+
+
Shares

आपराधिक गतिविधिमा संलग्नमात्रै लिस्वन एयरपोर्टमा रोकिए, अरू सहजै दशैंमा नेपाल फर्कन सक्ने

लिस्वन एयरपोर्टमा रोकिनेमा केही न केही आपराधिक गतिविधिमा संलग्न नेपाली थिए । तर उनीहरूले आफू सेङ्गेन क्षेत्रभन्दा बाहिरबाट यहाँ आई बसेका कारण अध्यागमनले रोकेको गलत हल्ला फिँजाइदिए ।

कपिलदेव खनाल कपिलदेव खनाल
२०८२ असोज ५ गते २१:२४
तस्वीर : एआईको सहयोगमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्वतका अर्जुन रोक्काले पोर्चुगलबाट नेपाल जान लागेको बेला एयरपोर्टमा टीआरसी खारेज भएको गलत हल्लाका कारण यात्रा रद्द गरे।
  • लिस्वन एयरपोर्टमा सेङ्गेन क्षेत्रभन्दा बाहिरबाट आएका १२ जना एसियाली नागरिकलाई अध्यागमनले रोक्दा उनीहरू आपराधिक गतिविधिमा संलग्न भएको पाइएको छ।
  • पोर्चुगलका पूर्वपर्यटनदूत रमेशराज बास्तोलाले टीआरसी खारेज नभएको र रोकिएका व्यक्तिहरू आपराधिक संलग्नता कारण नियन्त्रणमा रहेको स्पष्ट पारे।

५ असोज, लिस्वन (पोर्चुगल) । पर्वतका अर्जुन रोक्का बिहीबार पोर्चुगलबाट नेपाल जाँदै थिए । बेलायत हुँदै पोर्चुगल प्रवेश गरेका रोक्काले ४ वर्षपछि नेपाल जान कामबाट २४ दिनको बिदा मिलाएका थिए ।

बिहीबार बेलुका ९:१५ बजे टर्किस एसरलाइन्सबाट उड्न ठिक्क परेका उनले अचानक यात्रा रद्द गरे । कारण थियो, बुधबार लिस्वन एयरपोर्टमा सेङ्गेन क्षेत्रभन्दा बाहिरका देशबाट पोर्चुगल प्रवेश गरेकाहरूको आवास अनुमतीपत्र (टीआरसी) अध्यागमन विभागले एयरपोर्टमै खारेज गरिदिएको खबर ।

केही नेपालीसहित १२ जना एसियाली नागरिकलाई परेको उक्त समस्या आफूलाई पनि पर्न सक्ने भएकोले उनी नेपाल गएनन् ।

तर, शनिबार बिहान उनी छाँगाबाट खसेको जस्ता भए, जब ती १२ जना प्रचार गरिएको जस्तो नभई अन्य कारणले एयरपोर्टमा रोकिएका थिए । मङ्गलबार र बुधबार लिस्वन एयरपोर्टमा रोकिनेमा केही न केही आपराधिक गतिविधिमा संलग्न भएकाहरू थिए । तर उनीहरूले आफू सेङ्गेन क्षेत्रभन्दा बाहिरबाट यहाँ आई बसेका कारण अध्यागमनले रोकेको गलत हल्ला फिँजाइदिए ।

‘चार वर्षपछि दशैं मनाउन घर जाँदै थिएँ, तर गलत हल्लाका कारण समस्यामा परें’, रोक्का भन्छन्, ‘नेपाल जानका लागि दुई हजार युरो खर्च गरिसकेको थिएँ । अब त्यसबाट टिकटको केही पैसा मात्रै फिर्ता हुने भएको छ ।’

उनले दुईतर्फी टिकट एक हजार ३१० युरो (करिब दुई लाख १० हजार रुपैयाँ) मा खरिद गरेका थिए । आफन्त घरपरिवारका लागि सामान समेत खरिद गरेका थिए । अब त्यसबाट उनले टिकटले ७०० युरो (करिब एक लाख १२ हजार रुपैयाँ) मात्रै फिर्ता पाउने छन् । त्यो पनि ४० दिनपछि ।

उनी भन्छन्, ‘पैसा त खेर गयो, मुख्य समस्या- अब एक वर्षपछि मात्रै मैले कामबाट लामो छुट्टि लिनसक्छु । अहिले लिएको छुट्टि सदुपयोग गर्न सकिनँ ।’

लामो समयपछि दशैंकै लागि भनेर घर जान लागेका रोक्का जस्ता धेरै नेपाली भ्रमपूर्ण सूचनाका कारण पीडित भएका छन् । हल्ला फिँजिएको बुधबारदेखि वास्तविकता बाहिर आएको शनिबार बिहानसम्म धेरै नेपालीले घर जाने योजना स्थगित गरे ।

विशेषगरी दशैं, तिहार र छठ पर्व लक्षित गरेर नेपाल जान टिकट किनेका धेरै नेपालीले टिकट क्यान्सिल गरेका छन् ।

सेङ्गेन भिसाविना पोर्चुगलमा टीआरसी बनाएका आप्रवासीको संख्या अधिक छ । हल्ला चलाइएजस्तो सेङ्गेन भिसाविनाको टीआरसी एसरपोर्टमै खारेजी प्रक्रियामा जाने भएपछि घर जाने तयारीमा रहेका सबैले टिकट रद्द गरेका थिए ।

के भएको थियो ?

बुधबार लिस्वनस्थित एयरपोर्टबाट बाहिरिँदै गरेका केही एसियाली नागरिकलाई यहाँका अध्यागमन अधिकारीहरूले रोके । बिहान १०:५५ बजेको उडानबाट पोर्चुगल छाड्न लागेकामध्ये १२ जनालाई प्रहरीले रोकेका थिए ।

रोकिएकामध्ये केही नेपालीले पहिला पोर्चुगलका लागि नेपाल सरकारका पूर्वपर्यटनदूत रमेशराज बास्तोलासँग सम्पर्क गरे । उनीहरूले सेङ्गेन भिसा नलिई पोर्चुगल प्रवेश गरेकोले यहाँको टीआरसी भए पनि त्यो मान्य नहुने, नेपाल जान पाउने तर फर्कन नपाउने भन्दै टीआरसी नै खारेजी प्रक्रियामा हालेको बास्तोलालाई जानकारी गराए ।

बास्तोलाले तत्कालै सामाजिक सञ्जालमार्फत नेपालीलाई सचेत रहन र समन्वयको भूमिका खेल्न नेपाली राजदूतावासलाई आग्रह गरे । त्यसपछि भुसको आगोझैं फैलिएको यो खबरले नेपाली मात्र नभई पोर्चुगलमा रहेका सबै देशका आप्रवासीबीच तरंग पैदा भयो ।

एयरपोर्टमै रोकिएको अवस्थामा नेपाली गैरआवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन-एनसीसी) पोर्चुगलको सम्पर्कमा एकजना पुगे । दीपा काफ्लेले विज्ञप्ति जारी गरेर उक्त घटनाको पुष्टि गरेसँगै लिस्वनमा रहेको नेपाली राजदूतावासले समेत यस विषयमा बुझ्न यहाँको आधिकारिक निकायमा इमेल गर्‍यो ।

बिहीबार दिउँसो अनलाइनखबरसँग नेपाली राजदूतावासका प्रथम सचिव रामबाबु नेपालले यस विषयमा आधिकारिक जानकारी अध्यागमन विभागबाट आइनसकेको बताएका थिए । ‘घटनाको बारेमा हामीलाई जानकारी आउने वित्तिकै के भएको हो भनेर यहाँको आधिकारिक निकायलाई इमेल गरेका छौं’, नेपालले भने ।

डेढ वर्ष अघिसम्म सक्रिय रहेको आप्रवासीसम्बन्धी पोर्चुगलको कानुनअनुसार यही देशको भिसामा आएकाहरूले तीन वटा, सेङ्गेन मुलुकको भिसामा आएकाले ६ वटा र बाहिर देशबाट वा जुनकुनै रूपमा आएकाहरूले १२ वटा कर यहाँको सरकारलाई कामदारको रूपमा तिरेपछि अस्थायी आवास अनुमतीपत्र (टीआरसी) पाउने व्यवस्था थियो ।

यसरी प्राप्त गरेको टीआरसी बुधबार भनिएजस्तो कारणले जफत हुने वा रद्द गर्ने कानुनी प्रक्रियामा जाने विषय थिएन । तर बुधबार मात्रै १२ जना र मंगलबार ६ जना गरी १८ जनालाई लिस्वनस्थित एयरपोर्टमा अध्यागमनका अधिकारीहरूले नियन्त्रणमा लिए ।

के हो वास्तविकता ?

पोर्चुगलका लागि नेपाल सरकारका पूर्वपर्यटनदूत रमेशराज बास्तोलाले शनिबार साँझ अनलाइनखबरसँग कुराकानी गर्दै आफूलाई ती नेपालीले गलत सूचना दिएको बताए ।

‘अध्यागमनले रोकेर यतै फर्काएपछि उनीहरूलाई लाज भएछ र गतिलो बहाना बनाउन खोज्दा धेरैलाई समस्या पर्‍यो,’ बास्तोलाले भने, ‘सेङ्गेन भिसा नभएका कारण उनीहरूलाई रोकेको वा नियन्त्रणमा लिइएको होइन रहेछ । कोहीको कार्डमा त्रुटि थियो भने केही आपराधिक क्रियाकलापमा संलग्न भएकोले नियन्त्रणमा लिइरहेको रहेछ ।’

तीन महिनाअघि पोर्चुगल प्रहरीले आफ्नै सरकारी अधिकारीसहित केही विदेशी नागरिकलाई नक्कली कागजात बनाउँदै गरेको प्रमाणसहित पक्राउ गरेको थियो । विभिन्न देशका दूतावासहरूको छाप आफैं लगाउनेदेखि थुप्रै देशका नक्कली प्रहरी रिपोर्ट लिस्वनमै तयार गर्ने केही व्यक्तिलाई हिरासतमा राखेर कानुनी कारबाही गरिरहेको छ ।

उक्त घटनाको मुख्य आरोपीका रूपमा तीन जना नेपालीसमेत अहिले पोर्चुगिज जेलमा छन् । नेपाल सहितका दक्षिण एसियाली मुलुकका केही नागरिक अझै फरारको सूचीमा छन् । सो घटनामा पक्राउ पर्न बाँकी रहेका ६० जनामध्येका एक जना बुधबार बिहान एयरपोर्टबाट बाहिरिँदै गर्दा अध्यागमनले प्रहरीको जिम्मा लगायो ।

नक्कली कागजातको उक्त आपराधिक कार्यमा संलग्न भनेर किटान भएका बाहेकका आशंका मात्रै गरिएकाहरूको सूची पनि प्रहरीले तयार गरेर देश छाड्न सक्ने भन्दै अध्यागमन विभागलाई सूचित गरेको छ । बुधबार त्यही आंशकामा परेका अर्का एक व्यक्ति पनि एयरपोर्टमा भेटिएपछि अध्यागमन अधिकारीहरूले अनुसन्धानका लागि उनलाई रोके ।

एक दक्षिण एसियाली मुलुकका एक पुरुषको यहाँको स्थानीय अदालतमा यौनजन्य हिंसासम्बन्धी मुद्दा चलिरहेको छ । महिलामाथि यौनजन्य हिंसा गरेको मुद्दा खेपिरहेका उनी एक पटक पनि अदालत हाजिर भएका छैनन् । धेरै पटक अदालतमा हाजिर हुन उपत्राचार भए पनि ती व्यक्ति सम्पर्कमा गएका थिएनन् । उनलाई अध्यागमनका अधिकारीहरूले एयरपोर्टमै प्रहरीको जिम्मा लगायो । अहिले उनी प्रहरी हिरासतमा छन् ।

एक नेपालीले सेङ्गेन क्षेत्रको अर्को देशमा पनि अस्थायी बसोबासको कागजी प्रक्रिया अगाडि बढाएर पोर्चुगलमा टीआरसी लिएका कारण उनलाई नेपाल जान पाउने तर फर्कन नआउने भन्दै अध्यागमन अधिकारीहरूले सूचित गरे ।

अर्का एक नेपालीको अस्थायी अवास अनुमतीपत्रमा लिङ्ग पुरुष हुनुपर्नेमा महिला भएकोले रोकिएको पाइएको छ । उनलाई अध्यागमनका अधिकारीहरूले पोर्चुगलबाहेक अन्य देशको सुरक्षा जाँचमा त्यसले समस्या पार्नसक्ने भएकोले नजान भनेका थिए ।

यस्तै अर्का एक जना नेपाली सोही जहाजमा नेपाल जानुपर्नेमा ढिला पुगेका कारण फ्लाइट छुटाएर उनी पनि एयरपोर्टबाटै फर्किनुपर्‍यो ।

‘संयोग कस्तो पर्‍यो भने ती सबैको एउटै फ्लाइटमा छानबिन भयो र सबै जना सन् २०१९ देखि २०२२ सम्म सेङ्गेन भिसाविना पोर्चुगल आएकाहरू परेछन्,’ बास्तोला भन्छन्, ‘हामीले वकिल लगाएर बुझ्दा यी सबै वास्तविकता बाहिर आयो ।’ अहिले टीआरसीका भएका आप्रवासीहरूलाई आवातजावत गर्न पोर्चुगलमा कुनै समस्या नभएको उनी बताउँछन् ।

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?