Comments Add Comment

स्वस्तिमाको अवार्ड अनुभव : एकछिन त सासै फेर्न सकिन !

नायिका स्वस्तिमा खड्का स्वदेशमा आजसम्म एउटा पनि अवार्ड जितेकी छैनन् । तर, चलचित्र ‘बुलबुल’मा गरेको उत्कृष्ट अभिनयका लागि श्रीलंकामा आयोजित सार्क फिल्म फेस्टिबलमा ‘जुरी अवार्ड’ जितिन् । पहिलो अवार्ड नै सार्कस्तरको जित्दा उनमा खुशीको सीमा छैन ।

देशलाई नै खुशीको समाचार दिएकी स्वस्तिमा मंगलबार बेलुकी नेपाल फर्केकी छन् । उनले अनलाइनखबरसँग कुराकानी गर्दै यो अवार्ड आफूले मात्र नभएर सबै नेपालीले जितेको प्रतिक्रिया दिइन् ।

आफू महोत्सवमा गएदेखि अवार्ड जित्दासम्मको अनुभव छोटकरीमा यसरी सुनाइन्ः

आफूले अभिनय गरेको चलचित्र ‘बुलबुल’ सार्क फिल्म फेस्टिवलका लागि छनोटमा परेपछि खुसीले फुरुंग थिएँ । आफैँ सहभागी हुन पाउने कुराले मलाई थप उत्साहित बनायो । अन्तर्राष्ट्रियस्तर फिल्म महोत्सवमा भाग लिन पाउँदा धेरै नयाँ कुराहरु देख्ने, जान्ने र सिक्ने मौका थियो मेरा लागि ।

निर्देशक विनोद पौड्याल दाइले पहिल्यैबाट संकेत गर्नुभएको थियो । म तयार नै थिएँ । तर, त्यहाँ पुगेर के-के गर्ने भन्ने चाहिँ केही पनि मेलोमेसो थिएन । खासमा मैले त त्यहाँ चलचित्र प्रदर्शन र अन्तरक्रिया मात्रै होला भन्ने सोचेकी थिएँ तर, त्यहाँ त अवार्ड पनि हुँदो रहेछ । मैले त्यहीँ पुगेर मात्र अवार्ड हुने पत्तो पाएँ ।

मेरो चासो चाहिँ अवार्डमा भन्दा पनि आफ्नो चलचित्र र अभिनयलाई अन्य देशका चलचित्रकर्मीहरुले कसरी हेर्लान् र कस्तो प्रतिक्रिया देलान् भन्ने थियो । यहाँबाट त मैले निकै राम्रो प्रतिकृया पाएकी थिएँ । दर्शक, समिक्षक, चलचित्रकर्मी सबैले सह्राहना गर्नुभएको थियो । अब मलाई अन्तर्राष्ट्रिय स्तरको समीक्षा सुन्ने प्रतिक्षा थियो ।

फेस्टिवलको सुरुवात बलिउड चलचित्र ‘पद्मावत’बाट भयो । तर, यो चलचित्र प्रतिष्पर्धामा थिएन । प्रतिष्पर्धामा रहेको चलचित्रमध्ये ‘बुलबुल’ नै पहिलो शोमा पर्‍यो । मनमा डर र उत्साहले एकसाथ डेरा जमाएको थियो ।

चलचित्रको शो सकियो । धेरैको अनुहार उज्यालो देखेँ । मेरो काम र चलचित्रको प्रशंसा भयो । म त दंग परेँ । शो सकिएपछि अन्तक्रिर्या सुरु भयो । म त्यहाँ साडी-चोलोमा पुगेकी थिएँ । चलचित्रको क्यारेक्टरभन्दा निकै फरक देखिएकी थिएँ । त्यसैले पनि होला धेरैले मलाई आफ्नो भूमिकाका विषयमा प्रश्न गर्नुभयो । धेरैको प्रश्न ‘कसरी आफूलाई बुलबुलको पात्रमा ढाल्नुभयो ?’ भन्ने नै थियो ।

अन्य प्रश्नहरु पनि सोधिए । कति दिन वर्कसप गर्नुभयो ? सुटिङ कति समयमा सकियो ? दर्शकको प्रतिक्रिया के थियो ? समीक्षा कस्तो भएको थियो ? व्यापारिक रुपमा चलचित्र कस्तो भयो ? आदि प्रश्नहरु मलाई गर्नुभयो । मैले इमान्दारितापूर्वक उत्तर दिएँ ।

त्यहाँ चलचित्र हेरिसकेपछि जुरीले केही पनि बोल्न मिल्दैनथ्यो । तर, एकजना जुरी मेम्बर आएर मेरो निकै प्रशंसा गर्नुभयो । अन्य सहभागी चलचित्रकर्मीहरुले पनि तारिफ गरिदिँदा म गद्गद् भइहालेँ ।

उहाँहरुले मेरो भाषा बुझ्नुहुन्नथ्यो । चलचित्रमा मेरो अभिनय र हाउभाउलाई हेरेर नै उहाँहरुले प्रशंसा गर्नुभएको थियो । उहाँले सायद मेरो अभिनयलाई ‘फिल’ गर्नुभयो । त्यहाँ महिलाप्रधान चलचित्रलाई विशेष मानिँदोरहेछ । बुलबुलपछि तुरुन्तै अफगानिस्तानको चलचित्रको शो भयो । उक्त चलचित्र पनि महिलाप्रधान थियो । त्यो चलचित्रकी अभिनेत्रीलाई पनि राम्रो प्रतिक्रिया मिल्यो ।

श्रीलंकाबाट पनि महिलाप्रधान चलचित्र नै आएको थियो । ५२ वर्षीया नायिका हुनुहुन्थ्यो मुख्य भूमिकामा । उहाँको कामको म आफैँ फ्यान भएकी थिएँ । उहाँको प्रशंसा पनि धेरै भयो । त्यो बेला मलाई महशुस भयो कि, ‘नायिका बन्न उमेरले छेक्दैन ।’

अवार्ड हुने दिन उहाँसँगे बसेर केही कुरा गर्ने मौका पाएँ । उहाँले बुलबुल हेर्न पाउनुभएको रहेनछ । तर, अरुले गरेको प्रशंसा सुनेर उहाँले पनि ‘राम्रो सुनेको छु तर, हेर्न पाइनँ’ भन्नुभयो ।

अवार्डको दिन उत्कृष्ट नायिकाको अवार्ड उहाँले जित्नुहुन्छ भन्ने कुरामा म ढुक्क थिएँ । तर बुलबुलले पनि कुनै अवार्ड पाउला भन्ने आशा थियो ।

अवार्ड वितरण सुरु भयो । पालो आयो, ‘स्पेशल जुरी अवार्ड- पर्फमेन्स’ । म उद्घोषकको ‘लिप्सिङ’ हेरिरहेको थिएँ । उहाँले बोल्नुभयो, ‘स्पेशल जुरी अवार्ड, पर्फमेन्स गोज टु-नेपाल’ । मेरो जीउ सिरिङ्ग भयो । एकछिन त सास नफेरेर बसेँ । अनि स्टेजबाट नाम लिइयो, ‘स्वस्तिमा खड्का… ।’

विश्वास गर्नै गाह्रो भयो । अन्तर्राष्ट्रिय कार्यक्रम भएका कारण पनि होला, त्यहाँ आफ्नोभन्दा पनि देशको बढी ध्यान हुनेरहेछ । त्यो माथि आफूले नै पाउँदा थप खुसी थियो । अझ, मेरो जीवनको पहिलो अवार्ड यो । जीवनकै पहिलो अवार्ड अन्तर्राष्ट्रिय स्तरको पाएँ ।

नेपालमा स्टेजलाई ढोगेर माथि चढिन्छ । त्यहाँ पनि मैले त्यही गरेँ । तर, त्यो कुरालाई त्यहाँ अचम्म मानिनेरहेछ ।

जुरीको हातबाट नै मैले अवार्ड थापे । निकै खुसी थिएँ म । यो अवार्ड मैले मात्र हैन, सबै नेपालीले पाएको हो ।

प्रस्तुती- दिप्सन लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment