
२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फिजाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकाेत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो कार्पेट विछ्याइएको थियो । त्यो तस्वीर सञ्चार माध्यमहरूमा आएपछि समाजिक सञ्जालमा सरकार र त्रिवि प्रशासनको चर्को आलोचना भएको थियो ।
प्रधानमन्त्री ओलीले भने त्यसलाई मिसन पत्रकारिताको संज्ञा दिए । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हिजो पानी परेछ । कार्पेट भिज्यो, सबै ठूला समाचार त्यही बन्यो । यो मिसनअन्तरगत भइरहेको कुरा हो ।’
‘भ्रम फिजाउने काम भइरहेको छ । भ्रममा रमाउनेहरू रमाइरहेका छन् । किनारामा बसेर हेर्नेहरू हेरिरहेका छन् । तर सरकार अगाडि बढिरहेको छ’, उनले अघि भनेका छन् ।
उनले अर्को समाचारलाई लिएर पनि असन्तुष्टि जनाए । ‘कालोपत्र नगरिएको बाटो हिलो भएछ, ठूलो फोटोसहित छापिएको छ’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘मेरो कमजोरी नै हो ! एक वर्ष प्रधानमन्त्री भएर पनि देशभरिका बाटाहरू कालो पत्र गर्न भ्याइनँछु ।’
उनले अघि भने, ‘धन्य छ मिसन पत्रकारिता ।’
प्रतिक्रिया 4