+
+
Shares
विचार :

आमाको कोख मासेर ‘सेरोगेट मदर’ को धन्दा

अब हामी कहाँ बसाइँ सर्ने ?

अरुण बराल अरुण बराल
२०७६ असार २४ गते २१:४३

एउटा भनाइ छ– भगवानले सधैं माफी दिन्छन् । मान्छेहरुले अक्सर माफी दिन्छन् । तर, प्रकृतिले कहिल्यै माफी दिँदैन ।

न्युयोर्क टाइम्सका चर्चित स्तम्भकार एवं विश्वचर्चित पुस्तक ‘थ्याङ्क यु फर बिइङ लेट’ का लेखक थोमस एल फ्राइडम्यानले वर्तमान विश्वलाई तीनवटा ‘एम’ ले निर्धारण गरिरहेको विश्लेषण गरेका छन् । एक– मार्केट (बजार), दुई– मूर ल (प्रविधि) र तीन– मदर अर्थात प्रकृति ।

अर्थात, फ्राइडम्यानको विचारमा वर्तमान विश्वको तागत बजार अर्थात विश्वव्यापीकरणमा अल्झिएको छ । त्यसैगरी अर्को तागत मूरको नियम अर्थात् टेक्नोलोजीमा निर्भर छ । र, तेस्रो ताकतचाहिँ नेचर अर्थात् प्रकृतिमा निश्रृत छ । प्रकृतिलाई फ्राइडम्यानले आमा भनेका छन् ।

आइफोन र स्मार्टफोनको आविश्कारसँगै विश्व चेतनामा क्रान्ति भित्रिएको बताउने फ्राइडम्यानले अमेरिकी विद्वान गर्डन अर्ले मूरको सिद्धान्तलाई ‘मूर ल’ अर्थात ‘मूरको नियम’ भनेका छन् । यो एउटा सिलसिलेबार अध्ययन हो, जसले प्रविधिमा भइरहेको डिजिटल क्रान्तिलाई एउटा सिस्टमका रुपमा सामान्यीकरण गर्छ । अहिले भइरहेको सफ्वटेयरको विकास एवं चौथो औद्योगिक क्रान्तिसम्मको आविश्कारलाई लेखकले ‘मूर ल’ का रुपमा संश्लेषण गरेका छन् । जोसित अत्याधुनिक प्रवृधि छ, ब्याण्डविथ छ, अहिलेको विश्वमा उसैसँग शक्ति छ भन्ने यसबाट बुझ्न सकिन्छ ।

यस आलेखको उद्देश्य ‘प्रविधि क्रान्ति’को चर्चा गर्नु होइन । त्यसैले ‘मूर ल’ का बारेमा यतिमात्रै प्रशंग उल्लेख गरौं ।

दोस्रो ः फ्राइडम्यानले विश्वमा शक्तिको स्रोत एवं संघर्षका रुपमा मार्केट अर्थात बजारलाई लिएका छन् । उनले यसमा ग्लोबलाइजेसन र त्यसले पारिरहेको आर्थिक, सामाजिक, सामरिक प्रभावहरुका बारेमा विस्तृत चर्चा गरेका छन् । बजारको शक्ति र होडबाजीले उत्पन्न गरिरहेका राजनीतिक प्रभावहरुको चर्चा लेखकले गरेका छन् । तर, यस आलेखको उद्देश्य विश्वव्यापीकरण एवं बजार अर्थतन्त्रका प्रभावहरुको विश्लेषण गर्ने पनि होइन । त्यसैले बजारका बारेमा पनि थप चर्चा नगरौं ।

र, फ्राइडम्यानले विश्वलाई प्रभाव पार्ने अर्को महत्वपूर्ण शक्तिका रुपमा नेचर अर्थात प्रकृतिलाई उल्लेख गरेका छन्, जसमाथि बजारले बारम्बार अतिक्रमण गरिरहेको छ र प्रकृतिमाथिको मानवीय अतिक्रमणले ग्लोबल वार्मिङ र वायो डाइभर्सिटीको क्षती जस्ता समस्याहरु विकरालरुपमा बढ्दै गइरहेका छन् ।

दुई चार पैसाको लोभमा ‘वैज्ञानिक वन व्यवस्थापन’ भन्दै तराईको जंगल रातारात फँडानी गरिरहेका छौं । सरकारले ‘आमाको कोख फाँडेर सेरोगेट मदरको धन्दा चलाउने’ वातावरणविरोधी नीति लिएको छ ।

फ्राइडम्यानले ठीकै भनेका हुन्, जसरी मानिसको शरीरले निश्चित तापक्रम सहन गर्दछ र ९८ डिग्रीभन्दा बढी वा कम तामक्रम भएको अवस्थामा मानिसको शरीरमा समस्या आउँछ, धर्तीमाता अर्थात प्रकृतिको पनि आफ्नै विशेषता हुन्छ । यस धर्तीमातालाई पनि अस्थित्व रक्षाका लागि मानिसको शरीरलाई जस्तै निश्चित तापमान चाहिन्छ । अहिले मानवीय अतिक्रमणको चपेटामा परेर धर्तीमाता तातिरहेकी छिन् । ग्लोबल वार्मिङ भनेकै यही हो । फ्राइडम्यानले सन् २०१५ लाई विश्वकै तातो वर्ष बताएका छन् ।

धर्तीको तापमान बढ्दै गएसँगै यसले इकोसिस्टममा धेरै ठूलो असर पार्छ । यसले गर्दा जैविक विविधता नष्ट हुन थाल्छ । विभिन्न प्रजातिहरु पृथ्वीबाट लोप हुन थाल्छन् र कालान्तरमा मानिसकै भविश्य पनि संकटमा पर्न सक्छ । बाढी, पहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, आँधीहुरी, सामुद्रिक उपद्रो इत्यादि क्रियाकलापहरु प्रकृति रिसाएका उदाहरणहरु हुन् ।

स्टेफेन हकिन्सले संसार छाड्ने बेलामा भनेका छन् कि यही रुपमा प्रकृतिमाथि अतिक्रमण भइरहने हो र अन्तरीक्षमा वस्ती नसार्ने हो भने मानवका लागि यो पृथ्वी बस्न अयोग्य हुने खतरा बढिरहेको छ ।

ठीकै हो, हामीलाई भगवानले माफी दिन सक्छन्, तर प्रकृतिले कहिल्यै माफी दिन्नन् । प्रकतिको आफ्नै नियम हुन्छ, जसलाई मानिसले आफ्नो इच्छाअनुसार कानून फेरेजसरी फेर्न सक्दैन । मानिसहरुले प्रकतिमाथिको दोहनको निकै महंगो मूल्य चुकाउनुपर्ने हुन्छ र चुकाइरहेकै छन् ।

अब नेपाल आमातिर फर्कौं ।

लुछिँदैछिन् नेपाल आमा !

प्रस्तुत लेखको केन्द्रीय उद्देश्य नेपाल आमा अर्थात नेपालको प्रकृतिमाथि भइरहेको लुट र बलात्कारका विषयमा छोटो चर्चा गर्नु हो । नेपालको प्रकृतिमाथि दोहन यति तीव्रगतिमा भइरहेको छ कि यसलाई निरन्तरता दिइरहने हो भने हामी नेपालीहरुको वर्तमान पुस्ता र भावी पुस्ता दुबैले महंगो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसपछि नेपाली धर्ती मानिसहरु बस्न लायककै रहन्छ या रहँदैन भन्ने जटिल प्रश्नको बादल मडारिन थालिसकेको छ ।

सिंहदरबार वरिपरि फन्को मार्ने कतिपय मानिसहरु नेपालको पानी कतारमा बेच्ने कुरा गरिरहेका छन् । यो नराम्रो कुरा होइन । तर, नेपालको पहाडमा बसोबास गर्ने मानिसले पानीका मुहान सुकेर थातबास छाड्नु परिरहेको कथा कसले कसलाई सुनाउने ? पानी खान नपाएर लाइन लागेका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बन्न थालेका छन् । पहाडमा पानीका मुहानहरु किन सुकिरहेका छन् ? यसबारेमा न सरकारी तहबाट अध्ययन अनुसन्धान भएको छ, न यसको त्रासदीपूर्ण संकेतलाई नै सिंहदरबारले बुझेको छ । देशभरि पानीको हाहाकार भइरहँदा सरकार मेलम्चीको कोरस धून गाउँदै शुतुरमुर्ग जसरी सुतिरहेको छ ।

केही वर्षयता महाभारत श्रृंखलामा पानीका मुहानहरु धमाधम सुकिरहेका छन्, तर हामी प्रकृतिलाई पीडालाई वास्तै नगरी चुरे क्षेत्रमा गिटी र ढुंगाहरु कोट्याइरहेका छौं । त्यहाँ मदनभण्डारी राजमार्ग खन्ने उदघोषण गरिरहेका छौं । शहर बसाउने कुरा गरिरहेका छौं । दुईचार पैसाको लोभमा ‘वैज्ञानिक वन व्यवस्थापन’ भन्दै चुरेको फेदमा तराईको जंगल रातारात फँडानी गरिरहेका छौं ।

प्रकृतिमाथिको यो लुछाइको प्रभाव मान्छे र अन्य प्राणी जगतमा के कस्तो पर्ला ? सिंहदरबारलाई ‘बाल मतलब’ छैन । सरकारले ‘आमाको कोख फाँडेर सेरोगेट मदरको खोजी’ गर्ने नीति अलवम्वन गरिरहेको छ ।

जाजरकोटका वनमन्त्रीलाई चुरेभावरको इकोसिस्टम भन्दा काठ बेचेर धनी हुन सकिन्छ भन्ने भ्रम कर्मचारीहरुले दिमागमा भरिदिएका छन् । फलस्वरुप नेपाल तीव्ररुपमा मरुभूमीकरणको बाटोमा अघि बढिरहेको छ । पहाड, तराई र चुरे, तीनवटै क्षेत्रमा पानीको हाहाकारमात्रै सुरु भएको छैन, गर्मी अधीक बढेको छ र नचिताएको खडेरी देखा पर्न थालेको छ । दोलखाजस्तो जिल्लामा समेत धानचमरा आइसकेका मकैका बोट काटेर कृषकले फेरि मकै छरेका छन्, पानी नपरेर ।

आखिर प्रकृतिले हामीलाई किन यति धेरै सजाय दिन थालेकी छिन् ? यसको मुख्य जिम्मेवार को हो ? ‘वन व्यवस्थापन’का नाममा तराईको हरियो जंगल फाँडिरहेका सरकारी अधिकारीहरु यसमा जिम्मेवार छन् कि छैनन् ? यसबारे कसैले पनि वातावरणीय रिसर्च गरेको देखिँदैन । यसैगरी हावाको तालमा प्रकृतिमाथि दोहन गरिरहने हो भने भविश्यमा हामीले पछुताउने फर्सद पनि शायदै पाउने छौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणका बेला बीबीसीलाई अन्तरवार्ता दिने सन्दर्भमा वन फँडानी र वातावरण संरक्षणसम्बन्धी प्रश्नको पनि सामना गर्नुपरेको थियो । तर, तराईमा जंगल फाँडिए पनि वृक्षारोपण भइरहेको भन्दै प्रधानमन्त्रीले आफूलाई बचाऊ गरेका थिए । प्रधानमन्त्रीले युरोपसम्म पुगेर नेपाली हिमवत् खण्डको इकोसिस्टमबारे प्रवचन पनि दिएकै हुन् ।

तर, इकोसिस्टमबारे यति सचेत रहेको बताउने प्रधानमन्त्रीले तराईमा भइरहेको वन फँडानीबारे पूर्णरुपमा आँखा चिम्लिएको अवस्था छ । तर, प्रधानमन्त्री ओलीले अहिले रोपेको एउटा विरुवा भन्दा फँडानी हुनबाट जोगिएको एउटा ठूलो रुखले नेपाल र नेपालीको भविश्यको बढ्ता सुरक्षा गर्नेछ र त्यसबाट प्रकृतिले पनि न्याय पाउनेछिन् ।

दुई तिहाईवाला सरकारले ठूला रुखहरु काटेर व्यवस्थापनका नाममा स–साना विरुवाहरु रोपेका छन् भन्ने कुरा प्रकृतिले बुझ्दिनन् । ठूलो रुखले दिने शीतलता, अक्सिजन, पत्कर र इकोसिस्टममा पार्ने प्रभाव र मौसमी फरबदललाई सानो बिरुवाले भरथेग गर्न सक्दैन । चराहरुको वासस्थान र जंगली जनावरको छहारी सानो विरुवाले दिन सक्दैन । जतिबेला विरुवा हुर्कन्छन्, त्यसबेलासम्म इकोसिस्टममा धेरै नै गडबडी आइसकेको हुन्छ । किनभने, प्रकृति दुई तिहाईको सरकार वा सरकारी अधिकारीहरुले गर्ने तर्कका आधारमा होइन, आफ्नै नियमका आधारमा चल्छ ।

त्यसैले, अब हामीले नेपालको प्रकृतिमाथि तीव्ररुपमा भइरहेको मानवीय दोहन र यसले पार्न सक्ने वा पारिरहेको वातावरणीय प्रभावका बारेमा तत्कालै वैज्ञानिक अनुसन्धान गर्ने पो हो कि ? अनि त्यही अध्ययनको निचोडका आधारमा पो अगाडि बढ्ने हो कि ? दुई तिहाईको सरकार, विशेषगरी वन तथा वातावरण मन्त्रालयलाई बेलैमा चेतना भया ।

अन्यथा, अहिले पानीको अभावले गर्दा पहाडबाट बसाइँ सरिरहेको वस्तीलाई अब कहाँ सार्ने ? चुरेमा सारौं भने त्यहाँ पनि पानीका मुहानहरु सुकिरहेका छन् । बाढी पहिरोको समस्या निम्तिइरहेको छ । तराईमा सारौं भने त्यहाँ झन् मूरुभूमीकरण तीव्ररुपमा भइरहेको छ । पानीको सतह भासिइरहेको छ । त्यसैले अब कहाँ बसाई सर्ने ? चन्द्रमा वा मंगलग्रहमा वस्ती बसाउने नेपालीहरुको ल्याकत छैन । यो अवस्थामा अबको पुस्ताले व्यहोर्ने भनेको मरुभूमिकरणको सजायँ नै हो ।

दुई वर्ष पहिले हामीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका सर्जक पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग तराई र चुरे क्षेत्रमा भइरहेको मरुभूमीकरणको विषयमा कुराकानी गरेका थियौं । यस क्रममा यादवले अबको १० वर्षमा तराईमा ‘पानीयुद्ध’ हुन सक्ने खतरा औंल्याएका थिए ।

नेपाल आमा, अर्थात फ्राइडम्यानले भनेको मदर (नेचर) माथि कसरी अहिले दोहन भइरहेको छ र हामी कतातिर गइरहेका छौं भन्ने सानो झल्कोका लागि पूर्वराष्ट्रपति यादवको ‘अर्काइभ’ यहाँ पढ्न सक्नुहुनेछ–

मधेस स्वर्गजस्तै थियोयसरी हुँदैछ सखाप

लेखक
अरुण बराल

वरिष्ठ पत्रकार बराल अनलाइनखबरका स्तम्भकार एवं पूर्व सम्पादक हुन् । उनी सन् २०१३ देखि २०२१ सम्म अनलाइनखबरको सम्पादक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?