
२३ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर गठन भएको समाजवादी पार्टी, नेपालले ‘समुन्नत संघीय समाजवाद’ लाई प्रमुख सैद्धान्तिक आधार मानेको छ । फोरमको संघीय समाजवाद र नयाँ शक्तिको समुन्नत समाजवादलाई संयोजन गरेर समुन्नत संघीय समाजवाद बनाएको ती पार्टीका नेताहरू बताउँछन् ।
नवगठित समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठ आफ्नो पार्टीले अंगीकार गरेको सिद्धान्त कांग्रेसको नवउदारवाद र कम्युनिष्टको साम्यवाद भन्दा भिन्न रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘हाम्रो पार्टीको समाजवाद कांग्रेसको प्रजातान्त्रिक समाजवाद र कम्युनिष्टको राष्ट्रिय समाजवाद भन्दा विल्कुल फरक छ ।’
संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवद्वारा सोमबार हस्ताक्षरित नौ बुँदे सहमतिमा मार्क्सवाद र गरीखाने वर्गको विषयमा केही पनि उल्लेख छैन । यसबाटै प्रष्ट छ– नाम ‘समाजवादी’ भए पनि यो पार्टी कम्तिमा ‘सर्वहारा–समाजवादी’ चाहिँ होइन ।
विश्लेषकहरूका अनुसार समाजवादी पार्टी ७८ प्रतिशतको हाराहारीमा रहेका विपन्न र निम्न मध्यम वर्गीयको पार्टी होइन । वाम विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘सहमति पत्र हेर्दा यो गरिबको वा गरीखाने वर्गको राजनीति गर्छु भनेर आएको पार्टीजस्तो लागेन ।’
विश्लेषकहरुको बुझाइमा कुनैबेला एउटै पार्टीमा (नेकपा माओवादी) रहेका डा. भट्टराई र यादव नेतृत्वको पार्टी मध्यम वर्गकै राजनीति गर्न आएको पार्टी हो । नाम जेसुकै राखे पनि यो २२ प्रतिशतको हाराहारीमा रहेका मध्यम वर्ग लक्षित पार्टी नै हो । अलि ठाडो भाषामा भन्दा यो पार्टीले पनि सुकिला–मुकिलाकै प्रतिनिधित्व गर्ने पार्टी हो ।
यो पार्टी पनि मतदातामा राम्रो वर्चस्व भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसकै ‘स्पेस’मा खेल्न खोजेको विश्लेषकहरू बताउँछन् । दुबै पार्टीले जनताको अपेक्षा अनुसार काम गर्न नसक्नु समाजवादी पार्टीका लागि अनुकुल अवस्था हो ।
विश्लेषक पुरञ्जन आचार्य कांग्रेसले आफ्नै कारणले छोड्दै गएको स्पेस समाजवादी पार्टीले उपयोग गर्न सक्ने बताउँछन् । ‘यो पार्टीले कांग्रेसप्रति निराश मतदातालाई आकर्षित गर्ने बलियो सम्भावना छ’, आचार्य भन्छन्, ‘नेतृत्व र नारा दुबै हिसाबले यो पार्टी मध्यम वर्गीयको राष्ट्रिय पार्टी बन्न सक्छ ।’
चुनौती के छन् ?
नवगठित समाजवादी पार्टीले राष्ट्रिय स्वाधीनता, संघीय शासन, समाजवादी व्यवस्था, सहभागितामूलक समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, सामाजिक न्याय, समतामूलक समृद्धि, लोककल्याणकारी राज्य र सामाजिक सुरक्षा, सुशासन र सदाचार, समानुपातिक समावेशीकरण, स्वशासन र स्वायत्तता, सांस्कृतिक बहुलता, समानुपातिक निर्वाचन प्रणाली, पर्यावरणीय सन्तुलन र बहुलतायुक्त समाज र राष्ट्रिय एकतालाई आफ्नो मौलिक विशेषताका रुपमा व्याख्या गरेको छ ।
तर यी विशेषतालाई कार्यान्वयन गर्ने कार्यक्रम भने केही पनि छैन । ‘बलियो वैकल्पिक पार्टी बन्ने सम्भावना हुँदाहुँदै पनि नीति अनुसारको कार्यक्रम नहुनु यो पार्टीको सबैभन्दा ठूलो चुनौति हो’ वाम विश्लेषक श्रेष्ठ भन्छन्, ‘नेपालमा समाजवादको नारा नलगाउने पार्टी को होला ? नीति कार्यान्वयन गर्ने कार्यक्रम भएन भने समाजवाद भन्दैमा पार्टीले आकार लिँदैन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले नयाँ शक्ति पार्टीको संयोजक रहेकै बेलादेखि खस आर्य, आदिवासी जनजाति र मधेसीसमेत गरी प्रमुख तीनवटा सामुदायिक क्लस्टरमा जोड दिँदै आएका छन् । एकीकरणपछि खस आर्यको स्वयं भट्टराईले प्रतिनिधित्व गरेका छन् भने मधेसीको प्रतिनिधित्व उपेन्द्र यादवले आदिवासी जनजातिको प्रतिनिधत्व अशोक राईले गर्ने बताइएको छ ।
विश्लेषक आचार्यको विचारमा समाजवादी पार्टी साँच्चै समावेशी नेतृत्व भएको पार्टी पनि बनेको छ । उनी भन्छन्, ‘मधेसी र जनजाति कम्तिमा केही वर्ष नेकपा र कांग्रेसको मूल नेतृत्वमा पुग्ने सम्भावना नभएकाले समाजवादी पार्टीलाई समावेशी नेतृत्व भएको पार्टी मान्नुपर्ने हुन्छ ।’
तर, नेतृत्वको यो समावेशीपन बाहिरबाट हेर्दा जस्तो सहज भने छैन । यो कुरा बुझ्न टाढा जानै पर्दैन, एकीकरणअघिको संघीय समाजवादी फोरमलाई हेरे पुग्छ । ३२ जेठ ०७२ मा यादव नेतृत्वको मधेशी जनअधिकार फोरम, राई अध्यक्ष रहेको संघीय समाजवादी पार्टी र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टी एकता भएर संघीय समाजवादी फोरम गठन भएको थियो ।
दलगत रुपमा एकीकरण भए पनि फोरम र संघीय समाजवादीका नेताहरूबीच ४ वर्षसँगै काम गर्दा पनि भावनात्मक एकता भने हुन सकेन । पूर्वफोरमका एक केन्द्रीय नेता भन्छन्, ‘बाहिर बसेर हिमाल, पहाड, मधेसको नारा लगाउन जति सजिलो छ, एउटै पार्टीमा बसेर काम गर्दा त्यति नै असहज पनि हुँदोरहेछ ।’
ती केन्द्रीय नेताका अनुसार मधेस आन्दोलनबाट राजनीतिक उचाई बनाएका यादव र एमालेको उपाध्यक्ष रहिसकेका राईबीच एउटै पार्टीमा हुँदाहुँदै पनि ‘अच्छा’ भन्न लायक सम्बन्ध थिएन ।
अहिले पनि दोस्रो वरियतामा रहेका वरिष्ठ नेता अशोक राई तत्काल सरकार छाड्नुपर्ने पक्षमा छन् । उनकै दबावमा फोरमले आफैं सहभागी सरकारका प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइसकेको अवस्था छ ।
वरियताको पहिलो नम्बरमा रहेका डा. भट्टराईको अन्तरमुखी स्वभाव, प्राज्ञिक विद्धता र टीममा सहजै घुलमिल हुन नसक्ने कमजोरीका साथै ‘कम्फर्ट जोन’ बाट बाहिर निस्कन गाह्रो मान्ने विशेषतालाई पनि यो पार्टीको चुनौतीका रुपमा हेर्नुपर्ने विश्लेषकहरु बताउँछन् ।
जोड्ने कडी
प्रदेश २ का मुख्यमन्त्री समेत रहेका नवगठित पार्टीका उपाध्यक्ष लालबाबु राउतले प्रज्ञा भवनमा भएको एकता घोषणा कार्यक्रममा चुनावमा जाँदा आफूहरूलाई मतदाताले क्षेत्रीय पार्टी र मधेस आन्दोलन गरेर जनतालाई दुःख दिएको आरोप लगाएको गुनासो गरे । ‘अब पार्टी एकीकरणपछि हामीलाई यस्तो आरोप लाग्ने छैन’, राउतको भनाइ थियो ।
फोरमका लागि नयाँ शक्तिसँगको एकीकरण किन आवश्यक थियो भन्ने प्रश्नको उत्तर राउतको यो भनाइले दिन्छ । त्यतिमात्रै होइन, उनको यो भनाइमा कानूनतः राष्ट्रिय पार्टी भए पनि फोरमले क्षेत्रीय पार्टीको आरोप झेल्दै आएको मर्म पनि लुकेको छ । राष्ट्रिय पार्टी बनाउने उत्कट चाहना नै प्रतिनिधिसभामा जम्मा एक सिट भएको नयाँ शक्तिसँग फोरम एकताको कारण थियो भन्दा शायद गलत हुँदैन ।
एकीकरणको ४ वर्षमा उपेन्द्र यादवले फोरमलाई राष्ट्रिय पार्टीको दर्जा दिन अशोक राई र युवराज कार्कीको उचाइ अपर्याप्त रहेको ठाने । कुनैबेला माओवादी केन्द्रीय सदस्यसमेत रहिसकेका यादवलाई जनयुद्धका बेला पुष्पकमल दाहाल प्रचण्डले डा. भट्टराईकै व्यक्तित्वलाई ‘उपयोग’ गरेको बिर्सने कुरै थिएन ।
चतुर नेताको पहिचान बनाएका यादव त्यस्तो नेताको खोजीमा थिए, जसको राष्ट्रिय व्यक्तित्व होस् तर सत्तारोहणमा आफ्नो प्रतिस्पर्धी पनि नहोस् । यस्तो दुबै विशेषता भएका व्यक्ति पूर्वप्रधानमन्त्री डा. भट्टराई नै थिए । प्रधानमन्त्री भइसकेका भट्टराई उपप्रधान वा अर्थमन्त्री बन्ने कुरा भएन ।
पत्रकार चन्द्रकिशोर डा. भट्टराईलाई भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर र यादवलाई रामविलास पासवानसँग तुलना गर्न रुचाउँछन् । ‘चन्द्र शेखरको व्यक्तित्व थियो, संगठन थिएन, रामविलासले सँधै चुनाव जित्थे तर राष्ट्रिय व्यक्तित्व बनाउन सकेका थिएनन्’ उनी भन्छन्, ‘भट्टराईलाई संगठन र यादवलाई व्यक्तित्व भएको नेताको खोजीले एक ठाउँमा ल्याएको हो ।’
समावेशिता, समानुपातिक प्रतिनिधित्व, लोकतान्त्रिक समाजवाद जस्ता विषयमा दुई पार्टीबीच समानता नभएको होइन ।
डा.भट्टराईको पार्टीलाई भने अस्तित्वकै संकट थियो । एउटै पार्टीमा बसेर काम गरिसकेका र भट्टराईलाई विश्वास गरेर आएका पूर्वप्रशासकहरूले धमाधम पार्टी छोडेपछि नयाँ शक्ति पार्टी सुरक्षित अवतरणको पर्खाइमा थियो ।
एकता घोषणा कार्यक्रममा यादवले राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीलाई पनि स–सानो सटर चलाएर नबस्न भन्दै एक नम्बरको पार्टी बनाउने अभियानमा सामेल हुन आह्वान गरेका छन् ।
डा. भट्टराईले पनि नयाँ वैकल्पिक शक्तिको उदय भएको उदघोष गरे । तर, यस्तो घोषणा गरिरहँदा पनि अध्यक्षद्वयले समाजवादी पार्टीको चुनाव जित्ने क्षेत्र भने यसअघि फोरमले जितेकै क्षेत्र हो भन्नेचाहिँ सम्झिरहेका थिए ।
प्रतिक्रिया 4