+
+
Shares

दीपमाला बनिन् ‘मिस नेपाल २०२६’ मा छनोट हुने पहिलो प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपमाला खरेलले 'मिस नेपाल हङकङ २०२६' को उपाधि जितेर 'मिस नेपाल २०२६' मा सीधै प्रवेश पाएकी छन्।
  • मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले खरेलले छनोटका मापदण्ड पूरा गरेको बताए।
  • खरेल विश्वकै ठूला लगानी कम्पनी ब्ल्याक-रकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छिन् र हङकङकी म्याराथन धाविका पनि हुन्।

काठमाडौं । दीपमाला खरेल ‘मिस नेपाल २०२६’ मा छनोट हुने पहिलो प्रतिस्पर्धी बनेकी छन् । ‘मिस नेपाल हङकङ २०२६’ को उपाधि जितेसँगै उनी मिस नेपालमा सीधै प्रवेश गरेकी हुन् ।

यी दुई सौन्दर्य प्रतियोगिताबीच केही वर्षदेखि यस्तो समझदारी छ । विहिबार हङकङको इटन होटलमा आयोजित फिनालेमा मिस नेपाल २०२४ आश्मा केसीले ताज पहिर्‍याइदिएकी थिइन् ।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले अनलाइनखबरलाई बताएअनुसार खरेलले मिस नेपालमा छनोट हुन योग्यताका मापदण्ड पूरा गरेकी छन् ।

मापदण्ड पूरा गरेसँगै उनलाई प्रतिस्पर्धामा सहभागी गराइने कंशाकारको भनाइ छ ।

मिस नेपाल हङकङ जितेपछि खरेलले भनेकी छन्, ‘म धेरै खुसी छु । अब मलाई नयाँ जिम्मेवारी आएको जस्तो लागेको छ । हिजोसम्म म मेरो परिवारकी छोरी मात्रै थिएँ, आजदेखि म पूरै हङकङकी छोरी बनेकी छु । मिस नेपालमा प्रतिस्पर्धा गरेर हङकङको नाम उँचो बनाउनेछु । मिस नेपालको ताज जित्नु र सामाजिक काममा सक्रिय हुनु मेरो अर्को लक्ष्य हो ।’

उनी विश्वकै ठूला लगानी कम्पनीमध्ये एक ब्ल्याक-रकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छिन् । हङकङमै जन्मे हुर्केकी उनले स्नातक सकेलगत्तै काम थालेकी थिइन् ।

शिक्षा, खेलकुद, कला र व्यवस्थापन सीपको सन्तुलित संयोजनले उनलाई अरूभन्दा फरक बनाएको आयोजकहरूको भनाइ छ । उनी हङकङकी म्याराथन धाविका हुन् । तेक्वान्दो अभ्यास गर्छिन् । दक्ष कार्यक्रम सञ्चालक र वक्ता पनि हुन् । रनवे मोडलका रूपमा काम गरेकी छिन् भने हङकङ टोस्टमास्टर्सकी सदस्यसमेत हुन् ।

फिनालेमा ‘द हिडन ट्रेजर’ का अध्यक्ष अजयरत्न स्थापितले भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए । कोरियोग्राफर रचना गुरुङ पनि कार्यक्रममा पनि कार्यक्रममा सहभागी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?