News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सिनेमा इतिहासका क्लासिक लभस्टोरी फिल्महरूमा कुसुमे रुमाल, प्रेम पिण्ड, दर्पण छायाँ र सम्झना पर्दछन्।
भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको सप्तान्त चलिरहेको छ । यो प्रेमिल समयमा संसारभर प्रेमको चर्चा हुन्छ । विश्व सिनेमामा धेरै देखाइने विषय पनि प्रेम नै हो । नेपाली सिने इतिहासमा पनि अत्यन्तै धेरै मात्रामा प्रेम विषयमा सिनेमा बनाइएका छन् ।
आज हामी नेपाली सिनेमाको इतिहासमा अमर बनेका केही क्लासिक रोमान्टिक फिल्महरूको बारेमा चर्चा गर्ने छौं । ताकि तपाईं प्रेम र फिल्म दुवैमा नोस्टाल्जिक हुन सक्नुहोस् । यसमा हामीले विशुद्ध नेपाली परिवेश, नेपाली कथा र क्लासिकलाई ध्यान दिएका छौं ।
यी फिल्महरूले प्रेमको मिठास, पीडा, त्याग र भावनालाई यति सुन्दर र मिहिन तरिकाले चित्रण गरेका छन् कि आज पनि हाम्रो मन छुन्छ । खासमा भ्यालेन्टाइन्सको छेकोमा यी फिल्महरू हेर्नु वा सम्झनु भनेको पुरानो प्रेमको सम्झना ताजा गर्नु जस्तै हो ।
कुसुमे रुमाल (१९८५)

तुलसी घिमिरे निर्देशित यो फिल्म आफ्नो कथा र गीतहरूका कारण अहिलेको पुस्तामाँझ पनि उत्तिकै चर्चामा छ । यो फिल्मलाई सर्वकालिक क्लासिक नेपाली रोमान्टिक फिल्म समेत भन्न सकिन्छ । फिल्ममा धनी बाउकी छोरी र गरिब कामदारबीचको प्रेम कथा देखाइएको छ । यसरी यो फिल्ममा वर्गीय भेदभाव र त्यागको भावना छ । उदित नारायणको अभिनय डेब्यू फिल्म पनि यही थियो ।उनले फिल्मका लागि गाएका गीतहरू जस्तै ‘कुसुमे रुमाल’ आज पनि उत्तिकै रुचाइन्छ। यसम फिल्ममा तृप्ती नाडकर, उदित नारायण झा, भुवन केसी, प्रदिप पाख्रिन, नीर शाहलगायका कलाकाहरूको अभिनय छ ।
प्रेम पिण्ड (१९९५)

ऐतिहासिक पृष्ठभूमि र साहित्यिक गहिराइ भएको प्रेम कथा हेर्न चाहनेका लागि यो उत्कृष्ट रोजाइ हो । यादव खरेलद्वारा निर्देशित यो फिल्म बालकृष्ण समको कृतिमा आधारित छ । राणाकालीन पृष्ठभूमिमा आधारित यो फिल्ममा जर्नेलको दरबारमा काम गर्ने पात्रहरूबीचको दुखद् प्रेम कथालाई देखाइएको छ । फिल्मले प्रेमका लागि गरिने त्यागलाई उजागर गरिएको छ ।
शम्भुजित बास्कोटाको संगीत रहेको यसका गीतहरू पनि निकै लोकप्रिय छन् । गैरीखेतको तिरै हान्यो…, चैत मास खडेरीमा…, सपना हो यो भनेदेखि.. जस्ता कालजयी गीतहरू यस फिल्ममा रहेका छन् ।
फिल्ममा सरोज खनाल, मेलिना मानन्धर, सन्नी रौनियार, नीर शाह, हरिहर शर्मा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतका कलाकारहरू छन् ।
दर्पण छायाँ (२००१)

दुई साथीहरूले एउटै केटीलाई प्रेम गर्दा के हुन्छ ? यसको उत्तर तुलसी घिमिरे निर्देशित ‘दर्पन छायाँ’मा देखाइएको छ । यो फिल्मले त्यस्तो अवस्थामा गरिने प्रेमको जटिलतालाई देखाएको छ । मित्रता र प्रेम बीचको द्वन्द्व, त्याग र भावनालाई फिल्मलाई सुन्दर तरिकाले चित्रण गरिएको छ । यो फिल्मले कुसुमे रुमालको रेकर्ड तोडेर नेपाली सिनेमाको सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो । यो फिल्मको ‘लहनाले जुरायो कि…’ बोलको गीत निकै चर्चित छ । फिल्ममा दिलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंह लगायतका कलाकारले अभिनय गरेका छन् ।
सम्झना (१९८३)

नेपाली सिनेमाको ‘गोल्डेन कपल’ भुवन केसी र तृप्ती नाडाकरको अभिनय गरेको यो फिल्मलाई शम्भु प्रधानले निर्देशन गरेका छन् । निकै हृदयस्पर्शी रहेको यो फिल्ममा शीर्ष नाम झैं यसमा सम्झनाको महत्व देखाइएको छ । रञ्जित गजमेरको संगीत र गीतहरूले फिल्मलाई अझै पनि जीवन्त बनाएका छन् । फिल्ममा कथा वाचन शैलीमा पुरानो स्मृतिको घटना देखाइएको छ । कसरी त्यसबेलाको प्रेमले जीवन परिवर्तन गरायो ? भन्ने पाटो फिल्मको मुख्य कुरो हो ।
प्रतिक्रिया 4