Comments Add Comment

धुर्मस सुन्तली फाउण्डेसनलाई क्रिकेट रंगशाला निर्माणमा फर्कन आग्रह

धुर्मस भन्छन् - छिट्टै काम सुरु गर्छौं

२५ असार, चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै धुर्मुस सुन्तली फाउन्डेसनलाई पूर्वयोजना अनुसार क्रिकेट रंगशाला निर्माण सुचारु गर्न आह्वान गरेका छन् ।

स्थानीयबासीको एउटा समूहले निर्माणस्थलमा लगाएको बारमा डोजर लगाएपछि उत्पन्न विवाद मिलिसकेको छ । तर, अहिलेसम्म गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिइरहेको छ ।

डोजर चलेको दुई दिनपछि धुर्मस–सुन्तली फाउण्डेशनले काम गर्ने वातावरण नभएको भन्दै साइड अफिस बन्द गरेर काम रोकेको थियो ।

डोजर लगाएको आरोपमा पक्राउ परेकाहरु छुटिसकेका छन् । स्थानीयबासीले रंगशाला निर्माणका लागि सहयोग गर्ने र आगामी दिनमा यस्ता काम नगर्ने प्रतिवद्धता जनाइसकेका छन् । तर, स्थगित गरिएको निर्माणको काम अझै अगाडि बढेको छैन ।

यो पनि पढ्नुहोस रंगशाला डोजर प्रकरण : मुख्य आरोपी कँडेलसहित ४ जना छुटे

यसै सन्दर्भमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटीको संयोजकत्वमा बनेको मूल समितिले कार्य पूर्वयोजना अनुसार काम अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई आह्वान गरेको हो ।संयोजक डल्लाकोटी र र भरतपुर महानगर प्रमुख रेनु दाहालले संयुक्त विज्ञप्ति जारी गर्दै वातावरण सहज बनेको र आवश्यक सम्पूर्ण सहयोग गर्न सबै तयार रहेको बताएका छन् ।

सबै क्षेत्रका व्यक्तित्वहरुलाई समेटेर ५००१ सदस्यीय गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति चितवन गठन गर्ने निर्णय पनि भएको पनि विज्ञप्तिमा जनाइएको छ । आर्थिक सहयोग संकलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञहरु सहितको १७ सदस्यीय अनुगमन उपसमिति गठन गर्ने सहमति पनि छ ।

रंगशाला निर्माणका लागि घोषणा गरिएको रकम छिटो जम्मा गर्न आग्रह गरिएको छ भने चन्दा रकममा कर छुटको निम्ति भरतपुर महानगरपालिले पहल गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

रंगशाला निर्माणका लागि भरतपुर महानगरले ६ करोड ४५ लाख र प्रदेश नम्वर तीन सरकारले ५ करोड रकम विनियोजन गरेको छ । चितवनका विभिन्न संघसंस्थाले सहयोगको घोषणा गरेका छन् तर, रकम उठ्न बाँकी नै छ ।

धुर्मस सुन्तली फाउण्डेशन भन्छ- छिट्टै काम सुरु गर्छौं

यसैवीच धुर्मस–सुन्तली फाउण्डेशनले पनि रंगशाला निर्माणको काम यथाशक्य छिटो अघि बढाउने बताएको छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ले रंगशाला बनाउने योजनामा फाउण्डेशन विचलित नभएको बताए ।

फाउण्डेशनले रामपुरमा बन्द रहेको साइट कार्यालय खोल्ने र शिलान्यास अघि गर्नुपर्ने बाँकी कामहरु गर्ने बताएको छ । डीपीआरको काम भइरहेको र आगामी भदौभित्र रंगशालाको शिलान्यास गर्ने तयारी भइरहेको धुर्मसले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment