२८ माघ, बेनी(म्याग्दी) । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिदाँ कार्यकर्ता तहमा उत्साह पैदा भएको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले बुधबार बेनीमा आयोजना गरेको चुनाव लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यसपटक कांग्रेस र एमालेसँग समीकरण नगर्दा सिङ्गो पार्टीपंक्तिमा उत्साह छाएको महशुस गरेको सुनाए ।
‘कांग्रेस एमालेसँग मिल्ने गल्ती नगर्दा ७७ जिल्लामा नै पार्टीका नेताहरू खुसी र उत्साही भएर सक्रीयताका साथ जनतामाझ पुग्ने, उनिहरुका गुनासा, सुझाव सुन्ने, कमजोरी स्विकार्ने र गल्ती नदोहोर्याउने प्रतिवद्धता गर्ने वातावरण मिलेको छ,’ उनले भने ‘तपाईँहरू पनि यहाँ खुसी नै भएको देखेँ मैले । केमा खुसी ? भने पार्टीले अहिले कांग्रेससँग र एमालेसँग समीकरण गरेन, आफ्नै खुट्टामा एक्लै चुनाव लड्ने भनेर आँट गर्यो भन्नेमा । समाजिक सञ्जालमा मिल्न लाग्यो रे भन्ने आउँछ, तपाईँहरू झसङ्ग हुनुहुन्छ होला हैन नेतृत्वले फेरि खुट्टा छोड्छ कि क्या हो ? भनेर । म दृढताका साथ भन्न चाहन्छु हामी कसैसँग पनि यो पटक समीकरण गर्ने वाला छैनौँ, गर्दैनौँ ।’
नेपाली काँग्रेस र एमालेको महाधिवेशनले निम्ताएको अन्तरबिरोध, नेकपासँग २६ वटा वाम घटकहरुको एकता, नयाँ राजनीतिक दलहरुप्रति जनताले विश्वास गरिसक्ने अवस्था नभएकाले त्यसको फाइदा नेकपालाई पुग्ने र कार्यकर्ताहरुले अझै तीन हप्ता मेहनत गरेमा पहिलो दल बन्ने उद्घोष गरे । उनले कसैसँग नजिक र कसैलाई टाढा बनाउने भन्दा पनि सबैसँग संवाद गरिराख्ने र सन्तुलित सम्बन्ध बनाउने नीति नेकपाले लिएको बताए ।
‘कुनै एउटा पक्षसँग दुस्मनी र अरूसँग मात्रै मित्रता भन्ने तरिका नअपनाईकन राष्ट्रको पक्षमा, जनताको पक्षमा, समृद्धिको पक्षमा, भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा खडा हुनसक्ने चाहे कांग्रेसभित्र हुन्, चाहे एमालेभित्र हुन्, उनीहरूसँग सहकार्य पनि गरिराख्ने, तर अहिले समीकरण चाहिँ गर्दैनौं,’ उनले भने ‘यो चुनाव एक्लै लड्ने हामीले नीति लिएका छौँ ।’
शेरबहादुर देउवा र केपी ओलीसँग भेट्यो भन्दैमा तरंगित नहुन कार्यकर्तालाई आग्रह गरे । राष्ट्रलाई एकताबद्ध गर्ने र राष्ट्रलाई अर्को दुर्घटनामा पर्नबाट जोगाउने मुख्य जिम्मेवारी नेकपाकै भएको प्रचण्डको दावी छ । म्याग्दीको छिमेकी पुर्वी रुकुमबाट उमेद्वार बनेका प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा जाने क्रममा पोखरा हुदै कार्यकर्ताहरुलाई प्रशिक्षण दिन बेनी पसेका हुन् ।
(प्रचण्ड)ले म्याग्दीको बेनी देखि ढोरपाटन हुँदै रुकुम जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बैकल्पिक सडक बनाउने र छ वर्षअघि हिमाली जिल्लामा सूचिकृत म्याग्दीमा हिमाली जिल्ला अनुसारको सेवा सुविधा कार्यान्वयनमा पनि ल्याउने प्रतिवद्धता जनाए ।
‘बेनी देखि दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन हुदै रुकुम जोड्ने सडक मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ६५–७० किलोमिटर छोटो पर्ने भएकाले पुर्वी रुकुमको उमेद्वार भएको नाताले पनि यसमा मेरो प्राथमिकता हुनेछ,’ उनले भने ‘छ वर्षअघि हिमाली जिल्लामा सूचिकृत भएको म्याग्दीमा हिमाली जिल्लाको मापदण्ड लागू गराउन मेरो पहल रहने विश्वास दिलाउन चाहन्छु ।’
असहज परिस्थितिमा बडो असाधारण सन्दर्भमा नेपालमा निर्वाचन हुन लागेको बताउदै प्रचण्डले आसन्न निर्वाचनलाई सामान्य नसोच्न कार्यकर्तालाई आग्रह गरे । आसन्न चुनावमा ठूला सभा र औपचारिक कार्यक्रममा भन्दा बढी मतदातासँग भेटघाट र सामाजिक सञ्जालको प्रयोगमा जोड दिन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए ।
म्याग्दीमा नेकपाबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार अर्जुन थापाले भौतिक पूर्वाधारको जगमा म्याग्दीलाई कृषि, पर्यटन र जलविद्युत क्षेत्रको सम्भावना मार्फत विकसित र सम्बृद्ध बनाउने योजना रहेको बताए ।
‘केन्द्रिय राजनीतिमा म्याग्दीको पहुँच बढाउने, नीति, नियम, बजेट र योजनामा म्याग्देलीको भावना, माग र आवश्यकतालाई सम्बोधन गराउन म उमेद्वार बनेर आएको छ,’ उनले भने ‘पूर्वाधार, जलविद्युत, पर्यटन र कृषि मार्फत म्याग्दीलाई सम्बृद्ध र विकसित बनाउने हाम्रो योजना छ ।’
नेकपाका नेता गोविन्द पौडेलले म्याग्दीका छ वटै स्थानीय तह र ४५ वटै वडा तहमा घरदैलो गरेर चुनाव प्रचारमा जुटेको जानकारी दिए । उनले म्याग्दीका विकासका मुद्दामा संयोजक प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया 4