
काठमाडौं । साविकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । सन् १९९२ पछि पहिलो पटक फाइनलमा पुगेको उसले उपाधिका लागि न्युजिल्याण्डसँग खेल्नेछ ।
फाइनल प्रवेशका लागि अष्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य घरेलु टोलीले मात्र ३२.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको सुरुवात राम्रो रह्यो । ओपनरद्वय जेसन रोय र जोनी बास्टोले १२४ रनको साझेदारी गरे । रोय ८५ रन बनाएर आउट भए । तर, जोय रुट र इयान मार्गानले अविजित ७७ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई फाइनलमा पुर्याए ।
रुट ४९ र मोर्गान ४५ रनमा अविजित रहे ।
यसअघि वर्मिङहृयाममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले खराब प्रदर्शन गर्दै ४९ ओभरमा सबै विकेटको क्षतिमा २२३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टेभन स्मिथले ८५ रन बनाए । उनले उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियालाई उकास्ने कोशिस गरेका थिए ।
यसअघि १.१ ओभरमा चार रन हुदा कप्तान एरोन फिन्च शुन्य रनमा आउट भए । त्यस्तै, १० रन हुँदा दोस्रो विकेटको रुपमा डेभिड वार्नर आउट भए । एकपछि अर्को विकेट गुमाएको अष्ट्रेलियाले १४ रन हुँदा तेस्रो विकेटको रुपमा पिटर हृयान्ड्सकोम्ब आउट भएका थिए ।
बलिङतर्फ इंग्ल्यान्डका आदिल राशिद र क्रिस वोक्सले समान ३-३ विकेट लिए । त्यस्तै, जोफ्रा आर्चरले दुई विकेट लिए ।
प्रतिक्रिया 4