
५ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको लागि आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारी प्रभावकारिताका साथ निर्वाह गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई ३५ औं वार्षिक प्रतिवेदन पेश गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
साथै, उनले राज्यको नीति निर्भिकता, निष्पक्षता र तटस्थताका साथ कार्यान्वयन गर्न आयोग प्रतिबद्ध रहेको पनि राष्ट्रपतिलाई बताए ।
‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धनको लागि आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारी प्रभावकारिताका साथ निर्वाह गर्न र राज्यको नीति निर्भिकता, निष्पक्षता र तटस्थताका साथ कार्यान्वयन गर्न आयोग प्रतिबद्ध छ,’ राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउँदै राईले राखेको भनाइ उद्धृत गर्दै अख्तियारले भनेको छ ।
मुलुकमा सुशासनको लागि भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारका तीनै तह एवं निकायहरू, गैरसरकारी र निजी क्षेत्र, सञ्चारकर्मी, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय एवं आम नागरिकबाट प्राप्त साथ, सहयोग र ऐक्यवद्धताका लागि आयोग परिवारको तर्फबाट राईले धन्यवाद दिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवास पुगेर आयोग प्रमुख राईले राष्ट्रपति पौडेललाई आर्थिक वर्ष २०८१–०८२ को प्रतविदन पेश गरेका हुन् ।
सो क्रममा राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक जिम्मेवारी अनुसार मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा पुर्याएको योगदानको लागि धन्यवाद व्यक्त गरे ।
साथै, उनले लोकतन्त्रको जग जवाफदेहिता सहितको शासन हो भन्दै आयोगले शासनमा जवाफदेहिता अभिबृद्धि गर्न, कुनै दबाव र प्रभाव बिना स्वतन्त्र रुपमा आम नागरिकको अपेक्षा र शासकीय आवश्यकता अनुसार थप प्रभावकारी रुपमा अनुसन्धान र अभियोजन गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4