही भिडियोहरू सेयर गर्दै शरद अहिले कहाँ छन् भन्ने जानकारी दिएकी छिन् ।

उनले शरदको स्वास्थ्य ठीक नभएको र उनी तथा उनकी श्रीमतीले आफ्नो सानो बच्चाको पनि हेरचाह गर्नुपर्ने बाध्यता रहेको बताएकी छिन् ।  यो ‘जनावरप्रतिको क्रूरता’ नभएको स्पष्ट पार्दै उनले बलिउड स्टार शरदले आफ्ना कुकुरहरूको उचित हेरचाह होस् भन्नका लागि मात्र केही समयका लागि वेलफेयर सेन्टरमा छोड्न लागेको बताइन् ।

बान्द्राको एक महँगो क्षेत्रमा शरदको घर रहेको र त्यहाँ उनी आफ्नो परिवारसँग बस्ने गरेको समेत हेमाले जानकारी दिइन् । पछि भिडियोमा जोडिँदै शरदले पनि आफू नयाँ घरमा सरेपछि आफ्ना कुकुरहरूलाई पुनः घर फिर्ता लैजाने बताएका छन् ।

हेमाले भिडियोमा विशेष जोड दिँदै भनेकी छिन् , ‘शरद कुनै मगन्ते होइनन्, उनी केवल बिरामी मात्र हुन् ।‘ हेमा लामो समयदेखि पशु कल्याणको क्षेत्रमा काम गर्दै आएकी छिन् ।

यो भिडियो सार्वजनिक हुनेबित्तिकै फ्यानहरूले तुरुन्तै आफ्नो प्रतिक्रिया दिएका छन् ।

कमेन्ट सेक्सनमा उनीहरूले चिन्ता व्यक्त गर्दै अभिनेताको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् र उनलाई एक ‘असल व्यक्ति’ को संज्ञा दिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘भगवानले उनलाई र उनका प्यारा जनावरहरूलाई थप शक्ति र सुस्वास्थ्य प्रदान गरून् ।’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो निकै प्रशंसनीय छ कि उनले कुकुरहरूलाई बेसहारा छोडेनन् । आशा छ, उनले आफूलाई आवश्यक परेको र हकदार रहेको मद्दत पाउनेछन् ।’ त्यस्तै, अर्को एक कमेन्टमा लेखिएको छ, ‘बलिउडका मानिसहरूले उनलाई सहयोग गर्नुपर्छ । मलाई आशा छ, खाँचोमा परेकाहरूलाई मद्दत गर्नका लागि चिनिने सलमान सरले उनलाई पक्कै मद्दत गर्नुहुनेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?