+
+
Shares

भैंसी कसको ? दाँतले पत्ता लगायो असली मालिक

दुवै पक्षसँग न कागजात थियो, न भरपर्दो साक्षी । भैंसी भने शान्त रूपमा घाँस चपाउँदै विवादको केन्द्रमा उभिइरहेको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजस्थानको कोटामा हराएको भैँसीको कसको भन्ने विवाद भयो । त्यो केस प्रहरीमा पुग्यो ।
  • दन्त परीक्षणले इन्द्रजीतको भैँसी सात वर्षको भएको दाबी झुटो सावित गर्‍यो र भैँसी रामलाललाई फिर्ता गरियो।

गाउँमा कुनै किसानले पालेको भैँसी हरायो भने खोजी गरिदिनका लागि प्रहरीमा उजुरी पर्नु र प्रहरीले त्यसको खोजी गरिदिनु स्वभाविकै हो ।

तर कहिलेकाहीँ उजुरीकर्ताले बताए बमोजिमको भैँसी फेला पर्दा समेत त्यसको वास्तविक मालिक निवेदन दिने व्यक्ति नै हो कि होइन भनेर छुट्टाउन गाह्रो पर्छ। कतिपय अवस्थामा त जो चोर, उसकै ठूलो स्वर भनेझैं चोरी गरेको भैँसी गोठमा लगेर बाँध्नेले त्यो भैँसी आफ्नै भएको जिकिर गर्न सक्छ।

यस्तो अवस्थामा के गर्ने ?

हराएको भैँसी कसको हो भन्ने टुंगो लगाउने काम दाँतले पनि गर्दोरहेछ।

भारतको राजस्थानमा हालै एउटा यस्तै घटना भएको छ ।

राजस्थानको कोटामा एउटा भैँसीको वास्तविक मालिक को हो भन्ने विवाद हुँदा अन्तिम समाधान उक्त भैँसीको दाँत परीक्षण गरेर निकालिएको छ।

समाचार अनुसार रामलाल मेघवाल नामका एकजना स्थानीय बासिन्दाले आफ्नो गोठमा पालेको भैंसी र त्यसको पाडी एक महिनादेखि बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिए । केही समयपछि उनले ती पशुहरू अर्का स्थानीय इन्द्रजीत केवटको गोठमा बाँधिएको अवस्थामा देखेपछि विवादले नयाँ मोड लियो।

इन्द्रजीत केवटले त्यो भैँसी आफ्नो भएको दाबी गर्दै आफूले त्यो भैँसी दुई वर्षअघि खरिद गरेको र त्यसको उमेर करिब सात वर्ष भएको दाबी गरे । रामलालले भने आफ्नो भैंसी ४ वर्षको भएको प्रहरीसमक्ष बताए।

दुवै पक्षसँग न कागजात थियो, न भरपर्दो साक्षी । भैंसी भने शान्त रूपमा घाँस चपाउँदै विवादको केन्द्रमा उभिइरहेको थियो।

दुवै तर्फबाट कुनै भरपर्दो प्रमाण पेश नभएपछि प्रहरीले अनौठो जुक्ति लगायो । त्यो वास्तवमा वैज्ञानिक र व्यावहारिक उपाय थियो ।

भैँसीको स्वामित्व विवादको निरुपणका लागि एउटा पशु चिकित्सक बोर्ड गठन गरी त्यस भैंसीलाई परीक्षणका लागि पठाइयो । चिकित्सकहरूले भैंसीको दाँत, शरीरको बनावट र विकास अवस्था अध्ययन गरे ।

नतिजा चाखलाग्दो रह्यो। दन्त परीक्षणबाट पत्ता लाग्यो कि त्यो भैँसीको उमेर चारदेखि पाँच वर्षको बीचमा थियो ।

आखिर ढाँटेको कुरा कहाँ टिक्थ्यो र ? त्यो भैँसी सात वर्ष उमेरको भएको र आफूले २ वर्षअघि किनेको भन्ने इन्द्रजीतको जिकिर दाँतले नै झुटो सावित गरिदियो ।

यो सँगै प्रहरीले पनि दन्त चिकित्सकको निर्णयलाई स्वीकार गर्यो । अन्ततः सो भैंसी र त्यसको पाडी उसको वास्तविक धनी रामलाललाई फिर्ता गरियो र विवाद टुंगियो।

यो घटनाले देखाएको छ कि कहिलेकाहीँ अदालत, कागज र बयानभन्दा पशुको दाँत नै सबैभन्दा भरपर्दो साक्षी बन्न सक्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?