Comments Add Comment

पलायन पो भइदिउँ कि !

'अब अमेरिका गट ट्यालेन्टमा सहभागी हुने मन छ'

बारीका कान्लाबाट हाम फाल्दै गरेका, बालुवाको थुप्रोमा उफ्रिँदै गरेका केटाकेटीलाई देख्दा धेरैले सोच्छन्, ‘कस्तो भङ्जा पारामा बिना काम उफ्रिएका होलान्…!’

तर त्यसरी उफ्रिनु खेल हो, जसले अन्य खेलले जस्तै मनोरञ्जनसँगै देश चिनाउने अवसर दिन्छ । एक परिचय दिन्छ, आत्मसन्तुष्टि दिन्छ । जिम्न्यास्टिक जस्तै पार्कर खेल साहसिक खेलाडीलाई चिनाउने माध्यम पनि हो ।

मलाई पनि सानोदेखि नै त्यसरी नै बारीका कान्ला र बालुवाको ढिस्कामा उफ्रिँदै गर्दा कुनै खेल खेल्दैछु भन्ने थाहा थिएन । जब त्यो जोशिलो साहस एउटा खेल हो भन्ने थाहा भयो, तब त रहर अझ दोब्बर भयो ।

दुई पटक विश्व कीर्तिमान बनाउँदै गिनिज बुकमा नाम लेखाइसकेँ । तेस्रो कीर्तिमानको नजिक छु । तेस्रो पनि सफल त भइसकेँ, प्रमाणित हुन बाँकी छ ।

आफ्नै शरीरलाई लचिलो बनाउँदै हावामा उडे सरह कावा खानु सजिलो त पक्कै देखिँदैन । तर जब प्रयास र अभ्यास हुन्छ तब असम्भव पनि सम्भव बनिदिन्छ । मेरो सफलताको कथामा यस्तै प्रयासहरु जोडिएको छ ।

****

अहिले तेस्रो विश्व कीर्तिमानका लागि गरेको प्रयाससम्म आइपुग्दा यो खेलमा मैले गरेको मेहनत धेरै छ । योबाहेक अरु सोचेको पनि छैन ।

पहिलो विश्व कीर्तिमान राखेकै बिधामा यो पटक तेस्रो कीर्तिमानका लागि अलि छिटो गर्ने प्रयास गरेको हुँ । त्यसलाई ‘मोस्ट ट्वीस्टिङ ब्याक फि्लप्स अफ अ वाल’ भनिन्छ, जुन पहिलो पटक २०१७ मा १ मिनेटमा १८ पटक गरेको थिएँ ।

यसलाई अलि बुझ्ने गरी भन्दा भित्तामा टेकेर ३६० डिग्रीमा शरीर घुमाएर भुइँमा सन्तुलित भएर टेक्ने काम हो । अहिले त्यही काम ३० सेकेण्डमा १२ पटक गरेको हुँ । अब गिनिज बुकमा यो दर्ता भयो भने तोडिन सजिलो छ जस्तो लाग्दैन । ३० सेकेण्डमा १२ पटक गर्नु चानचुने मेहनतले हुँदैन ।

दोस्रो विश्व कीर्तिमान २०१८ मा पनि ३० सेकेण्डमा १६ पटक भित्तामा टेकेर उल्टी हानेको थिएँ ।

पटकपटक जोखिम मोलेर केही नयाँ गरौँ भन्ने इच्छाशक्तिले यो सबै भइरहेको छ । नभए एकपटक विश्व कीर्तिमान बनाइसकेपछि आरामले बस्दा पनि हुने हो । मनमा ऊर्जा भएपछि त्यसो नहुने रहेछ । केही नयाँ गरौं भन्ने आइहाल्छ । एउटा कीर्तिमान नबनाउँदासम्म बनाउन पाए हुने जस्तो थियो । त्यो बनाएपछि दोस्रो गरौं भयो, अहिले तेस्रो पनि गरें । अब फेरि चौथो पटक केही नयाँ गर्न मन लाग्ला ।

आफ्नो शरीरले साथ दिँदासम्म खेललाई पनि चिनाउने मौका छ र त्यससँगै देशलाई पनि चिनाउने मौका छ, खेर फाल्नु हुँदैन भन्ने लागिरहेको छ ।

****

सानो बेलामा उफ्रिने, एक ठाउँबाट अर्को ठाउँमा जाँदा पनि हाम फाल्दै जाने, चञ्चले स्वभावकै थिएँ । ममीले पनि सुनाउनुहुन्छ, असाध्यै चन्चले थिएँ रे । बालुवामा उफ्रने र कान्लाबाट हाम फाल्ने मेरा लागि सामान्य जस्तो थियो । प्राय उडौंउडौं लागिरहन्थ्यो ।

तर, मानिसहरु भने कस्तो काम नभएको, बाँदर जस्तो उफ्रेर के चटक गरिरहेको होला भन्थे । केटो बिगि्रयो भन्थे । त्यसैले घरमा पनि बुबाले गाली गर्नुहुन्थ्यो । एकपटक बालुवामा खेलेर घर जाँदा खल्तीभरी बालुवा गएछ । ओछ्यानमा बालुवा नै बालुवा भएपछि पिटाइ खाएको अझै सम्झना आउँछ ।

बुबा अहिले कतारमा हुनुहुन्छ । आमा खोटाङ राजापानीमा नै हुनुहुन्छ । म सानो छँदा बुबा-आमा काठमाडौंमा गार्मेन्टमा काम गर्नु हुन्थ्यो । गार्मेन्ट बन्द भएपछि बुबा विदेश लाग्नुभयो, आमासँगै म गाउँ । काठमाडौंमा हुँदासम्म बालुवामा उफ्रिएर पार्कर सिकेँ । साथीहरुसँग समूह बनाएरै सिक्थ्यौं । आमासँग गाउँ फर्किँदा म सात वर्षको थिएँ ।

मैले आफ्नो कलालाई निरन्तर अभ्यास गरिरहेँ । गाउँमा जिम्न्यास्टिक देखाउन थालेपछि ‘यसले त यस्तो गर्छ’ भन्ने चर्चा पनि हुन थाल्यो । विद्यालय हुँदै विस्तारै जिल्लाभरका कार्यक्रममा पुग्न थालेँ । प्राय मानिसहरु अवसर खोज्दै काठमाडौं आउँछन्, मैले भने गाउँमा पाएको अवसरलाई काठमाडौंमा आएर सदुपयोग गरेँ ।

****

२०६७ सालमा सापातेल गाउँमा भएको भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीका तत्कालीन आईजीपी सनतकुमार बस्नेत आउनुभएको थियो । कार्यक्रममा मैले स्कूलको छतबाट, बारीको कान्लाबाट जिम्न्यास्टिक देखाएको थिएँ । सनत सरको मन छोएछ । उहाँले मलाई अंगालो मारेर पाँच हजार रुपैयाँ पुरस्कार दिनुभयो । अनि आफ्नो फोन नम्बर दिँदै ‘एसएलसीपछि काठमाडौं आउनू’ भन्नुभयो । त्यही साल एसएलसी सकिएपछि म काठमाडौं आइहालेँ ।

सशस्त्र प्रहरीमा गएर जिम्न्यास्टिक देखाएपछि त्यहाँ खेलाडीको रुपमा जागिर मिल्यो । खेलकुद शाखाको जिम्न्यास्टिकमा पहिलो पटक हामी खेलाडीका रुपमा थियौं । सुरुका दिनमा तीन हजार रुपैयाँ तलबसहित विभागीय टिममा आबद्ध हुन पाउनु मेरो लागि सानो कुरा थिएन । राष्ट्रिय खेलाडी बनेर संगठनका लागि केही गर्नुपर्छ भन्ने भयो ।

घरबाट पैसा कमाएन भन्ने गुनासो भइरहन्छ । त्यसैले विदेश पलायन नै होउँ कि जस्तो पनि लाग्छ

पार्कर र जिम्न्यास्टिक दुई छुट्टाछुट्टै खेल हुन् । सामान्य रुपमा एउटै हो भनेर हेरिन्छ, तर यसमा धेरै भिन्नता छन् । जागिर खानका लागि जिम्न्यास्टिकमा खाए पनि मैले सानैदेखि देखाइरहेको कला पार्कर रहेछ । त्यसैले दुवै खेल खेल्न थालेँ । बढी रुचि भने पार्करमै छ । जिम्न्यास्टिकको राष्ट्रिय प्रतियोगिताबाट तीन वटा स्वर्ण पदक जितिसकेको छु । गएको आठौँ राष्ट्रिय खेलकुदमा पनि फ्लोर जिम्न्यास्टिकमा दोस्रो भएँ । जिम्न्यास्टिक टिम इभेन्टमा चाहिँ स्वर्ण जित्यौं ।

सुरुमा रहर लागेर उफ्रिए पनि मैले खेल खेलेको हो र यो खेललाई पार्कर भनिन्छ भन्ने थाहा थिएन । पछि युट्युबहरुमा हेर्दै गएपछि यसबारे धेरै कुरा बुझ्न थालेको हुँ । पार्कर खेलाडीले कीर्तिमान बनाएको पनि युट्युबमा हेरेपछि म पनि देशका लागि केही गर्छु भन्ने लाग्यो र लागिपरेँ । गिनिज बुकमा नाम लेखाउन आर्थिकदेखि अन्य सहयोग पनि पाएँ । थानेश्वर गुरागाईँ दाइले त धेरै नै सहयोग गर्नुभयो । कीर्तिमान बनाएर समाचारहरुमा आउन थालेपछि नै पार्करको बारेमा धेरै कुरा भन्न पायौं । धेरैले थाहा पाउँदै गएका छन् । यसले हामी खेलाडीलाई केही सहज हुँदै गएको छ ।

****

दोस्रोपटक विश्व कीर्तिमान बनाएपछि अमेरिकामा वर्ल्ड फ्री रनिङ एण्ड पार्कर फेडेरेसन (डब्लूपीएफएफ) को स्पोन्सर खेलाडीका रुपमा जान पाएँ । पार्कर विश्वकपमा नेपालबाट पहिलोपटक सहभागी हुन पाएँ । सन् २०१८ मा भएको त्यो विश्वकपमा १० औँ स्थानमा आएको थिएँ । जसले नेपालमा पनि पार्कर खेल्छन् र खेलाडीहरु राम्रा छन् भनेर चिनाउन पाएँ । अभ्यास गर्ने सुरक्षित ठाउँ नहुँदानहुँदै पनि मैले कीर्तिमान बनाएको थाहा पाएका विदेशी खेलाडीहरु दंग थिए ।

एकदिन उफ्रिन पाइन भने पनि कस्तो-कस्तो लाग्छ । मिलेसम्म अभ्यासमा कुदिहाल्छु । अहिले बालुवाखानीतिर जाँदा पनि सानो बेलाका सम्झना बलियो बनेर आउँछ । केही गरौं भन्ने ऊर्जा त्यहीँ पाउँछु ।प्रथम लुम्बिनी जिम्न्यास्टिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेदेखि अमेरिकामा पुगेर पार्कर खेल्दासम्म धेरै कुरा देख्न र सिक्न पाएँ ।

विदेशको तुलनामा हाम्रोमा सुविधाहरुको अभाव हो, तर उत्साह भने छ । अमेरिकामा जाँदा पनि नेपालबाट समेत सहभागी आएको छ भन्नु नौलो भएको थियो । उनीहरु खुशी थिए । मलाई पनि राम्रै काम गरिरहेको रहेछु भन्ने लाग्यो । अमेरिकामा तीन महिना बसेर पार्कर परीक्षण लिएँ । प्रशिक्षण कोर्स पनि गरेँ । अहिले ट्रेनिङ सेन्टर खोलेर काम पनि गरिरहेका छौं । सरोज तामाङले सिकाउने काम गरिरहनुभएको छ । पहिलेभन्दा राम्रो हुँदै गएको छ ।

****

अहिले विद्यालयहरुमा पनि जिम्न्यास्टिक सिकाइन्छ । पार्करको पनि अभ्यास हुन्छ । ओलम्पिक कमिटीमा जिम्न्यास्टिकअन्तर्गत पार्कर संघ पनि बन्दैछ । हामीले खेल्ने समय र अहिलेको समयमा फेरिएका कुरा धेरै नै छन्, तर पर्याप्त छैनन् । अझ धेरै कामहरु गर्न बाँकी छ ।

तर बेला-बेला चाहिँ दिक्क लाग्छ । पार्करका प्राय प्रतियोगिता युरोप तथा अमेरिकामा हुन्छ । त्यहाँ पुग्नै सकस छ । टालटुल गर्दै परिवार चलाउनु परेको छ अनि आफ्नो बलबुताले युरोप पुग्न कहाँबाट पैसा जुटाउनू । घरबाट पनि पैसा कमाएन भन्ने गुनासो भइरहन्छ । त्यसैले विदेश पलायन नै होउँ कि जस्तो पनि लाग्छ ।

घरमा पनि भनिरहेका हुन्छन्, ‘अरुलाई विदेश जान कस्तो छ, तँ भने पुगिसकेको अमेरिकाबाट पनि फर्किर्एर आइस् ।’ यस्ता कुरा सुन्दा हो कि जस्तै पनि हुन्छ । फल मिल्दैन भने मेहनत मात्रै कति गर्नू ? पैसा कमाउनै पर्छ कि क्या हो ? जस्तो लागिरहेको छ । किनकी अहिले २८ वर्षको भएँ । अब चार वर्षजति खेल्छु होला । त्यसपछि के, भन्ने छ ।

तर पनि सबै छाडेर पलायन हुन मन मान्दैन । आफूले सोचेकोे सबै कुरा पूरा हुँदैन भन्ने पनि बुझेको छु । जहाँ गए पनि खेल सँगै हुन्छु भन्ने त थाहा छ, तर नेपालमा अझ केही गर्नु छ भन्ने लागिरहेको छ ।

अब अमेरिकाको रियालिटी शो ‘अमेरिका गट ट्यालेन्ट’ मा सहभागी हुने मन छ । त्यहाँ केही नयाँ कुरा देखाउनसक्छु कि जस्तो लागेको छ । सोचेका कुराहरु पूरा भए नेपालमा एउटा पार्कर हल बनाउने सपना यथार्थ बनाउन सक्छु कि ? मेहनत गर्दा सकिन्छ भन्ने विश्वास त छ तर एक्लो मेहनतले कहाँसम्म पुग्छु, समयले बताउँछ ।

प्रस्तुति : ऋग्वेद शर्मा

फोटो/भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा‘ को ४४ औं अंकमा यो हप्ता पार्कर तथा जिम्न्यास्टिक खेलाडी दिनेश सुनारको कथा ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment