
१६ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम झण्डै ३७ अर्ब घाटामा छ । लगातारको घाटाका कारण उसले वाइडबडी विमान खरिद गर्ने क्रममा कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्ता समेत तिर्न सकेको छैन ।
निगमको कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद दाहालले चिनियाँ विमान नेपाली सेनालाई चलाउन दिने प्रस्ताव राखेका छन् । निगमको वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीकै सामु यो प्रस्ताव राखेका हुन् ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनको प्रस्ताव अस्वीकार मात्र गरेनन्, कडा प्रश्न पनि गरेका छन् । ‘काम लाग्दैन भनेर सेनालाई दिउँ भनेको हो भने सेना कबाडी खाना हो ? काम नलाग्ने भएर दिउँ भनेको हो भने सेना बञ्चरेडाँडा हो ?’
सेनालाई दिँदा उसले चलाउन सक्ने भएपछि के तर्कका आधारमा सेनालाई दिने भन्ने प्रश्न गरे । उनले अघि भने, ‘पाइलट नभएर कि ? जङ्गी पोशाकमा मात्र उड्छ कि ?’
सेनाले उडाउन सक्छ भने वायुसेवा निगमले किन सक्दैन भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘सुरक्षित छैन भने किन दिनुहुन्छ ? छ भने आफैं किन चलाउनु हुन्न ?’
व्यवस्थापन राम्रो छ भन्ने विश्वास नेपाली सेनाले आर्जन गरेको उपलब्धी भएको प्रधानमन्त्रीले बताए ।
प्रतिक्रिया 4