Comments Add Comment

खुलामञ्चको रोग हेटौंडा सर्‍यो, हुप्रचौरमा सटर हालिँदै

मैदानमा कालो झण्डा र राष्ट्रिय झण्डा गाड्ने होडबाजी

Photo Credit : विरोधमा उत्रिएका स्थानीयले हुप्रचौरमा लगाइएको जाली भत्काउँदै

१८ वैशाख, काठमाडौं । काठमाडौंको ‘खुलामञ्च बिक्री प्रकरण’ तातिइरहँदा हेटौंडामा पनि यस्तैखालको चलखेल भइरहेको छ । खुलामञ्चमा बसपार्कको जस्तै हुप्रचौरको सार्वजनिक जग्गामा प्याराफिट बनाउने बाहनामा ब्यापारिक सटर बनाएर बिक्री गर्न लागिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

हुप्रचौरलाई बिक्री गर्ने योजना हेटौंडामा नेकपाबाट निर्वाचित मेयर हरिबोल महतकै नेतृत्वमा बनेको हो । खुला चौरको सडकतर्फको भागमा सटरसहितको प्यारफिट बनाएर भाडामा लगाउने र त्यसबाट उठेको पैसा खेलकुद विकासमा लगाउने ‘ललिपप’ देखाएका छन् उनले । उनलाई ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पनि साथ देखिन्छ ।

‘हुप्रचौर’ हेटौंडा बजार नजिकैको एकमात्र खुला मैदान हो । काठमाडौंमा खुलामञ्चजस्तै हेटौंडामा हुप्रचौरले मानिसहरुलाई एकसाथ भेला हुन र विभिन्न कार्यक्रम गर्न स्थान उपलब्ध गराएको छ । साथै स्थानीय खेलप्रेमीहरुले पनि यसलाई उपयोग गर्दै आएका छन् । तत्कालीन नेकपा माओवादीको ७ औं राष्ट्रिय महाधिवेशन यही मैदानमा भएको थियो ।

राज खलकले ‘हुकुम प्रमांगी’ गरेर सार्वजनिक प्रयोजनका लागि दिएको चौर भएकाले यसलाई छोटकरीमा ‘हुप्रचौर’ भनिएको हो । महाभूकम्पका बेला हेटौंडेलीलाई सहारा दिएको खुला स्थान यही चौर हो । साथै बिहान–बेलुकी ताजा सास फेर्दै व्यायाम गर्नेहरुका लागि प्रिय स्थल पनि ।

करिब ८ विगाह क्षेत्रफलमा फैलिएको यो मैदानमा हेटौंडा उपमहानगरपालिकाले प्याराफिटसँगै व्यापारिक सटर बनाउने प्रक्रिया अगाडि बढाएसँगै विवाद बढेको छ । प्याराफिट बनाउने भनेपछि अहिले खेलप्रेमीहरुले मेयरलाई समर्थन गरेका छन् । तर, अन्य स्थानीय बासिन्दा संघर्षका लागि सरोकार समिति नै बनाएर उपमहानगरको विरुद्ध उत्रिएका छन् ।

खुम्चिँदै गएको चौर
करिब ४ दशकअघि हेटौंडाको योजनावद्ध विकासका क्रममा यो चौरलाई खुला क्षेत्रका रुपमा कायम गरेर छाडिएको थियो । त्यसअघि यो चौरको स्वरुप निकै विशाल थियो ।

तर, नगर विकास योजनामार्फत प्लटिङ गरेर सरकारले वरपरको जमीन बेच्यो । पहिलेभन्दा निकै साँघुरो बनाएर हुप्रचौरको लागि सानो भाग खुलै छाडियो । लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा यसको व्यापक प्रयोग भएपछि यसलाई ‘लोकतान्त्रिक मैदान’ भन्न थालियो । त्यही हुप्रचौरको एक तिहाई भागमा उपमहानगरपालिकाले जनआन्दोलनका मकवानपुरे सहीद बासुदेव घिमिरेको नाममा ‘बासुदेव सभा गृह’ बनाउने भन्दै भवन ठड्यायो ।

तर, सभागृह बनाउन लाग्ने ठूलो बजेट जुटाउन सकेन । बन्दाबन्दैको सभागृह निर्माण पुरा नहुँदै खण्डहरजस्तो बनेको छ । हुप्रचौर मासेर बनाइएको सभागृह अहिले दुव्र्यसनीको अखडामा परिणत भएको छ । अहिले प्रयोगविहीन भएको सभागृहले हुप्रचौरलाई गिज्याइरहेको भान हुन्छ ।

खेलप्रेमीलाई ‘ललिपप’

हेटौंडा–४ मा रहेको यो मैदानले विभिन्न खेलका गरी सयौं राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग गरेको छ । त्यसैले यो चौरसँग हेटौंडेली खेलाडी र खेलकुद प्रेमीहरुको भावनात्मक सम्वन्ध छ ।

हेटौंडा उपमहानगरपालिकाले मैदानमा प्याराफिट बनाउन राजनीतिक लबिङ गरिरहँदा स्थानीयबासीले भने विभिन निकायमा पुगेर ज्ञापनपत्र बुझाउन सुरु गरेका छन् । उनीहरुले हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, मेयर महत तथा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन बुझाइसकेका छन् ।

तर, प्रदेश सरकारले नै हुप्रचौरमा ब्यापारिक सटर र प्याराफिट बनाउन १ करोड विनियोजन गरेको छ । त्यसमा हेटौंडा उपमहानगरले एक करोड थपेर काम सुरु गर्न खोजेको छ र टेन्डर पनि भइसकेको छ ।

स्थानीयहरु चर्को विरोधमा उत्रिँदा विभिन्न खेलसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधित्व गर्ने व्यक्तिहरुले उपमहानगरलाई बल पुर्‍याएका छन् । खेलकुदकै पृष्ठभूमिबाट आएका र जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष समेत रहेका मेयर महतले हुप्रचौरमा प्यारफिट निर्माण गर्न आफ्नो सबै शक्ति खर्चिँदैछन् ।

हुप्रचौरलाई खुला राख्न माग गर्दै स्थानीयले हेटौंडा उपमहानगरपालिकाविरुद्ध कालो झण्डा गाडेका छन् । यस्तै खेलकुदसँग आबद्ध संघसंस्थाले सटर र प्यारफिट बन्नै पर्छ भनेर राष्ट्रिय झण्डा गाडेका छन् । पछिल्ला दिनमा दैनिकजसो कालो झण्डा र राष्ट्रिय झण्डा गाड्ने दाउपेच छ ।हुप्रचौरलाई खुला राख्ने अभियानमा युवाहरुले नेतृत्व गरेका छन् । प्याराफिटको योजना स्थगित नभएसम्म आन्दोलन जारी राखिने उनीहरुको भनाइ छ ।

‘हुप्रचौरको उपयोगिता हेरेर यसलाई नगर विकासकै क्रममा खुला छाडिएको हो, यसको अस्तित्व मेटाउने गरी काम गर्न उपमहानगरलाई अधिकार छैन,’ सरोकार समितिका सदस्य लवराज ठकुरीले भने, ‘सटर भाडामा लिएर व्यवसाय गर्न खोज्नेहरु खेलाडीको आवरणमा राष्ट्रिय झण्डा गाडिरहेका छन् ।’

उनले कुनै पनि हालतमा भौतिक संरचना बनाउन नदिने बताए । भौतिक संरचना बनाउन बल प्रयोग भए हामी कानुनी बाटो खोज्ने ठकुरीको चेतावनी छ ।

मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने महानगरको योजना सफल भए भावी सन्ततिका लागि अभिशाप हुने बताउँछन् । क्रंक्रिटको जंगलको बीचमा बाँकी रहेको सानो खुला क्षेत्रलाई पनि क्रंक्रिटकै घेरा हाल्दा हेटौंडावासीलाई सास फेर्न मुस्किल हुने उनको भनाइ छ । हाल हुप्रचौर वरपर ९–९ धुरको जग्गा टुक्राएर सयौं घर बनेका छन् ।

‘ब्यापारिक सटर हालेर त्यहाँ झन् भीड किन बढाउनुपर्‍यो ? हेटौंडेलीले विहान–बेलुका खुला ठाउँमा बसेर हावा खान पनि नपाउने अवस्था ल्याउन किन महरिहत्ते हुँदैछ ?,’ उनी प्रश्न गर्छन् ।

स्थानीयहरु यहाँ ब्यापारिक सटर बनाएपछि मासुदेखि भट्टी पसलसम्म खुल्ने भएकाले यो क्षेत्रलाई खुला रुपमै छाड्नुपर्ने बताउँछन् । हेटौंडाका स्थानीय रामप्रसाद ढुंगानाले गौरीटारमा राष्ट्रिय खेलकुद प्रतिष्ठान निर्माण हुँदै गर्दा साँघुरो हुप्रचौरमा प्यारफिट र सटर बनाउनु नहुने बताए । हुप्रचौरमा गर्ने लगानी गौरीटार रंगशालामा गर्न उपमहानगरलाई उनको सुझाव छ ।

उपमहानगरबाट ३ हजारमा सटर लिएर १५ लाखमा बेच्न पल्किएकाहरुले मेयरलाई यो काममा प्रयोग गर्न खोजेको उनको आरोप छ ।

खेलप्रेमीका आफ्नै तर्क

प्याराफिट बनाउनुपर्छ भन्नेहरुको नेतृत्व जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले गरेका छन् । उनीहरुले पनि आफ्नो माग राख्दै सम्बन्धित निकायमा ज्ञापन पत्र समेत बुझाइसकेका छन् । हुप्रचौरमा राष्ट्रिय झण्डा गाड्ने कामको नेतृत्व पनि यही समूहले गरेको हो ।

लामा भन्छन्, ‘खेल क्षेत्रको विकासका लागि यो काम हुँदैछ, प्याराफिट बनाउन हामी सहयोग गर्छौं । खेल आयोजना गर्नुपर्दा प्रायोजक खोज्दै हिँड्नुपर्ने अवस्था छ । यो संरचना बनेपछि त्यसबाट उठेको रकम खेल क्षेत्रमा प्रयोग हुन्छ ।’

यो निजी जग्गा होइनः मेयर

खेलप्रेमी नेताका रुपमा चिनिएका हेटौंडा उपमहानगरपालिकाका मेयर महतकै नेतृत्वमा केही वर्ष अघि हाल विवादमा रहेको हुप्रचौर मैदान घेर्ने काम भएको थियो । हेटौडामा सुविधासम्पन्न इन्डोर कभर्ड हल निर्माणको काम पनि उनैले गर्दैछन् ।

यति साँघुरो मैदानमा सटरसहितको प्याराफिट किन भन्ने प्रश्नमा मेयर महत भन्छन्, ‘ठूलो प्याराफिट बनाउन लागेको होइन । व्यवस्थितरुपमा पाँचसय जना मान्छे बसेर खेल हेर्न मिल्न सिँढी बनाउन लागेको हो । प्याराफिट बनाउन दुई करोड रुपैयाँ अपुग हुन्छ ।’

उनले हुप्रचौर अतिक्रमण गर्न खोजेको भनेर बुझ्नु गलत हुने तर्क पनि गरे । साथै यो प्राकृतिक विपदका बेला बस्ने स्थान भएको जानकारी आफूलाई रहेको बताए ।

‘मञ्च रहेको स्थानको दायाँबायाँ सिँढी बनाउँछौं । केही सटर निकालेर त्यहाँबाट हुने आम्दानीलाई खेलाडीको हित र खेलक्षेत्रको विकासमा लगाउँछौं,’ उनले भने । नयाँ बन्ने भौतिक संरचनाले कसैको घर नछेक्ने उनको भनाइ छ ।

‘घर छेकिन्छ भन्ने चिन्ता गर्नुपर्दैन, मैले स्थानीयलाई सम्झाएर पठाएका छु, यो निजी जग्गा भएको भए के बनाउन पाउने र नपाउने भन्ने कुरा उहाँहरुको हुन्थ्यो,’ उनले भने ।

हुप्रचौरमै जिल्ला खेलकुद विकास समितिको कार्यालय पनि छ । प्याराफिटका विषयमा विवाद भएपछि समितिलाई कसको पक्षमा उभिने भन्ने अन्योल छ । समितिका अध्यक्ष माधव तिमल्सिना दुबै पक्षको भावनाको कदर गरेर सहमतिमा पुग्नुपर्ने बताउँछन् ।

‘स्थानीयको भावनालाई सम्मान गर्दै भौतिक संरचनाको विकास हुन्छ, मैदानलाई व्यवस्थित गर्नुपर्छ,’ उनी भन्छन्, ‘दुवैपक्षले हामीसँग समन्वय गरको छैन । यहाँ सजिलै मान्छे छिर्न र निस्कन सक्ने गरी भौतिक संरचना बनाउने कुरा सुनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment