+
+
Shares

‘साँढेको जुधाई, बाच्छाको मिचाई’ नहोस् भन्ने चिन्ता छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १४:२३

२९ माघ, बागलुङ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने टिप्पणी गरेका छन् ।

बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै उनले राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन गएको बताए ।

भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको उनको भनाइ छ ।

‘२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं,’ उनले भने ।

यो घटनाबाट संविधान केही हदसम्म ‘घाइते’ भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उनको भनाइ थियो ।

संयोजक प्रचण्डले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेबीचको लडाइँ भएको बताए । ‘२४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ । यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो,’ उनले भने ।

उनले विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सानो देश पनि ठूला शक्तिको प्रतिस्पर्धाका लागि दुरुपयोग हुन नहुने बताए । ‘नेपालको खनिज वा स्रोतसाधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुन सक्छ भन्ने खतरा देखिएको छ,’ प्रचण्डको भनाइ छ ।

युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह पनि गरे । ‘साँढेको जुधाई, बाच्छाको मिचाई नहोस् भन्ने चिन्ता हामीमा छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?