२९ माघ, काठमाडौं । देशभरिका किसानलाई डिजिटल र प्रिमियम कृषि सेवा उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्ल्याटफर्म ‘सुपर कृषक’ ले सहकार्य गरेका छन् ।
यो सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सहजै सबै किसानसम्म आधुनिक कृषि सेवा उपलब्ध गराउनु रहेको छ । यो सहकार्य नेपालको कृषि क्षेत्रलाई डिजिटल बनाउने यात्रा तथा कृषि क्षेत्रमा रहेको डिजिटल असमानता घटाउने दिशामा ऐतिहासिक कदम हो ।
हालसम्म देशका ३० हजारभन्दा बढी किसान सुपर कृषक प्ल्याटफर्ममा दर्ता भइसकेका छन् । यस प्ल्याटफर्म मार्फत अनलाइन कृषि तालिम, कृषि डाक्टर तथा कृषि चिना (स्याटेलाइट अनुगमन) जस्ता डिजिटल उपकरण र सेवा उपलब्ध हुन्छन्, जसले किसानलाई आफ्नै मोबाइल फोनमार्फत वास्तविक समयमै कृषि परामर्श, रोगकीरा तथा बाली समस्या पहिचान र बाली अनुगमन सम्बन्धी जानकारी प्राप्त गरी स्वमूल्यांकन गर्न सक्षम बनाउँछ ।
यो सहकार्यले गर्दा देशका प्रत्येक जिल्लाका किसानले आफ्नो मोबाइल फोनमार्फत उन्नत, सुलभ र स्थानीय आवश्यकता अनुकूल कृषि परामर्श प्राप्त गर्न सक्ने हुनेछन् । उच्च पहाडदेखि तराईका फाँटसम्म अब किसानका हातहातमा विशेषज्ञको सल्लाह सुझाव अनि आधुनिक प्रविधि पहुँच सुनिश्चित भएको छ ।
एनसेलको बृहत नेटवर्क पहुँच र लाखौं सक्रिय ग्राहक भएकाले अब सुपर कृषकका प्रिमियम सेवा आमकिसानलाई एक भ्यालु एडेड दूरसञ्चार सेवाका रूपमा उपलब्ध भएको छ । योसँगै नेपालमै पहिलो पटक किसानले भ्वाइस, डेटा वा एसएमएस सेवा लिए झैं सहज आफ्नो मोबाइल ब्यालेन्सबाटै कृषि सेवाको लाभ उठाउन सक्ने भएका छन् ।
किसानले सुपर कृषक एपमार्फत यो सेवा लिन सक्छन् । यस एपमा विभिन्न अवधिका सदस्यता प्याकेज उपलब्ध छन् । एक वर्षको प्याक किस्ताबन्दीमा लिन चाहनेले प्रत्येक तीन दिनमा १३ रुपैयाँ तिर्दै वार्षिक १ हजार ५ सय ६० रुपैयाँ खर्चिनुपर्ने छ ।
त्यस्तै ६ महिनाका लागि प्रत्येक तीन दिनमा १४ रुपैयाँ भुक्तानी गरी कुल ८ सय ४० रुपैयाँ तिर्नुपर्ने छ । एकमुष्ट भुक्तानी गर्ने किसानले भने ६ महिनाका लागि ७ सय ५६ तथा एक वर्षका लागि १ हजार २ सय ४८ रुपैयाँ तिरेर सेवा लिन सक्छन् । आफूलाई उपयुक्त सेवा लिएपछि लागु हुने शुल्क मेन ब्यालेन्सबाट कटौती हुन्छ ।
किसानले प्रिमियम सेवा अन्तर्गत आधुनिक कृषि प्रविधिबारे विस्तृत तथा चरणबद्ध सिकाइ सामग्री समेटिएका तालिम मोड्युलको लाभ उठाउन सक्छन् । त्यस्तै कृषि डाक्टर सुविधा मार्फत कृषकले ८ सयभन्दा बढी बालीका रोगकीरा तथा अन्य समस्या पहिचान एआईमार्फत गर्न सक्छन् ।
यो सेवाले बाली समस्या पहिचान गरिसकेपछि आवश्यकता अनुसार समाधानका उपाय पनि सुझाउँछ । त्यस्तै किसानले स्थानीय भाषामै तथ्यमा आधारित व्यक्तिगत परामर्श आफूलाई आवश्यक परेको समयमा प्राप्त गर्न सक्छन् । एनसेल र सुपर कृषकले यो सेवा अबको एक वर्षमै १ लाख २० हजारभन्दा बढी किसानसम्म पुर्याउने लक्ष्य राखेका छन् ।
यो महत्त्वपूर्ण कदमले कृषिसम्बन्धी ज्ञान अभिवृद्धि गर्न, किसान र विशेषज्ञबीच दुरी घटाउन साथै ग्रामीण नेपालमा रहेको डिजिटल खाडल कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ ।
प्रतिक्रिया 4