Comments Add Comment

हेलिकप्टरमा जब पूजा र पल मनकामनामा ओर्लिए(फोटो र भिडियोसहित)

नायक पल शाह र नायिका पूजा शर्मा मंगलबार बिहान हेलिकप्टरबाट मनकामना मन्दिरमा ओर्लिए । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को घोषणा भएसँगै यो चलचित्रमा पल र पूजा हुने वा नहुने भन्ने चर्चा थियो । चर्चाकै बिचमा निर्माणपक्षले मिडियाकर्मी र चलचित्रकमै टिमलाई कलाकार लुकाएको थियो । पूजा र पल हेलिकप्टरबाट मनकामना परिसरमा रहेको हेलिप्याडमा ओर्लिदा मात्र धेरैका लागि यो सरप्राइज नै भयो ।

चलचित्रका निर्देशक सुदर्शन थापाले भने–‘हामी केही दिनदेखि नै मनकामनामा बसेर चलचित्रको स्क्रिप्टमा काम गरिरहेका थियौं । यसैले, कलाकारलाई हेलिकप्टरबाट ल्याएर चलचित्रको शुभसाइत मात्र गरिएको हो ।’ निर्माणपक्षले पूजा र पललाई मनकामनामा ल्याउन र लैजानका लागि मात्र १ लाख ३० हजार भन्दा बढी खर्च गरेको थियो ।

नायक पल शाहले भने–‘दर्शकहरुले यसअगाडि हामीलाई ‘म यस्तो गीत गाउँछु’मा निकै माया दिनुभयो । अब, झन् यसको दोब्बर माया दिनुहुनेछ भन्ने लागेको छ ।’ नायिका पूजा शर्माले दर्शकले आफू र पललाई नै यो चलचित्रमा खोजेको बताइन् । दर्शकको माग अनुसार नै आफूहरु फेरि एकसाथ पर्दामा आएको उनले बताइन् ।

भदौ महिनाबाट चलचित्रको छायांकन सुरु हुनेछ । फागूणको २३ गतेबाट यो चलचित्र रिलिजमा आउनेछ । चलचित्रका अन्य कलाकार फाइनल गरिएको छैन । निर्देशक थापाले अहिले संगीतमा काम भैरहेको सुनाए । अर्जुन पोखरेलले चलचित्रको संगीत गरिरहेका छन् ।

पल र पूजा मन्दिर परिसरमा पुग्दा मनकामना दर्शनमा पुगेकाहरुले फोटो खिच्न तछाडमछाड गरेका थिए । पल शाह र पूजा शर्मालाई देख्दा दर्शनका लागि लाइनमा उभिएकाहरु समेत उत्साहित देखिए । उनीहरुलाई नेपाल प्रहरीले सुरक्षा दिएको थियो ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment