+
+
Shares

चीनमा बन्यो न्यानो छाला भएको सुन्दरी रोबोट, मान्छेले झैँ झिम्क्याउँछ आँखा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते ११:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको साङ्घाईमा सार्वजनिक गरिएको मोया नामक रोबोटले मानिसजस्तै हिँडडुल र व्यवहार देखाउने भएकाले चर्चा पाएको छ।

चीनको साङ्घाईमा सार्वजनिक गरिएको मोया नामक नयाँ रोबोट अहिले व्यापक चर्चामा छ । यो रोबोट केवल हिँडडुल गर्नसक्ने भएकाले मात्र चर्चित बनेको होइन । मानिसजस्तै देखिने र मान्छेले जस्तै व्यवहार देखाउने भएकाले यसको चर्चा चुलिएको हो ।

झ्वाट्ट हेर्दा यो रोबोट कुनै मेसिनभन्दा मानिसकै स्वरुपजस्तो लाग्छ । आँखा झिम्काउने कला, टाउको हल्लाउने शैली र हल्का मुस्कानजस्ता संकेतहरूले यसलाई अन्य आम रोबोटहरूभन्दा फरक बनाएको छ ।

मोयाको डिजाइन नै यसरी गरिएको छ कि यसको सामुन्ने उभिएको व्यक्तिलाई मेसिन होइन कि एक सुन्दर युवतीको अगाडि उभिइरहेको अनुभूति हुन्छ । अझ यसको छाला हल्का न्यानो बनाइएको छ । त्यसैले यो रोबोट हेर्दा मात्र होइन छुँदा पनि मानिसकै जस्तो स्पर्श अनुभूति हुन्छ । नजिक उभिएर कुरा गर्दा यसले आँखामा आँखा जुधाउँछ र कुरा गरिरहेको व्यक्तितर्फ ध्यान केन्द्रित गर्छ ।

यस्तै ससाना मानवीय व्यवहारहरूले गर्दा मेयाले सबैलाई चकित बनाएको छ । किनकि सामान्यतया रोबोटहरूमा यस्तो स्वाभाविक व्यवहार देखिँदैन ।

यस रोबोटभित्र क्यामेरा र सेन्सर जडान गरिएका छन् जसले अगाडि उभिएको व्यक्तिको अनुहार र चालढाल पहिचान गर्छन् । यही कारणले यसलाई बायोमेट्रिकमा आधारित रोबोट पनि भन्ने गरिएको छ । आफ्नो अगाडिको व्यक्तिको चालढाल क्याप्चर गरेसँगै यसको एआई प्रणालीले ती डाटालाई प्रोसेस गर्छ र त्यसकै आधारमा रोबोटका आँखाको संकेत, अनुहारका भाव र शरीरको कम्पन निर्धारण हुन्छ ।

बाहिरबाट हेर्दा यो सबै स्वाभाविक देखिन्छ तर वास्तविकतामा भने यसले पहिल्यै तय गरिएका ढाँचा अनुसार नै काम गरेको हुन्छ । वास्तवमा यो रोबोटले आफैं केही महसुस नगरी प्राप्त डाटाका आधारमा प्रतिक्रिया दिने गर्दछ ।

मोयाको यस्तो मानवरूपी व्यवहारले अहिले नयाँ बहस जन्माइरहेको छ । धेरैले यसलाई वृद्धहरूको हेरचाह, अस्पताल वा ग्राहक सेवा जस्ता क्षेत्रमा उपयोगी हुन सक्ने बताइरहेका छन् । त्यस्ता ठाउँमा मेसिन नै भए पनि यदि मानिसजस्तै लाग्यो भने सेवाग्राहीलाई सहज अनुभूति हुन सक्छ ।

रोबोट पार्टनर कि साथी ?

सामाजिक सञ्जालमा केही मानिसहरूले यसलाई कम्प्यानियन अर्थात भावनात्मक साथ दिने रोबोटको रूपमा हेर्न थालेका छन् । यो रोबोटको छाला न्यानो हुनु, मानिसले जस्तै गरी आँखाले हेर्नु तथा प्रतिक्रिया दिने हुनाले मानिसमा यसप्रति अपनत्वको अनुभूति हुन थाल्छ ।

कतिपयको आशंका के पनि छ भने यस्ता खालका रोबोटका कारण मानिसहरू अब मेसिनहरूसँग भावनात्मक सम्बन्ध गाँस्ने दिशातर्फ अघि बढिरहेका छन् ।

यद्यपि प्राविधिक रूपमा हेर्दा मोया अझैपनि मानिसको सोँचसँग उति निकट पुगिसकेको छैन । यसले अनुहारका हाउभाउ र आवाजको टोन चिन्न सक्छ । तर सन्दर्भ र भावनालाई गहिराइमा बुझ्नु अहिले पनि मेसिनका लागि चुनौतीपूर्ण छ ।

कुनै मानिसको उदासी, रिस वा खुसी केवल अनुहार हेरेर बुझ्न सजिलो हुँदैन । त्यसैले मोयाजस्ता रोबोटहरूको प्रभावकारीता हाल सीमित हुनेछ ।

त्यसैले यस्तो प्रकारका ह्युमनोइड रोबोटहरू तत्काल घरघरमा देखिने कुरा अहिलेका लागि टाढाको विषय हो । किनकि यस्ता रोबोटको निर्माण खर्चिलो हुन्छ र विशेष हार्डवेयर, सेन्सर तथा एआई प्रणाली आवश्यक पर्छ ।

सुरुमा यिनको प्रयोग अनुसन्धान, अस्पताल वा विशेष सेवा क्षेत्रमा नै बढी देखिन सक्छ । प्रविधि बिस्तारै सस्तो बन्दै गएपछि मात्र यो आम मानिससम्म पुग्ने सम्भावना छ ।

तर यथार्थ के हो भने मोया जस्ता मेसिनहरूले के देखाएका छन् भने रोबोटिक्स अब केवल कारखाना र गोदामसम्म सीमित छैन । मेसिनहरू अब मानिसका दैनिक स्थानहरूमा प्रवेश गर्न थालेका छन् । यो ठूलो परिवर्तन हो, तर यससँगै धेरै प्रश्न पनि जोडिएका छन् ।

के मानिसजस्तो देखिने मेसिनले हाम्रो जीवन सजिलो बनाउनेछ ? कि हामी प्रविधिलाई त्यस्तो दिशातर्फ लैजाँदैछौं, जहाँ मानिसका सम्बन्धको ठाउँ मेसिनले लिन थाल्नेछन् ? मोयाका कारण पक्कैपनि यस्तो बहस सुरु भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?