News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्रकर्मीले माइतीघर मण्डलामा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका छन्।
- पाटन उच्च अदालतले चलचित्र \'लालीबजार\'को प्रदर्शन २२ वैशाखसम्म रोक लगाएको छ।
- चलचित्र \'लालीबजार\'मा वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको आरोपमा मुद्दा दायर गरिएको थियो।
१६ काठमाडौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीले प्रदर्शन गरेका छन् ।
कलाकारहरू स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, फिल्मकर्मीहरू खगेन्द्र लामिछाने, मनोज पण्डित, अशोक शर्मा, गणेशदेव पाण्डेलगायतको उपस्थितिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।
उनीहरूले कलाको स्वतन्त्रताको पक्षमा आवाज उठाए ।
‘सिनेमा बोलेस, साहित्य सुनाओस्, हाम्रो साँचो कथा बाहिर ल्याओस्’, ‘सिनेमा–साहित्य बोल्न देऊ, हाम्रो कथा खुल्न देऊ’, ‘संविधानले दिएको सम्मान–हाम्रो अडान, सबै जात, धर्म, समुदाय–हामी सचेत सधैं जान’जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
पाटन उच्च अदालतले मंगलबार चलचित्र लालीबजारको प्रदर्शन २२ वैशाखसम्मका लागि रोक लगाउन आदेश दिएको थियो । यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो ।
चलचित्रका केही शब्दहरूले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको भन्दै सो समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् ।
त्यसमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको हो ।
षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।
सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई युनिभर्सल प्रमाणपत्र दिइसकेको छ ।


प्रतिक्रिया 4