Comments Add Comment

सर्लाही घटनाबारे उपसमिति गठन गर्ने संसदीय समितिको प्रस्ताव कांग्रेसले मानेन

Photo Credit : फाइल तस्वीर

२५ असार, काठमाडौं । सर्लाही घटनाबारे उपसमिति गठन गर्ने संसदीय समितिको प्रस्ताव प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अस्वीकार गरेको छ ।

बुधबार संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा अनौपचारिक छलफलमा समिति सभापति कृष्ण भक्त पोख्रेलले ‘सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युका सन्दर्भमा उपसमिति गठन गर्ने प्रस्ताव गरेका हुन् । तर, कांग्रेसका सांसदहरुले त्यसलाई अस्वीकार गरे ।

‘सदनभित्रै संसदीय समिति नै गठन चाहियो भनेर भनिसकेको अवस्थामा त्यो प्रस्ताव स्वीकार्न सक्ने स्थिति छैन् । सभापतिलाई हामीले यहि भन्यौं’ कांग्रेस सांसद तथा कानून, न्याय तथा मानव अधिकार समिति सदस्य अतहर कमाल मुसलमानले भने, ‘सदनमा प्रवेश गरिसकेको विषयमा संसदीय समितिले उपसमिति गठन गरेर जान्छु भन्न मिल्दैन । सदनमा विषय प्रवेश नभइकन संसदीय समितिले नै उपसमिति गठन गरेर जाउँ भनेको भए त्यो स्वभाविक मान्न सकिन्थ्यो ।’

कानून, न्याय तथा मानव अधिकार समितिको कार्यक्षेत्रभित्र कानू मन्त्रालय, न्याय परिषद, न्याय सेवा आयोग, महान्याधिवक्ताको कार्यालयसमेत पर्छ । यही कार्यक्षेलाई देखाउँदै समिति सभापति पोख्रेलले संसदीय समितिले नै समिति गठन गर्ने प्रस्ताव गरेका थिए । ‘हाम्रो कार्यक्षेत्र पनि हो । एउटा समिति बनाएर जाउँ र अध्ययन गरौं भन्ने प्रस्ताव राखेको हुँ । तर, उहाँ (कांग्रेसका सांसदहरु)ले त्यसलाई मान्नुभएन,’ पोख्रेलले भने ।

त्यसक्रममा सभापति पोख्रेलले यस्तो सानो–सानो विषयमा पनि संसदीय समिति गठन गर्ने हो त ? भन्दै प्रश्न गरेका थिए । जवाफमा कांग्रेस सांसदहरुले बारमा प्रदर्शनका क्रममा गोली लागेको विषयमा संसदीय समिति गठन भएको उदाहरण दिए ।

‘बाराको त्यो गोली लागेको घटनाकाृ सन्दर्भमा गठित समितिको म आफैँ संयोजक थिएँ’, कांग्रेस सांसद मुसलमानले अनलाइनखबरसँग भने, ‘त्यसकारण सर्लाही घटनाका सन्दर्भमा संसदीय समिति गठन हुन सक्दैन् । यो साना कुरा हुन भन्न मिल्दैन । बरु समिति गठन गरेर गएपछि सत्य तथ्य के छ ? त्यसलाई हेरौं भनेर सभापतिलाई जवाफ दियौं ।’

संसदीय समिति गठन नभई सदन चल्न नदिने

सांसद मुसलमानले सर्लाही घटनाबारे संसदीय समिति गठन नभई सदन चल्न नदिने पनि बताएका छन् । ‘आजै गठन भइहाल्छ भन्ने छैन् । सभामुखले गठन हुन्छ भने ठोस केही प्रस्ताव गर्नुभयो भने सदन चल्छ । होइन भने यसै सदन चल्न सक्दैन । आज पनि सदन अवरुद्ध हुन्छ ।’

सर्लाही घटनालाई लिएर विपक्षी कांग्रेस र राष्ट्रिय जनता पार्टीले मंगलबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेका थिए । गृहमन्त्रीको दिएको जवाफमा चित्त नबुझाएर दुवै दलले संसदीय छानविन समिति बनाउन मागे गरेका थिए ।

सांसद मुसलमानले पूर्वएमालेले सर्लाही घटनाबारे संसदीय समिति गठन गर्न नमानेको आरोप पनि लागएका छन् । ‘हिजोको एमाले ग्रुप जो थियो । त्यसले संसदीय समिति गठन गर्न दिइरहेको छैन् । वा प्रधानमन्त्रीले डाइरेक्ट यस सम्बन्धमा संसदीय समिति गठन गर्न दिइरहनुभएको छैन ।’ उनले भने ।

गृहमन्त्रीले आफ्नो भाषणमा संसदीय समिति गठन गरेर जानुहुन्छ भने सदनको अधिकार हो भनेर सकारात्मक भाषण दिएको र सभामुखले पनि छलफल गरेर संसदीय समिति गठन गर्न सकिन्छ भनेको उल्लेख गर्दै उनले भने, यसो हुँदाहुँदै पनि सरकार पछाडि हट्नु भनेको सरकार दोषी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment