Comments Add Comment

फोरम-नयाँ शक्ति एकीकरणमा किन अटेन राजपा ?

२२ वैशाख, काठमाडौं । जतिबेला संघीय समाजवादी फोरम (संसफो) र राष्ट्रिय जनता पार्टी (राजपा)ले पार्टी एकताका लागि चिठ्ठीपत्र आदान प्रदान गरिरहेका थिए, डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी मौन जस्तै थियो । तर, दुई पार्टीबीच पत्रचारमा सिमित रहेको एकता वार्ताले औपचारिकता पाउन नपाउँदै फोरम एकाएक नयाँ शक्तिसँग नजिक मात्र भएन, अध्यक्ष उपेन्द्र यादवले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर नै गरेका छन् ।

तर, उपेन्द्रले डा. बाबुराम भट्टराईसँग पार्टी एकताको लागि हात मिलाउँदा राजपा भने छुटेको छ ।

जबकी, संसफोले नयाँ शक्तिभन्दा अगाडी राजपासंग एकता गर्ने प्रक्रिया लिखित रुपमै अगाडि बढाएको थियो । संसफोका सह-अध्यक्ष तथा वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठले १९ पुस २०७५ मा राजपालाई पार्टी एकिकरणको लागि लिखित प्रस्ताव पठाएका थिए ।

राजपाले ३० फागुनमा त्यसको उत्तर दियो, जसमा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले हस्ताक्षर गरेका थिए । १२ चैतमा पार्टी अध्यक्ष यादवको हस्ताक्षरमा संसफोले जवाफ पठायो । तर, दुई पार्टीबीचको एकता प्रयास पत्राचारमै सीमित रह्यो । पत्राचार किन फलदायी हुन सकेन त ?

यो पनि पढ्नुहोस उपेन्द्र र बाबुरामको एकता घोषणा सोमबार, बन्ने भयो समाजवादी पार्टी

‘त्यो पत्राचार पार्टी एकताका लागि गरिएकै थिएन’, राजपा अध्यक्ष मण्डलका एक सदस्य भन्छन्, ‘दुबै पक्षले एकता भन्दा पनि मधेसका मतदाताका अगाडि एकता विरोधी नदेखिन र एक अर्कालाई अलमलाउन मात्र वार्ताको कुरा अगाडि बढाएका थिए ।’

उनका अनुसार, सम्बन्धित ठाउँमा पुग्दानपुग्दै प्रेषकले नै पत्र र त्यसको बेहोरा सञ्चार माध्यममा पुर्‍याइसक्थे । तीनवटै पत्रमा एकताको अपरिहार्यता, आशावादीता जस्ता कर्णपि्रय शब्दहरु प्रयोग भए पनि पार्टी एकिकरणका लागि आवश्यक पर्ने आधारहरु उल्लेख थिएन । एकअर्कालाई ‘एङ्गेज’ राख्दै मतदाताको आँखामा छारोहाल्ने प्रयास मात्र भएको राजपा नेताहरुको दाबी छ ।

एउटा दापका दुई खुकुरी !

तराई-मधेशलाई आधार क्षेत्र बनाएका संसफो र राजपा एक अर्कालाई प्रमुख प्रतिस्पर्धी मान्छन् । एउटाले पार्टी एकीकरणको कुरा अगाडि सार्दा अर्कोले देखिने गरी इन्कार गर्न नसक्नुको प्रमुख कारण यही हो ।

३२ जेठ २०७२ मा यादव नेतृत्वको मधेशी जनअधिकार फोरम, अशोक राई अध्यक्ष रहेको संघीय समाजवादी पार्टी र खस समावेशी पार्टीबीच एकताबाट संसफो बनेको हो । त्यसको दुई वर्षपछि ७ बैशाख २०७४ मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा), सदभावना पार्टी (सपा), राष्ट्रिय मधेश समाजवादी पार्टी -रामसपा), तराई मधेश सदभावना पार्टी (तमसपा), मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र नेपाल सदभावना पार्टी (नेसपा) मिलेर राजपा गठन भयो ।

संघीय समाजवादी पार्टीले फोरमसँग भन्दा पहिला नै महन्थ ठाकुरको तमलोपा, महिन्द्रराय यादवको तमसपा र शरदसिं भण्डारी नेतृत्वको रामसपासँग एकीकरण गर्न लागेको थियो । राजपा बनीसकेपछि पनि संसफोका नेताहरूले ठाकुर, यादव र भण्डारीसँग एकताका लागि छलफल चलाइरहेको थियो ।

राजपा अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, अनिलकुमार झा र राजकिशोर यादवलाई भने संसफोले एकीकरणको सूचीमा राखेको थिएन । ‘महतो, झा र राजकिशोरजीलाई पार्टीमै ल्याउनु पर्ने गरीको जनाधार छैन’ संसफोका एक नेता भन्छन्, ‘राजपा नबनेको भए ठाकुर, महेन्द्रराय र भण्डारीसँग एकीकरण भइसक्ने थियो ।’

डा. बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्ने गरी दुई पार्टीले एकीकरण घोषणा गर्दैछन् । नयाँ शक्ति पार्टीका एक नेताका अनुसार राजपा आफैं एउटा पार्टी बन्न नसक्नु एकताको अर्को बाधक बन्यो । उनी भन्छन्, ‘राजपासँग एकीकरण गर्नका लागि कम्तिमा आठ जना अध्यक्ष बनाउनुपर्ने अवस्था थियो ।’

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव भने आफूहरू एकताकै पक्षमा रहेको पनि वार्ता र छलफलका लागि समय नपुगेको बताउँछन् । सरकार छाड्नुपर्ने शर्तबाट पनि आफूहरू पछि हटेको उनले बताए । ‘प्रदेशमा त हामी पनि सरकारमै छौं, एकताका लागि सरकारमा बस्ने कि नबस्ने भन्ने कुरा महत्वपूर्ण थिएन’, यादवले अनलाइनखबरसँग भने, ‘निरन्तर छलफलमा बस्छौं, ठोस आधार तय भयो भने भविष्यमा एकता नहोला भन्न सकिदैन ।’

संसफोको नेता तथा वार्ता टोली सदस्य रकम चेम्जोङ राजपासँग पछिल्लो समय एकताका लागि औपचारिक वार्ता नभएको बताउँछन् । ‘पत्राचार सम्म भएको हो’ उनले भने, ‘नयाँ शक्तिसँग कुरा मिलीसकेपछि राजपाले कुर्न सकेनौं ।’

जनमुक्ति नमिल्ने

नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराई, संसफो अध्यक्ष यादव, राजपा अध्यक्ष मण्डलका सदस्यद्वय महन्ठ ठाकुर र राजेन्द्र महतो, राष्ट्रिय जनमुक्ति पार्टीका वरिष्ठ नेता एमएस थापा र नयाँ शक्ति पार्टीका नेता परशुराम खापुङको तस्वीर राखेर चार पार्टीबीच एकता हुन लागेको समाचारहरु आएपछि त्यसको खण्डनमा जनमुक्तिले विज्ञप्ति निकाल्यो ।

जनमुक्ति पार्टी सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ शक्ति, फोरम, राजपा र जनमुक्ति पार्टीबीच पार्टी एकता हुने भनी सञ्चार माध्यमहरुमा आएको समाचार असत्य र भ्रामक रहेको सचिवालयले प्रष्ट पारेको छ । पार्टी केन्द्रीय सचिवालयका अनुसार राष्ट्रिय परिस्थिति र समस्या बारे विभिन्न दलहरुसंग पार्टीको शीर्ष तहले अनौपचारिक भेटघाट र छलफल गरेको हो तर पार्टी एकता बारे प्रकृया अगाडि बढेको भन्ने चाहिं सरासर गलत हो ।’

जनमुक्ति पार्टीका नेता थापाले विचार र सिद्धान्त मिल्नेसँग मोर्चा बनाएर सहकार्य गर्न सकिने तर, पार्टी एकता नै भने नगरिने बताए । नयाँ शक्ति पार्टीको बबरमहलस्थित कार्यालयमा भएको बैठकमा सहभागी भएका थापाले अनलाइनखबरसँग भने, ‘कार्यगत एकता गर्न तयार छौं तर पार्टी एकता गर्दैनौं ।’

एक नम्बरमा बाबुराम

संसफो र नयाँ शक्तिबीचको एकता घोषणा २३ बैशाख विहान ११ः४५ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने भएको छ । दुई पार्टीका अध्यक्षले शनिबार पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राख्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

२५ सदस्यीय पदाधिकारीमा १६ संसफो र ९ जना नयाँ शक्तिले पाउने भएको छ । पार्टी भित्र पहिलो वरियतामा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, दोस्रोमा उपेन्द्र यादव, तेस्रोमा अशोक राई र चौथोमा राजेन्द्र श्रेष्ठ रहनेछन् । केन्द्रीय समितिमा फोरमबाट २०० र नयाँ शक्तिबाट १५१ जना रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment