२९ माघ, काठमाडौं । निर्वाचन आयोगले मतदानका दिन मतदान गर्न जाँदा आवश्यक कागजात लिएर जान आग्रह गरेको छ ।
आयोगका अनुसार मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लैजानुपर्छ । मतदाता परिचयपत्र नभए निर्वाचन आयोगले तोकेकामध्ये अन्य कुनै एक कागजात लिएर गएपनि हुन्छ ।
नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा पनि मतदान गर्न पाइन्छ ।
मतदान स्थलमा पुगेपछि मतदान कार्यमा खटिएका कर्मचारीलाई आफ्नो मतदाता परिचयपत्र वा आयोगले तोकेको कागजात देखाउनुपर्छ ।
गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न दिने गरी आयोगले व्यवस्थापन गरेको छ ।
आम मतदाताहरू भने महिला भए महिलाको र पुरुष भए पुरुषको लागि तोकिएको अलग–अलग लाइनमा बस्नुपर्ने हुन्छ ।
देब्रे हातको बुढी औंलाको नङ र मासुको बीचमा पर्ने गरी मसी लगाउन दिएपछि मतदान गर्न पाइन्छ ।
प्रतिक्रिया 4