+
+
Shares

एनसेलका २० वर्ष : जसले जनताको हातहातमा मोबाइल पुर्‍यायो

अझै एनसेललाई त अर्को झड्का लागेको छ । भदौ २३ र २४ गते भएको जेनजी  आन्दोलनका कारण एनसेललाई गहिरो चोट लागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले नेपालमा २० वर्षमा मोबाइल सेवा विस्तार गरी एक करोड ४० लाखभन्दा बढीलाई सेवा प्रदान गरेको छ।
  • एनसेलले आर्थिक वर्ष २०८१/८२ सम्ममा नेपाल सरकारलाई ३ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ।
  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा एनसेलको केन्द्रीय कार्यालय तोडफोड र आगजनी भएको छ।

१ असोज, काठमाडौं । दुई दशकअघि सरकारी स्वामित्वको नेपाल दूरसञ्जार संस्थानबाट जनताले टेलिफोन र मोबाइल लिन कहाँ सजिलो थियो र ? मोबाइलको सिमकार्ड लिन महिनौसम्म पखर्नुपर्थ्यो , घण्टौ‌ लाइनमा बस्नुपर्थ्यो , भनसुन गर्नुपर्थ्यो ।

टेलिफोन महसुल अत्यन्तै महँगो थियो, मोबाइलबाट फोन गरेको मात्रै होइन, उठाएको पनि शुल्क तिर्नुपर्थ्यो। त्यो अवस्थाबाट जनताको हातहातमा मोबाइल पुर्‍याउन त्यसबेला आएको नेपालको पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक मेरो मोबाइलको अत्यन्तै ठूलो योगदान छ । त्यसबेलाको मेरो मोबाइल अहिले एनसेलका रुपमा काम गरिरहेको छ ।

नेपालमा तत्कालीन मेरो मोबाइल अर्थात् एनसेलले सेवा सुरु गर्दा कुल जनसंख्याको ६ प्रतिशत मात्रै मोवाइल फोन प्रयोग गर्थे । तर, अहिले मोबाइल सेवाको पहुँच शतप्रतिशत भन्दा बढी पुगेको छ । एनसेलले मात्रै एक करोड ४० लाख भन्दा धेरैलाई दूरसञ्‍चार सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

निजी क्षेत्रको लगानीमा स्थापना भएको एनसेल बहुराष्ट्रिय दूरसञ्‍चार सेवा प्रदान गर्ने कम्पनी हो । नेपाली जनाताको हातमा मोवाइल पहुँचको पर्यायबाची बनेको एनसेलले २० वर्षको अवधिमा सेवा विस्तार मात्र नभई दूरसञ्‍चार सेवालाई सस्तो र सुलभ पनि बनायो ।

सरकारी लगानीको दूरसञ्‍चार कम्पनीको एकाधिकार ताडेर एलिटको नियन्त्रणमा रहेको दूरसञ्‍चार सेवालाई जनताको हातमा पुर्याउन महत्पुर्ण योगदान गरेको छ । एनसेल नेपालको दूरसञ्‍चार सेवाका आएको परिवर्तनको संवाहक नै हो ।

बलियो प्रतिस्पर्धीका रुपमा एनसेल आएपछि सरकारी लगानीको दूरसञ्जार संस्थान पनि कम्पनीमा रुपान्तरण भयो, आफ्नो सेवालाई चुस्त–दुरुस्त बनायो । नेपालको दूरसञ्चार बजारमा यी दुई प्रतिस्पर्धीले आमूल परिवर्तन नै ल्याए ।

एनसेलको स्थापना सन २००४ मा भएको हो । कम्पनीले सन् २००५ मा सेवा प्रदान थालेको हो ।

एनसेलले आफ्नो नेटवर्कमार्फत सबै नेपालीलाई जोड्ने तथा गुणस्तरीय, आधुनिक सेवाहरू न्यून शुल्कमा प्रदान गर्ने लक्ष्य नै राखेर काम सुरु गरेको थियो ।

विगतमा स्वीडेनको टेलियासोनेरा र मलेसियाको आजियाटाजस्ता महत्वपूर्ण टेलिकम सेवा प्रदायकको लगानी रहेको एनसेल अहिले स्पेक्ट्रलाइट युके लिमिटेडसँगको संयुक्त लगानीमा सञ्चालित छ ।

एनसेलले नेपाली जनताका लागि नवप्रवर्तन, लगानी र जीवनस्तर उकास्ने विभिन्न सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । १ डिसेम्बर २०२३ मा, बेलायतस्थित स्पेक्ट्रलाइट युके लिमिटेडले आजियाटा ग्रुप बर्हाडको आजियाटा युकेबाट रेनोल्ड्स होल्डिङ्स लिमिटेडको शतप्रतिशत सेयर खरिद गर्‍यो । एनसेलमा रेनोल्ड्सको लगभग ८० प्रतिशत स्वामित्व रहेको छ ।

एनसेल सन् २००४ मा ‘मेरो मोबाइल’को रूपमा स्थापना भएको थियो । चार वर्षपछि, यसलाई टेलिया कम्पनी (पहिले टेलियासोनेरा ग्रुप अफ स्वीडेन) ले खरिद गर्‍यो । सन् २०१० मा ‘एनसेल’को नाममा यसको रिब्रान्डिङ गरिएको थियो ।

१२ अप्रिल २०१६ मा टेलिया बाहिरियो र एनसेलमा आजियाटा ग्रुप बर्हाड लगानीकर्ताका रुपमा भित्रियो । एनसेल पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो र ३ अगस्ट २०२० मा आफ्नो नाम ‘एनसेल आजियाटा लिमिटेड’ मा परिवर्तन गर्‍यो ।

एनसेलले आफ्ना सेवा सञ्चालनका लागि जीएसएम, एज, थ्रिजी/एचएसपीए प्लस र डीसी–एचएसडीपीए प्रविधि प्रयोग गरेको जनाएको छ । सन् २०१० मा थ्रिजी सेवा सुरु गरेर नेपाली उपभोक्ताहरूलाई उच्च गतिको डेटा र बिना बफरिङ भिडियो सामग्री हेर्ने सुविधा दियो ।

सन् २०१७ मा फोरजी सेवा ल्याएर ग्राहकहरूलाई प्रविधिले ल्याएका अवसरहरूसँग जोड्न आधुनिक उच्च गतिको मोबाइल डेटामा पहुँच सुनिश्चित गरेको कम्पनीले जनाएको छ । विगत दुई दशकमा नेपाललाई इ–कमर्स, टेलिमेडिसिन, इन्टरनेट/मोबाइल बैंकिङ सेवा वा सूचना प्रविधिको क्षेत्रमा अगाडि बढाउन ठूलो भूमिका खेलेको एनसेलको दावी छ ।

एनसेलले देशभरि ९५ प्रतिशत भन्दा भन्दा बढी फोरजी कभरेज रहेको दावी गरेको छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदानकर्तामध्ये एकको रूपमा रहेको एनसेलले आर्थिक वर्ष २०८१/८२ सम्ममा नेपाल सरकारलाई ३ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी कर तथा शुल्क तिरेको जनाएको छ । यसले सार्वजनिक वित्तमा महत्वपूर्ण सहयोग पुर्‍याएको छ ।

साथै कम्पनीले सन् २०१६ मा सेयर स्वामित्व परिवर्तनसँग सम्बन्धित ४७ अर्ब रुपैयाँ पुँजीगत लाभकर समेत तिरेको थियो । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष एक लाख रोजगारी प्रदान गरेको जनाएको छ । विभिन्न सामाजिक उत्तरदायित्व/दिगोपन परियोजनाहरूमा २ अर्ब ५ करोड रुपैयाँभन्दा बढी योगदान गरेको छ । जसले सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याएको कम्पनीको दावी छ ।

मुख्यतया स्वास्थ्य, शिक्षा र वातावरणलाई मुख्य क्षेत्रको रूपमा केन्द्रित गर्दै दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गरिरहेको कम्पनीको भनाइ छ । ठूलो प्रभाव पारेका केही ठूला परियोजनाहरूमा रिङरोड ग्रीन बेल्ट, पिछडिएकाहरूलाई सेवा दिन टेलिमेडिसिन र पर्सनलाइज्ड हेल्थ प्रोग्राम र देशभरका ६० वटा सरकारी÷सामुदायिक विद्यालयहरूमा उच्च–प्रविधि डिजिटल आईटी ल्याबहरूको स्थापना गरेको कम्पनीले जनाएको छ ।

एनसेलले कोभिड–१९ को अवधिमा सरकार र उपभोक्ताहरूलाई सहयोग गरेको थियो । कोभिडमा एनसेलले गरेको योगदानलाई पहिचान गर्दै वर्ल्ड  कम्युनिकेसन्स अवार्ड २०२१ पाएको थियो । एनसेल विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भएको छ ।

साथै, एनसेल सञ्चालनमा आएको २० वर्षको अवधिमा एक दर्जनभन्दा धेरै अवार्ड पाएको छ । कम्पनीले एनबीआई बिजनेस रेजिलियन्स अवार्ड २०२४— बेस्ट प्राक्टिसनर, २०२२ मा नेपालको सबैभन्दा छिटो मोबाइल नेटवर्क, एसियन टेलिकम अवाड्र्स २०२२ लगायतका दजनौ स्थानीय र अन्तर्राष्ट्रिय सम्मानहरूबाट सम्मानित भएको छ ।

तर, नेपालमा टेलिकम सेवा प्रदायकको व्यवसाय र आम्दानी दुवै घटेको छ । पछिल्ला ५ वर्षमा नेपालमा टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानी २५ प्रतिशतले घटेको छ, जबकि छिमेकी मुलुकहरू बंगलादेश वा श्रीलङ्कामा भने यो अवधिमा ४० प्रतिशत वृद्धि देखिएको छ ।

ओटीटीको प्रभाव, अन्तर्राष्टिय कलहरु (आईएलडी)को मागमा गिरावट, तथा माग बढे पनि डेटा सेवाको आय घटेकाले अहिले एनसेल र नेपाल टेलिकम दुवै कम्पनी आम्दानीमा ठूलो गिरावट आइरहेको छ।

ग्राहकको डेटा माग तीव्र गतिमा बढिरहे पनि प्रतिस्पर्धाका कारण मूल्य निरन्तर घटिरहेको छ । लगानी तथा मुद्रास्फीतिसँग मेल खाने गरी सेवा शुल्क पुनरावलोकन गर्ने कुनै सरकारी प्रावधान वा नियन्त्रण नभएकोमा टेलिकम कम्पनीहरु खुसी छैनन् ।

२०२४ मा नेपालमा प्रतिग्राहकको मासिक डेटा प्रयोग मात्र ६ जीबी मात्रै छ जबकि भारतमा यो २० जीबी छ ।

विगतमा एनसेल र नेपाल टेलिकमसहितको दूरसञ्चार उद्योगले नेपालको जीडीपीमा ५ प्रतिशत योगदान थियो, तर अहिले यो २ प्रतिशतमा झरेको कम्पनीहरुको दाबी छ । टेलिकमको वार्षिक बजार १ खर्ब रुपैयाँ पुगिसकेकोमा त्यो घटेर ७५ अर्बभन्दा तल आएको छ ।

‘नेपालमा केवल आम्दानीलाई हेरेर धारणा बनाउने प्रवृत्ति छ । तर कम्पनीहरुले करपछिको नाफाको ३ गुणा बढी पूँजीगत लगानी गर्नुपर्छ, यस अर्थमा हामी घाटा व्यहोर्दै भोलिको वृद्धिको लागि लगानी गरिरहेका छौँ, एनसेल भन्छ ।

अहिले संसारका धेरै मुलुकहरू फाइभजी प्रविधिमा गइसके । तर, नेपालमा लगानीका हिसाबले त्यो निकै चुनौतीपूर्ण बन्दै गएको छ।

फाइभजी जस्तो नयाँ प्रविधि भित्र्याउन नेपाललाई करिब ६० अर्ब रुपैयाँ चाहिन्छ, जुन कम्पनीहरुको नाफाको १२ गुणा हो । त्यसो हुँदा २–३ वर्षमै फाइभजी लागू गर्नु वर्तमान वित्तीय अवस्थाका कारण चुनौतीपूर्ण छ, एनसेल भन्छ ।

सरकारले १० वर्षभित्र ३० खर्ब रुपैयाँ आइटी सेवा निर्यात गर्ने तथा १५ लाख आइटी रोजगारी सृजना गर्ने लक्ष्य राखेको छ । तर, आईसीटी क्षेत्रको आधारस्तम्भ दूरसञ्चार क्षेत्रलाई सहयोग नगरी यो सम्भव छैन ।

नेपालमा दूरसञ्चार ऐन २०५३ सालमा लागू भएदेखि अहिलेसम्म संशोधन भएको छैन । सूचना प्रविधि क्षेत्र दिनदिनै परिवर्तन भइरहन्छ तर कानून त्यसअनुरुप संशोधन हुन सकेको छैन । तर, उपभोक्ता र सेवा प्रदायकलाई सरकारले उच्च मात्रामा कर लगाउने गरेको छ ।

दूरसञ्चार कम्पनीहरूले आफ्नो आम्दानीको ५० प्रतिशतभन्दा बढी कर र शुल्कका रूपमा सरकारलाई तिर्छन् । त्यही कारण नेपाल टेलिकम्युनिकेशन क्षेत्रमा बढी कर लाग्ने बजारको रूपमा चिनिन्छ ।

‘अर्कातिर, जिएसएमको इजाजतपत्र लिएको १० वर्षपछि हरेक ५ वर्षमा २० अर्बका दरले नवीकरण शुल्क बुझाउनुपर्छ, यो प्रावधानले उद्योगको दिगोपनामा प्रश्न खडा गरेको छ,’ एनसेल भन्छ ।

अर्कातिर, नेपालमा नियामकीय निर्देशनमा बारम्बार भइरहने परिवर्तनले पनि टेलिकम क्षेत्रका लगानीतर्काहरु विश्वस्त हुन सकेका छैनने । टेलियासोनेरा, आजियाटाजस्ता बहुराष्ट्रिय कम्पनीले पनि नेपालमा आफ्नो लगानी सुरक्षित ठानेनन् ।

‘पछिल्ला ६ वर्षमा नियामकीय परिवर्तनका कारण मात्र टेलिकम कम्पनीको १३ अर्ब रुपैयाँ आम्दानी गुमेको छ,’ एनसेलले जनाएको छ ।

एक समय नेपालमा युनाइटेड टेलिकम कम्पनीले नेपालमा निकै बजार विस्तार गरेको थियो, तर कम्पनी दीर्घकालसम्म बजारमा टिक्न सकेन । त्यससँगै स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट टेलिकम, सीजी टेलिकमजस्ता कम्पनीह बजारबाट बाहिरिएका छन् ।

अन्य कुराहरुको अतिरिक्त यसो हुनुमा अनुकूल नीतिको अभाव र कडा कानूनी व्यवस्थाहरु पनि जिम्मेवार छन् । बाँकी दुई कम्पनीको भविष्य कस्तो होला भन्ने पनि अहिल्यै अनुमान गर्न सकिने खालको छैन ।

एनसेलका अनुसार आगामी ५ वर्षमा टेलिकम कम्पनीरुको आम्दानी १६ अर्ब रुपैयाँ राजस्व घट्ने अनुमान गरिएको छ, जसबाट सरकारको राजस्व ३ अर्ब ७० करोड रुपैयाँ घट्नेछ ।

टेलिकम कम्पनीको वार्षिक स्थिर दायित्व करिब वार्षिक ११ अर्ब रुपैयाँ हुने अनुमान छ । आम्दानी घटिरहँदा टेलिकम कम्पनीहरुले आफ्नो अनिवार्य दायित्व पूरा गर्न पनि कठीन हुने देखिन्छ ।

यस्तो अवस्थामा कम्पनीहरुले गर्ने पूँजीगत लगानीमा ठूलो प्रभाव पर्न सक्नेछ, जसले एनसेल लगायत टेलिकम कम्पनीको गुणस्तरमा पनि निश्चित रुपमा प्रभाव पर्ने छ ।

अझै एनसेललाई त अर्को झड्का लागेको छ । भदौ २३ र २४ गते भएको जेनजी  आन्दोलनका कारण एनसेललाई गहिरो चोट लागेको छ । आन्दोलनकारीका नाममा एक आक्रमणकारी समूहरुले कम्पनीको केन्द्रीय कार्यलय नै तोडफोड तथा आगजनी गरे ।

कार्यलयका केही तलामा पूर्ण क्षति पुगेको र धेरैवटा सवारीसाधन जलेको कम्पनीले जनाएको । एनसेल जस्तो वैदेशिक लगानी भएको कम्पनीमा आन्दोलकारीले निसानामा राख्दा प्रत्यक्ष बैदेशिक लगानी समेत निरुत्साहित हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?