Comments Add Comment

गृहमन्त्रालयको छानविन प्रतिवेदन भन्छ : कुमार पौडेलले ‘मिस फायर’ गरे

सर्लाही घटना नसेलाउँदै भोजपुरमा दुईको मृत्यु

२५ असार, काठमाडौं । गृहमन्त्रालयले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलले पहिला गोली चलाएको र त्यसपछि प्रहरीले जवाफी फायरिङ गर्दा प्रहरीको गोली लागेर पौडेलको मृत्यु भएको निश्कर्ष निकालेको छ ।

पौडेल लालबन्दीबाट सिन्धुलीतर्फ जाँदा दोहोरो फायरिङ भएको छानविन प्रतिवेदनमा उल्लेख छ । त्यसबेला कुमार पौडेलले समेत सुरक्षाकर्मीलाई लक्षित गरी फायरिङ गरेको तर, उनको मिस फायर भएको अवस्थामा प्रहरीको संयुक्त जवाफी कारबाहीमा पौडेललाई गोली लागि घटनास्थलमा नै मृत्यु भएको छानविन प्रतिवेदनको निश्कर्ष छ ।

प्रतिवेदनको निश्कर्ष खण्डमा भनिएको छ–

‘विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल लालबन्दीतर्फबाट सिन्धुलीतर्फ जाँदा उक्त घटना भएको स्थानमा गस्तिमा रहेका सुरक्षाकर्मीहरुसँग बाटोमा जम्काभेट भएको र उनीसँगै रहेका अन्य कार्यकर्ताले सुरक्षाकर्मीहरुलाई लक्षित गरी फायरिङ गर्दै जंगलतर्फ भगेको र कुमार पौडेलले समेत सुरक्षाकर्मीलाई लक्षित गरी फायरिङ गर्दा मिस फायर भएको अवस्थामा प्रहरीको संयुक्त जवाफी कारबाहीमा निजलाई गोली लागी घटनास्थलमा नै मृत्यु भएको पुष्टि हुन आएको । ’

संसदको राज्य व्यवस्था समितिले गत असार ९ गते पौडेलको निधनका सन्दर्भमा छानविन गरी एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसको भोलिपल्टै मन्त्रालयले छानविन समिति बनाएको थियो ।

उक्त समितिको प्रतिवेदन बुधबार राज्य व्यवस्थामा आइपुगेको छ । र आज नै समिति सदस्यहरुलाई वितरण गरिएको छ । यस प्रतिवेदनका सन्दर्भमा केही दिनभित्रै छलफल हुने एक समिति सदस्यले जानकारी दिए ।

हाल विप्लव नेतृत्वको समूह प्रतिबन्धित छ । विध्वंशात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले ०७५ फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध गरेको छ ।

यी विषयहरु समेत उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘नेकपा विप्लव समूहले देशैभर सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गर्ने, भौतिक पूर्वाधारमा क्षति प‍ु¥याउने, आगजानी गर्ने, बम विस्फोट, चन्दाको नाममा जबरजस्ति रकम संकलन, धम्की तथा जनप्रतिनिधिलाई राजीनामा दिन दवाव दिने गरेको र सोही बमोजिम सर्लाही जिल्लामा पनि विभिन्न गतिविधिहरु गर्दै आइरहेको ।’

सार्वजनिक जग्गाहरुको कब्जा गर्ने, तथाकथित जनपरिषदको नाममा पत्राचार गरेको भन्ने निजहरूको बरामद पर्चा तथा पत्रहरुबाट जानकारी प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तर, एक साताको समय पाएको गृहमन्त्रालयले अर्को एक साता भन्दा बढि समय लगाएर समितिलाई प्रतिवेदन बुझाएको हो । पौडेलको प्रहरीको गोली लागेर असार ५ गते लालबन्दीमा मृत्यु भएको थियो । प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको दाबी सरकारी पक्षको रहँदै आएको थियो । यसैलाई प्रतिवेदनका रुपमा गृहमन्त्रालयले समितिसमक्ष प्रतिवेदन पेस गरेको छ ।

मुठभेडमा मारिएको भनिएका कुमार पौडेलको हात ६/७ ठाउँमा कसरी भाँचियो ? भनेर सांसदहरुले प्रश्नसमेत उठाएका थिए । विप्लव समूहले पनि बाटो ढुकेर पौडेलको हत्या गरिएको आरोप लगाउँदै आएको छ ।

कुमार पौडेलविरुद्ध विकास आयोजनाका कार्यालयमा बम विष्फोट गराउने, चन्दा नदिएको भन्दै स्काभेटरमा आगो लगाउने, समाजमा आतंक सिर्जना गर्ने लगायतका धेरै मुद्धाको अभियोग लागेको प्रहरीको पनि दाबी छ । समिति बैठकमा सांसदहरुले सर्लाही घटनाबारे प्रश्न उठाइरहँदा प्रहरी महानिरीक्षक खनालले ‘माननीयज्यू ! कुमार पौडेलको विगत हेरौं’ भनेका थिए ।

विगतमा कुमार पौडेलका विषयमा जे जस्ता दाबी सरकारका थिए तिनैलाई लिपिवद्ध गरेर प्रतिवेदन आएको छ । यसलाई मान्नुहुन्छ ? भन्ने प्रश्नमा एक समिति सदस्य भन्छन्, ‘पहिले जे भनेको, त्यही हो भनेर बिना आधार आएको छ भने त कसरी मान्ने ? प्रतिवेदन मेरो हातमा पनि छ । समितिमा छलफल हुन्छ, त्यहीँ कुरा राखौंला ।’

समितिमा छलफल हुँदा सांसदहरुले कुमार पौडेलको झोलामा गोली भेटिएको भनिएको छ । झोलामा रहेको गोली कसरी चल्यो ? भन्दै प्रश्न गरेका थिए । तर, गृहको प्रतिवेदनले पौडेलले समेत गोली चलाएको उल्लेख गरेको छ । झोलामा गोली भेटिएको भन्ने सन्दर्भमा केही उल्लेख गरेको छैन् ।

कुमार पौडेलको मृत्यु नसेलाउँदै भोजपुर घटना

कुमार पौडेलको निधनबारे छानविन प्रतिवेदन नआउँदै भोजपुरका विप्लव समुहसँग प्रहरीको अर्को भिडन्त भएको छ ।

भोजपुरको हटिया बजारमा भएको दोहोरो झडपमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको छ ।

भोजपुरको घटनाका सन्दर्भमा संसदीय समिति नै गठन गरी छानविन गर्नुपर्ने प्रमुख विपक्षी नेपाली कांग्रेस र राजपाले माग गरेका छन् । सर्लाही घटनाबारे उपसमिति गठन गर्ने संसदीय समितिको प्रस्ताव समेत अस्वीकार गरी संसदीय समिति नै गठन गर्नुपर्ने विपक्षीको अडान रहे पनि सत्तारुढ दल यसमा तयार देखिएको छैन

कांग्रेस र राजपाका सांसदहरुको नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक अगाडि बढ्नुलाई विपक्षी कांग्रेसले पनि सरकार र सत्तारुढ दल भोजपुर घटनाबारे संसदीय समिति गठन गरेर छानविन गर्ने पक्षमा नरहेको भन्ने बुझेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकपछि विरोधका बाबजुत सदनको गतिविधि अगाडि बढाइएको प्रसंगमा कांग्रेस सांसद गगन थापाले भने, ‘सदन सभामुखले चलाएका छन् कि सरकारले ?

तर, सत्तारुढ दल नेकपाका सांसद कृष्णभक्त पोख्रेल साना–साना घटनामा संसदीय समिति नै गठन गर्नुपर्ने माग उचित नरहेको बताउँछन् ।

‘यस्तो सानो–सानो विषयमा पनि संसदीय समिति गठन गर्ने हो त ?’ पोख्रेलले बुधबार बिहान संसदको कानून, न्याय तथा मानव अधिकार समितिको अनौपचारिक छलफलमा कांग्रेस सांसदहरुलाई प्रश्न गरेका थिए । पोख्रेल उक्त समितिका सभापति हुन् ।

जवाफमा कांग्रेस सांसदहरुले बारामा प्रदर्शनका क्रममा गोली लागेको विषयमा संसदीय समिति गठन भएको उदाहरण दिएका थिए ।

‘बाराको त्यो गोली लागेको घटनाका सन्दर्भमा गठित समितिको म आफैँ संयोजक थिएँ ।’ कांग्रेस सांसद मुसलमानले अनलाइनखबरसँग भने, ‘त्यसकारण सर्लाही घटनाका सन्दर्भमा संसदीय समिति गठन हुन सक्दैन । यो साना कुरा हुन भन्न मिल्दैन । बरु समिति गठन गरेर गएपछि सत्य तथ्य के छ ? त्यसलाई हेरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment