Comments Add Comment

अस्ट्रेलियन शिक्षकले खोले नेपाली स्कूलमा भव्य पुस्तकालय

सिड्नी । सुरु गर्छु उनीबारे अघिल्लो रिपोर्टको अन्त तिरबाट । यो पंक्तिकार र सिड्नीमा क्रियाशील सामाजिक अभियन्ता डा. मोम विश्वकर्मासँग पुरातात्विक महत्वको देखिने भित्री पश्चिमी पुरानो बस्ती ग्लेबस्थित एक पुस्तक पसलभित्रको रंगीन क्याफेमा उनको नेपाल प्रेम सुनिरहँदा करिब दुई टन पुस्तकको कार्गो नेपाल तर्फ उड्नै लागेको थियो ।

कुन ठाउँमा हो पुस्तकालय बन्ने ? मेरो प्रश्नमा अस्ट्रेलियन शिक्षक ग्याबिन मकोर्म्याकले उत्तर दिए- म नाम भन्न जान्दैनँ, हामी पर्यटकले नेपाली एक हजार तिरेर हेर्न जाने पुरातात्विक शहर उतापट्टीको सुन्दर डाँडामा ।

मैले थप सोधेँ- ए ए नगरकोटमा ? उनको उत्तर थियो- एस न्यगोर्कोटमा । तर नगरकोट होइन रहेछ । यो पंक्तिकारले बढी जान्ने भएर नगरकोट भनाएको रहेछ । पुस्तकालय बन्ने ठाउँ त नुवाकोट पो रहेछ । हो नुवाकोटको विदुर नगरपालिकाभित्र पर्ने बच्छ्लादेवी माध्यमिकको हाताभित्र ।

यो पनि पढ्नुहोस नेपाली मनमा रंग भर्ने एक अस्ट्रेलियन शिक्षक

अस्ट्रेलियामा आफूले पढाउने पूर्वप्राथमिक विद्यालयका शिशुहरूको सहयोगबाट सुरु भएको ग्याबिनको नेपालमा शैक्षिक क्षेत्रमा सहयोग गर्ने अभियानमा उनका सामाजिक सन्जाल लिंक्देन र फेसबुकका साथीहरु लस्कर लागेपछि यो पुस्तकालय बन्न सम्भव भएको हो ।

अहिले गाउँमा रोपाइँ चलिरहेकाले वडाका जनप्रतिनिधिहरु विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, थोरै अविभावक, शिक्षक र विद्यार्थीबीच कुनै भव्य समारोह विना दश हजार पुस्तकले भरिएको भव्य पुस्तकालय आज बिहीबार विहान विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

करिब २० लाख नेपाली रुपैयाँ लागतमा ग्याबिन आफैं, उनका नेपाली साथी आनन्द देवकोटा र स्थानीयहरुको स्वयंसेवामा निर्माण भएको पुस्तकालय आज विद्यालयलाई हस्तान्तरण गरिएपछि उनको अर्को मिशन सुरु हुन्छ- नवलपरासी जिल्लामा अर्को पुस्तकालय बनाउने ।

उनले दुखेसो त गरेनन्, तर संसारभरिका उनका मित्रहरुले नेपालमा पुस्तकालय बनाउन दिएको सहयोगबाट किनिएका पुस्तकहरुमाथि नेपालको भन्सारले चर्को कर लगायो । हालै सरकारले पुस्तकमा १० प्रतिशत कर लगाउने निर्णय गरेको छ ।

सोझा शिक्षक उनले हजारौं रकम करमा पनि तिरे र काठमाडौंबाट ढुवानीमा पनि त्यस्तै खर्च गर्नु पर्‍यो । तर आफ्नो उद्देश्यमा अडिक, आफैंप्रति कडा स्वभावका, तर विद्यार्थीका प्रिय शिक्षक ग्याबिन नेपाली पहाडको एक विद्यालयमा भव्य पुस्तकालय बनाएरै छाडे ।

नयाँ पुस्तक करले केही क्षण आतिएका ग्याबिनले भने- हामी पहाडी गाउँमा सबैभन्दा ठूलो पुस्तकालय बनाउँदै छौं भन्ने सबैलाई थाहै थियो । केही हप्ताअघि नेपालतर्फ पुस्तक कार्गो गर्दा कार्गो रकम निश्चित गरिएको थियो, तर नेपाल पुग्दा म नयाँ पुस्तक करको मारमा परेँ । दराज, कार्पेट, फर्निचरका लागि बचाएको रकम करमा तिर्नु पर्दा निकै निरास भएँ । तर मेरो भाग्य मंगोलियन मरुभूमितिर घुमिरहेका मेरा मित्रले इमेलमा भने- साथी चिन्ता नगर म हृयामर र काँटी बोकेर काठमाडौंमा खडा छु, फर्निचर, कार्पेटलगाएत सबै-सबै खर्च म बेहोर्छु । उनले थपे- धन्य यी सहृदयी साथीको सम्मानमा यो पुस्तकालयको नाम हुनेछ- जेम्स हृयारिसन लाईब्रेरी अफ एक्सेलेन्स ।

गत मंगलबार उनले लेखेका छन्- आज काठमाडौंमा पुस्तकका भारि कस्ने दिन र पहाडी टाकुरातर्फ अघि बढ्ने दिन गगनमा पुस्तकालय बनाउनु जो छ । प्रिय एलिजाबेथ म आनन्द अनुभव गर्दै छु । यी हेर तिमीले पठाएका पुस्तक ।

उनकी अस्ट्रेलियाकी साथि एलिजाबेथ मेरीले आफूले पठाएका पुस्तक नेपाल पुगेको खबर पाउँदा निकै खुशी भएको भन्दै गत मंगलबार नै लेखिन्- हामीले पठाएका पुस्तक आफ्नो नयाँ घरमा पुग्दै गरेको खबर पाउँदा म झन् खुशी छु ।


उनले पुस्तकालय निर्माणमा पुस्तक र फर्निचरका भारी बोक्दै आफ्ना संसारभरका सहयोगीहरुलाई भने- हिमालयको काखमा पुस्तकालय बनाउन तपाईंहरुले मलाई पुस्तकहरु दिनुभयो । पहाड हरुमाथि ड्राइभिङ्ग गर्दै नदी र खोल्साहरुमा ओर्लिंदै हामी फेरि पहाडमाथि छौं । बच्चाहरु आएर पुस्तकका भारी सार्न सहयोग गरे । यी पुस्तकले धेरै पुस्तालाई पढाउने छन् । म यो खुशी तपाईंहरुलाई साट्न पाउँदा कम्ति खुशी छैन ।

अहिले अस्ट्रेलियामा स्कूल होलिडे चलेको छ । उनी यताको स्कूल होलिडे सुरु हुने गत शुक्रबारको अन्तिम घन्टी बजेपछि सोझै विमानस्थल हानिएका थिए र शनिबार साँझ नेपाल झरेलगत्तै पुस्तकालय निर्माणको बाँकी काममा अहोरात्र खटेका थिए ।

नेपाल उड्नुअघि अनलाइनखबरसँग कुरा गर्दै आफू नेपाल पुगेको एक हप्ताभित्रै पुस्तकालय समुदायलाई हस्तान्तरण गर्ने प्रतिज्ञा सुनाएका ग्याबिनले बुधबार राति काम सम्पन्न भएको पुस्तकालयका फोटाहरु पठाएर भने- हेल्लो ‘ओके’ (अनलाइनखबर) हामीले पुस्तकालय बनायौं । तिमीलाई यो फोटो चाहिन्छ होला, तर हामीलाई काम गर्नु छ हल्ला होइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment