Comments Add Comment

भोजपुरमा विप्लव समूहबारे विशेष सूचना राख्थे प्रहरी जवान राई

१० मिनेटको मुक्कामुक्कीपछि मारिएका थिए विप्लव नेता

२५ असार, भोजपुर । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका नेता नीरकुमार राई आइतबार संखुवासभातिर फर्किने तयारीमा थिए । तर पत्नीसँग भेट्न भन्दै सदरमुकाममै रोकिए ।

भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङले राईलाई आइतबार साँझ बजारमै भेटेका थिए । ‘हामी उहाँलाई प्रशान्त भनेर चिन्थ्यौं’, उनले अनलाइनखबरसँग भने, ‘भेटमा सामान्य कुराकानी भए । उहाँले आइतबार फर्किने बताउनुभएको थियो । तर, एक्कासी मृत्युको खबर सुन्नुपर्‍यो ।’

राईलाई उनले कार्यक्षेत्रबारे सोधेका थिए । उनले ‘संखुवासभातिर छु’ भन्ने जवाफ फर्काएको तामाङ सम्झन्छन् । राई करिब दुई वर्षदेखि भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको सीमा क्षेत्रमा भाडामा बस्दै आएका तामाङ बताउँछन् ।

होटलमा के भयो ?

जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसन्धान अधिकृतकाअनुसार जिल्लामा विप्लव समूहको गतिविधि बढेपछि प्रहरी प्रधान कार्यालयले निगरानी बढाउन निर्देशन दिएको थियो । सोहीअनुसार प्रहरीले पनि गतिविधि बढाएका थिए ।

प्रदेश १ प्रहरी कार्यालय र केन्द्रबाट पनि थप मद्दतका लागि टोली खटिएका थिए । त्यही क्रममा बुधबार बिहान भोजपुर बजारमा एक जना विप्लव समूहका नेता देखिएको सूचना प्रहरीलाई आयो । उनी थिए, नीरकुमार ।

उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकका जवान सञ्जीव राई, सोमनाथ भट्टराई र सुरेन्द्र माझी खटिएका थिए । नीरकुमार भएको पाँचधारे होटलमा प्रवेश गरेर प्रहरीले उनीसँग केहीबेर कुराकानी गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

तर एक्कासी नीरकुमार बाहिर निस्किएको उनीहरुको भनाइ छ । ‘त्यसक्रममा प्रहरीले निरकुमारलाई तानेछन्’, प्रत्यक्षदर्शीलाई उधृत गर्दै वडाध्यक्ष तामाङ भन्छन्, ‘त्यसपछि उनले भित्र छिरेर सटर ताने ।’ प्रहरी जवान राई पनि त्यतैतिर छिरे तर, केहीबेरमै रगक्ताम्मे भएर निस्किएका उनी सडकमा पुगेर ढले ।

साथीमाथि गोली लागेको देखेपछि होटलभित्र प्रवेश गरेका जवान भट्टराईसँग राईको केहीबेर धक्काधक्की भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका एक अधिकृतले बताए ।

करिब १० मिनेट भएको घम्साघम्सीपछि गोली चल्दा राईको मृत्यु भएको प्रत्यक्षदर्शी बताउँछन् । घटनालगत्तै दुवैलाई स्थानीय भोजपुर जिल्ला अस्पताल लगिए पनि पहिल्यै मृत्यु भइसकेको थियो ।

यो पनि पढ्नुहोस विप्लव समूह: ‘माओवादी समस्या’ को दोस्रो संस्करण !

विप्लव समूहको विशेष सूचना राख्थे सञ्जीव

१ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरका एक अधिकृतका अनुसार भोजपुर भिडन्तमा ज्यान गुमाएका प्रहरी जवान राई, तिनै व्यक्ति हुन्, जसले जिल्लामा हुने विप्लव समूहको गतिविधिबारे विशेष सूचना राख्थे ।

समूहविरुद्ध भोजपुरमा चलाइएको हरेक अपरेशनमा उनको महत्वपूर्ण भूमिका हुन्थ्यो । बधुबार भिडन्तमा मारिएका विप्लव नेतासँग पनि उनको राम्रो चिनजान थियो ।

यसअघि ७ जेठमा राईसहितको टोलीसँग भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२, धोद्रे जंगलमा विप्लव समूहको मुठभेड हुँदा पहिलो पटक विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको थियो । घटनापछि विप्लव समूहले जारी गरेको विज्ञप्तिमा पनि सादा पोशाकमा खटिएका सुराकी प्रहरीलाई गतिविधि बन्द गर्न चेतावनी दिएको थियो ।

भोजपुरका सांसद सुधन किराती जिल्ला जाँदा राई पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) को रुपमा पनि खटिन्थे । उनले अनलाइनखबरसँग भने, ‘म जिल्ला जाँदा उहाँ मेरो सुरक्षामा खटिनुहुन्थ्यो । उहाँको मृत्युको खबर सुनेर स्तब्ध छु ।’
यो पनि पढ्नुहोस विप्लवसँग लुकामारी ! प्रहरी समात्ने, अदालत छाड्ने
सुरक्षा व्यवस्था कडा

प्रहरी जवान र विप्लव समूहका नेताको ज्यान जाने गरी भएको घटनापछि सदरमुकामका सर्वसाधारण त्रसित बनेका छन् । प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारेको छ ।

प्रदेश १ का प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) किशोर दाहालका अनुसार विप्लव समूहका फरार व्यक्तिको खोजीलाई जारी राखिएको छ । ‘घटनास्थलबाट केही विप्लव समूहका कार्यकर्ता भागेका छन्’, दाहालले अनलाइनखबरसँग भने, ‘उनीहरुको खोजी पनि भइरहेको छ ।’

उनका अनुसार घाइते दुई प्रहरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट एउटा चाइनिज पेस्तोल, म्यागजिन र ४ राउण्ड गोली बरामद भएको छ ।

यो पनि पढ्नुहोस विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment