
News Summary
Generated by OK AI. Editorially reviewed.- नारायणगढ-मुग्लिङ सडकमा पहिरोले फसेका ट्रक र बसको डिकीमा राखिएका राँगाभैंसी र खसीबोकामा घाउ र बिरामी अवस्था देखिएको छ।
- पशु अधिकारकर्मी सुराजन श्रेष्ठले पशु ढुवानी मापदण्ड उल्लङ्घन भएको र क्वारेन्टाइन चेकपोस्ट तथा प्रहरीले कारबाही नगरेको गुनासो गरे।
काठमाडौं । ‘राँगाभैंसी, खसीबोकालाई कति दिनदेखि ट्रक एवं बसको डिकीमा कोचेर राखिएको छ । राँगाभैसीको शरीरभरि घाउ छ । निस्सासिएर ज्वरो आएको छ’ सुराजन श्रेष्ठ भन्छन्, ‘कति दिनदेखि यी पशुहरू यसरी नै बिजोग अवस्थामा छन् ।’
अहिले नारायणगढ-मुग्लिङ सडकमा पहिरो गएको छ । त्यहाँ कति दिनदेखि फसेको ट्रकमा राँगाभैंसी कोचिएको छ । नाथ्री र पुच्छरमा बाँधेर राखिएका राँगाभैंसीको शरीरभरि घाउ नै घाउ छ ।
त्यस्तै बसको डिकीमा पनि खसीबोका कोचिएर राखिएका छन् । साँघुरो डिकीमा गुम्सिएर खसीबोका बिरामी परेको सुराजनले बताए । उनी पशु अधिकारकर्मी हुन् । यतिबेला चितवनका केही संघसंस्थाले ट्रकमा फसेका राँगाभैंसी एवं खसीबोकाको उपचार गरिरहेको बताए ।
सुराजन भन्छन्, ‘ती पुशहरूलाई कतिसम्म कष्ट दिइएको छ भने सामान्य मान्छेले हेर्न पनि सक्दैन । एकदमै क्रुरतापूर्वक राखिएको छ ।’
पशु ढुवानी मापदण्ड अनुसार यसरी कष्ट दिएर पशुलाई ओसारपसार गर्न पाइँदैन । ‘हामीले यसबारे पशु क्वारेन्टाइन चेकपोस्ट र नेपाल प्रहरीसँग बारम्बार अनुरोध गरेका छौं’ सुराजन भन्छन्, ‘तर, स्रोत साधन जुटाउन गाह्रो भएको बताएर उनीहरू सक्रिय छैनन् ।’
श्रेष्ठले जुगेडी प्रहरी चौकीलाई पटक–पटक खबर गर्दा पनि सहयोग नपाएको गुनासो गरे । ‘प्रहरीले गाडीको नम्बर टिप्ने मात्र गरे, तर तत्काल कारबाही गरेनन् । एउटा बस दिनभरि रोकेर कुर्यौं, तर प्रहरीले बेवास्ता गरे ।’
उनका अनुसार, पशु ढुवानीका लागि प्रमाणपत्र पनि नक्कली वा अपूर्ण हुन्छन् । ‘एउटा ट्रकमा १९ राँगा–भैंसी थिए, तर प्रमाणपत्रमा २० लेखिएको थियो । यसले पशु चिकित्सकहरूले राम्रोसँग जाँच नगरेको देखाउँछ । क्वारेन्टाइन चेकपोस्टहरूले डेटा कलक्सन मात्र गर्छन्, स्वास्थ्य र मापदण्ड जाँच गर्दैनन् ।’
श्रेष्ठले नयाँ सरकारलाई यो मुद्दा सम्बोधन गर्न आग्रह गरेका छन् । ‘अन्तरिम सरकार भए पनि सम्बन्धित मन्त्रालयले पशु ढुवानी मापदण्डलाई फास्ट ट्रयाकबाट कानुन बनाएर कार्यान्वयन गर्न सक्छ’ उनले भने, ‘कानुन बनाएर मात्र पनि हुँदैन लागू गर्नका लागि स्रोत परिचालन र पशु अकिारकर्मीहरूसँग सहकार्य आवश्यक ।’
सरकारी निकायहरूले कडा रूपमा निर्देशन जारी गरे मात्र यसमा सुधार हुने उनको भनाइ छ ।
मुग्लिङ पहिरोका कारण अवरुद्ध गाडीहरूमा फसेका पशुपन्छीहरूको व्यवस्थापनमा छलफल भइरहेको नागढुंगा पशु क्वारेन्टाइनका अफिसर लक्ष्मी नारायण दास बताउँछन् ।
‘अहिले मुग्लिङ बन्द छ, गाडीहरू कम आएका छन् । तर, आएका जतिलाई चेक गर्छौं’ उनी भन्छन्, ‘पहिरोले फसेकाहरूका लागि छलफल चलिरहेको छ । यदि लामो समय लाग्यो भने विचार गर्नुपर्ला ।’
दासका अनुसार, दशैंलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन हुँदैछ । ‘६ गतेदेखि १५ गतेसम्म क्याम्प लगाएर पशु स्वास्थ्य परीक्षण, नमुना संकलन र र्यापिड टेस्ट गर्छौं’ दासले भने, ‘टेन्ट गाडेर आलोपालो ड्युटी बस्छौं ।’
उनी स्रोत अभाव भए पनि नियमित जाँच भइरहेको दाबी गर्छन् । तर, अधिकारकर्मीहरूको गुनासोमा सहमति जनाउँदै भन्छन् ‘मुग्लिङमा फसेकाहरूका लागि सहकार्य आवश्यक छ । यसमा थप छलफल गर्छु ।’
प्रहरीको भूमिका र समन्वयको आवश्यकता
जुगेडी प्रहरी चौकीका असई हरि लामाले तत्काल सहयोग गर्न गाह्रो भइरहेको बताए ।
उनी भन्छन्, ‘यो दैवी प्रकोप हो । बाटेमा फसेका पशुहरूलाई हामीले छोडेर पनि साध्य छैन । छोड्दा पनि उनीहरूलाई राम्रो हुँदैन । यहाँ स्वास्थ्यकर्मीहरू परिचालन छन् । घाइतेहरूलाई उपचार र सहजीकरण भइरहेको छ ।’
‘रामनगर क्वारेन्टाइनको आदेश अनुसार चेक गरिने लामाले बताए । ‘उतैबाट प्रमाणपत्र र चिट काटेर आएका हुन्छन् त्यही अनुसार जाँच गर्छौँ’ लामाले भने ।
प्रशासनिक अधिकार र समन्वय आवश्यक भएको उनले जोड दिए ।
मापदण्डका चुनौतीहरू
नेपालमा पशु ढुवानी मापदण्डअनुसार पशुपन्छीहरूलाई पर्याप्त स्थान, पानी, खाना र स्वास्थ्य जाँच सुनिश्चित गर्नुपर्छ । यात्रुबाहक बसमा पशु ढुवानी गैरकानुनी हो । तर, कार्यान्वयन कमजोर छ । अधिकारकर्मीहरूले प्रहरी र क्वारेन्टाइनलाई तत्काल कारबाही र निरीक्षण बढाउन आग्रह गर्छन् ।
खसीबोकालाई बसको डिक्कीमा गुम्साएर ढुवानी गर्दा निसासिने र बिरामी हुने हुन्छ । पशु ढुवानी गर्ने क्रममा धेरै ठाउँबाट प्रमाणपत्रको दुरुपयोग हुने गरेको पाइने सुराजन बताउँछन् ।
उनी भन्छन् ‘नेपाल प्रहरीले अबको डेढ हप्ता लामो दूरीका गाडीहरूको विशेष अनुगमन गर्नुपर्छ । साथै चालक, सहचालक र यात्रुहरूलाई पशु ढुवानी मादण्डको बारेमा जनचेतना पनि फैलाउन सहकार्य गर्न अनुरोध गर्छु ।’
प्रतिक्रिया 4