Comments Add Comment

कुमार पौडेल मृत्यु प्रकरण : संसदीय छानविन समिति बनाउन नेकपाले मानेन

२४ असार, काठमाडौं । सर्लाहीका कुमार पौडेल मृत्यु प्रकरणबारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने विपक्षी दलको मागमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असहमति जनाएको छ । दलहरुबीच सहमति नजुटेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

मंगलबार सर्लाही घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले संसदलाई जानकारी गराएका थिए ।

उनले विप्लव समूहका सर्लाही इन्चार्ज पौडेलको मृत्यु प्रहरीसँग भिडन्तमा भएको बताए भने सरोजनारायण यादवलाई हवाई फायर गर्दा गोली लागेको बताए । तर गृहमन्त्रीको जवाफमा कांग्रेस र राजपाले चित्त बुझाएन ।

गृहमन्त्रीले सुरक्षा निकायबाट भएको कमजोरीलाई ढाकछोप गरेको भन्दै दुबै दलले संसदीय छानबिन समिति गठन गर्न माग गरे । सभामुख कृष्णबहादुर महराले आफू सकारात्मक रहेको तर सबै दलसँग परामर्श गरेर निर्णय लिने बताए ।

यो पनि पढ्नुहोस कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

सभामुखले रुलिङ गर्नुपर्ने माग गर्दै दुबै दलले रोष्टम घेराउ गरे । लगत्तै संसद स्थगित गरेर सभामुखले दलहरुसँग छुट्टाछुट्टै र सामूहिक छलफल गरेका थिए । संयुक्त छलफलमा नेकपाका प्रतिनिधिहरुले सर्लाही घटनामा संसदीय छाननविन समिति बनाउनुपर्ने अवस्था बनिनसकेको तर्क गरेका छन् ।

‘कुमार पौडेललाई नियन्त्रणमा लिएर गोली हानेको जस्तो देखिन्छ । उनको हात भाँच्चिएको छ । त्यस्तो हातले कसरी फायर गर्छ ? अर्को घटनामा पनि एलएलआरबाटै गोली चलाएको स्वयं गृहमन्त्रीले स्वीकार गर्नु भएको छ’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘तर गृहमन्त्रीले एकतर्फी कुरा मात्र राख्नु भयो र कमजोरी ढाकछोप गर्नुभयो । त्यसैले संसदीय समिति चाहिने देखियो ।’

उनले अघि भने, ‘(नेकपाका प्रतिनिधि) उहाँहरुले संसदीय समिति बनाउनुपर्ने अवस्था बनिसकेको छैन भन्नुभयो । त्यसैले आज सहमति जुट्न सकेन ।’

बैठकमा कानुनमन्त्री भानभक्त ढकालका साथै नेकपा प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी र सांसद कृष्णभक्त पोखरेल सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment