Comments Add Comment

भारतीय सेनाले देखेको पाइला यतीकै हो ? यसो भन्छन् नेपाली सेनाका प्रवक्ता

१९ वैशाख, काठमाडौं । भारतीय सेनाले नेपालको मकालु आधार शिविर नजिक ‘यती’ को पाइला देखेको भन्दै ट्वीटरमा फोटो पोस्ट गरेपछि भारतमा यसको निकै चर्चा भइरहेको छ । धेरैले प्रश्न उठाएका छन्, के साँच्चै भारतीय सेनाले देखेको पाइला यतीकै हो त ?

भारतीय सेनाको १८ जनाको टोली मकालु बेस क्याम्पको पदयात्रामा छ । भारतीय टोलीसँगै भरिया, गाइड तथा एक नेपाली सेनाका लियाजन अफिसरसहित ४२ जना छन् । टोलीले २ अपि्रलबाट नुम भन्ने स्थानबाट पदयात्रा सुरु गरेको थियो । नुमसम्म गाडी जान्छ ।

त्यहाँबाट टोली बेस क्याम्पका लागि ३ अप्रिलमा प्रस्थान गर्‍यो । नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल विज्ञानदेव पाण्डेका अनुसार ८ तारिखमा याङ्लाखर्क पुगेर टोलीले ३ दिन आराम गरेको थियो । त्यसपछि ११ तारिखमा नाङ्मालेक खर्क भन्ने ठाउँमा जाने क्रममा बीच बाटोमा यतीको पाइला देखिएको भारतीय सेनाको टोलीले बताएको छ ।

४२ जनाको टोलीमा सबैभन्दा अगाडि १८ भारतीय सेना थिए । उनीहरुभन्दा पछाडि गाइड, भरिया र नेपाली सेनाका लियाजन अफिसर थिए । अगाडि रहेको भारतीय सेनाको टोलीले ‘यती’ को पाइला फेला परेको भन्दै फोटो खिचेको थियो । त्यो हल्ला गाइड र भरिया हुँदै पछाडिसम्म आइपुग्यो ।

तर, नेपाली सेनाका लियाजन अफिसर सो स्थानमा पुग्दा पाइला नदेखिएको रिपोर्ट आएको पाण्डे बताउँछन् ।

‘इन्डियन आर्मीले टि्वट गरेपछि हामीले हाम्रा लियाजन अफिसरसँग बुझ्यौं । उहाँले आफूहरुले सो ठाउँमा पुग्दा पाइला नदेखेको जानकारी गराउनुभयो । सम्भवत केही मिनेटको दौरानमा विभिन्न कारणले मेटिएको पनि हुन सक्छ,’ अनलाइनखबरसँग उनले भने ।

भारतीय सेनाले पोष्ट गरेको तस्वीरमा देखिएको पाइला यतीको भएको कुरामा चाहिँ प्रवक्ता पाण्डेले सन्देह व्यक्त गरे ।

‘भरियाहरुले यस्ता पाइला पहिले-पहिले पनि देख्ने गरेका रहेछन् । उनीहरुले यो पाइला हिउँ भालुको भएको बताएका छन् । हिउँ भालु सामान्य भालुभन्दा ठूला हुन्छन् रे । दुई वर्ष अगाडि एउटा फ्रेन्च टोलीले पनि यस्तो पाइला देखेको कुरा आएको छ,’ पाण्डेले सुनाए ।

घटना भएको केही दिनपछि मात्रै फोटो पोष्ट गरिएकाले यस विषयमा अनुसन्धान गर्न सक्ने अवस्था नरहेको पाण्डे बताउँछन् ।

‘हामीले अहिले त्यसको भेरिफाई गर्न सक्ने स्थिति त छैन, तर भरियाहरुको कुरालाई विश्वास गर्ने हो भने त्यसलाई हिम भालु नै मान्नुपर्ने हुन्छ । यती हो भन्न सक्ने आधार भेटिएन,’ प्रवक्ता पाण्डेले भने ।

१२ अप्रिलमा लो बेस क्याम्प पुगेको भारतीय सेनाको टोली मौसमको खराबीले गर्दा अहिलेसम्म पनि गन्तव्यमा पुग्न नसकेको छैन । ‘उहाँहरु अनुकुल मौसमको प्रतिक्षामा बसिरहनु भएको छ,’ पाण्डेले भने ।

के हो यती ?

यती हिमाली क्षेत्रमा पाइने विश्वास गरिएको जन्तु हो, जसलाई आधा मानव र आधा चिम्पान्जीको रुपमा चित्रण गर्ने गरिएको छ । बारम्बार चर्चा हुने गरे पनि यसको अस्तित्वको ठोस प्रमाण अहिलेसम्म भेटिएको छैन । कतिपयले यती एउटा काल्पनिक जन्तु मात्रै भएको बताउने गरेका छन् ।

नेपालमा यती प्रत्यक्ष देखेको दाबीसमेत केही पर्वतारोहीले गरेका छन्, तर ठोस प्रमाण देखाउन सकेका छैनन् । उनीहरुले यतीको मोटो भुत्ला भएको बताएका छन् । त्यसैका आधारमा धेरै टीभी सिरियल, फिल्म र भिडियो गेममा समेत ग्राफिक्समार्फत यतीको प्रयोग गरिएको छ । यतीमाथि डाक्टर व्हु, टिनटन र मोन्स्टर इन्कजस्ता फिल्म समेत बनेका छन् ।

किंवदन्तीहरुमा यतीलाई लामो लामो कपाल र भुत्ला भएको भिमकाय जीवको रुपमा चित्रण गरिएको पाइन्छ । यसको शरीरको केही अंश मानिस र केही बाँदरसित मिल्छ । यसको ठूलाठूला पाइला र तिखा, डरलाग्दा दाँत हुने पनि कल्पना गरिएको छ । हिउँले ढाकिएका क्षेत्रमा यती एक्ला एक्लै हिँड्ने गरेको बताइन्छ ।

पछिल्ला केही दशकमा वैज्ञानिकहरुले यतीको वास्तविकताका बारेमा अनुसन्धान गरेका छन् । तर, विश्वसनीय निचोडमा पुग्न सकेका छैनन् । धेरै वैज्ञानिकहरु यतीलाई काल्पनिक जन्तु मान्छन् । एसियाली लोककथाहरुमा यतीको निकै चर्चा हुन्छ । खासगरी हिमाल आरोहणका लागि प्रख्यात नेपालको शेर्पा जातिमा यतीका कथाहरु लोकपि्रय छन् ।

भारतीय सेनाले यतीको पाइला भन्दै तस्वीर पोष्ट गरेपछि सामाजिक सञ्जालमा अनेकथरी बहस भइरहेका छन् । धेरैले भारतीय सेनाको दाबीलाई हावादारी भन्दै मजाकको विषय पनि बनाएका छन् । हालै मात्र पाकिस्तानमाथि गरेको बालाकोट आक्रमणमा झूट सावित भएको भारतीय सेनाले यती भेटेको भनेर अर्को झूट बोलेको कतिपयको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment