+
+
Shares

पोर्चुगलमा नेपाली दूतावासको एक वर्ष : कूटनीतिक कार्य र सेवाप्रवाहको ग्राफ उच्च

१ सेप्टेम्बर १९७६ मा नेपाल र पोर्चुगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । लिस्बनमा ३१ मार्च २०२५ मा नेपाल सरकारले राजदूतावास स्थापना गरेको थियो भने १६ अप्रिल २०२५ बाट सेवा प्रवाह थालेको थियो ।

कपिलदेव खनाल कपिलदेव खनाल
२०८३ वैशाख ५ गते १९:२०

५ वैशाख, लिस्बन । युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भई सेवा प्रवाह थालेको एक वर्ष पूरा भएको छ । लिस्बनस्थित नेपाली राजदूतावासले कार्यविवरण सार्वजनिक गर्दै एक वर्षको अवधिमा राजदूतावासले कूटनीतिक कार्यका साथमा नेपाली नागरिकहरूको सेवा प्रवाहमा उल्लेखनीय काम गरेको उल्लेख गरेको छ ।

यसअवधिमा ३५ हजारभन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष सेवा दिएको राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए । उनका अनुसार नयाँ राहदानी, राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, शैक्षिक तथा पारिवारिक कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा र यात्रा अनुमतिपत्रलगायत सेवामा ३५ हजार ७८९ जना नेपालीले सेवा लिएका छन् ।

एक वर्षमा कन्सुलरतर्फ दिइने यो सेवा असाध्यै उच्च रहेको राजदूत पौडेलले बताए । ‘यसका लागि हामीले पोर्चुगलका विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालनदेखि बिदाको दिन र कार्यालय समयभन्दा बाहिर पनि काम गरेका छौँ,’ पौडेलले भने ।

१ सेप्टेम्बर १९७६ मा नेपाल र पोर्चुगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । लिस्बनमा ३१ मार्च २०२५ मा नेपाल सरकारले राजदूतावास स्थापना गरेको थियो भने १६ अप्रिल २०२५ बाट सेवा प्रवाह थालेको थियो । दैनिक कार्य थालनी गरे पनि नियोग कार्यालयको औपचारिक उद्घाटन भने करिब दुई महिनाअघि (२० फेब्रुअरी २०२५ मा) मात्रै भएको हो । नेपाली राजदूतावास स्थापना हुनुपूर्व पोर्चुगलसम्बन्धी मामिला फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासले हेर्दै आएको थियो ।

काठमाडौँमा पोर्चुगलको अवैतनिक महावाणिज्य दूतावास कार्यालय रहे पनि हालसम्म पोर्चुगल सरकारले नेपालसम्बन्धी मामिला भारतको नयाँ दिल्लीस्थित पोर्चुगिज दूतावासबाट सम्पादन गर्दै आएको छ । तर दुई साताअघि पोर्चुगलको विदेश मन्त्रालयले नेपालमा कूटनीतिक नियोग स्थापना गर्ने घोषणा गरेको छ ।

दूतावासबाट नेपालीहरूले सबैभन्दा बढी प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरणसम्बन्धी सेवा लिएका छन् । नियोग उपप्रमुख तथा प्रवक्ता शत्रुध्वन पोखरेलका अनुसार एक वर्षको अवधिमा २३ हजार ७८९ जनाको प्रहरी रिपोर्ट प्रमाणीकरण गरिएको छ । दूतावासबाट ५ हजार ७९६ जना नेपालीले राहदानी लिएका छन् । राहदानी सेवाका लागि पोर्चुगलमा रहेका नेपाली मात्रै नभई अन्य युरोपेली देश माल्टा र स्पेनमा रहेका नेपालीसमेत लिस्बन आएको नियोग उपप्रमुख पोखरेलले बताए ।

साथै, १०९ जनाको यात्रा अनुमतिपत्र दूतावासबाट जारी भएको छ । शैक्षिक प्रमाणपत्र, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरणको काम ५ हजार ६५५ वटा भएको बताइएको छ । साथै ४१४ वटा अधिकृत वारेसनामाको कामसमेत भएको पोखरेलले बताए ।

दूतावासमा आर्थिक मामिला हेरिरहेका अनिल रानाका अनुसार एक वर्षको अवधिमा दूतावासले करिब ५२ करोड ३० लाख नेपाली रुपैयाँ (२९ लाख ९० हजार युरो) राजस्व सङ्कलन गरेको छ । जसमा प्रहरी रिपोर्ट प्रमाणीकरणबाट बढी राजस्व सङ्कलन भएको छ ।

यसबीचमा, विभिन्न घटनाक्रममा पोर्चुगलमा ज्यान गुमाएका २६ जना नेपालीको शव फिर्तामा समेत सेवा पुर्‍याएको दूतावासले जनाएको छ । दूतावासका प्रथम सचिव रामबाबु नेपालका अनुसार यहाँ निधन भएर नेपालमा काजकिरिया गर्न चाहने तर आर्थिक समस्याका कारण रोकिएकाहरूलाई सहयोग प्रदान गरिएको हो ।

बेवारिसे रूपमा सडकमा सुत्दै आएका सात जना नेपालीको समेत उद्धार गरेर आफन्तको जिम्मा लगाई दूतावासले नेपाल फर्काएको छ ।

कूटनीतिक कार्यमा महत्त्वपूर्ण उपलब्धि पोर्चुगलमा नेपाली राजदूतावास स्थापनापछि नेपाल र नेपालीको प्रवर्द्धनात्मक कार्यका साथमा आर्थिक कूटनीतिसम्बन्धी पहल, पोर्चुगिज सरकार र मातहतका निकायसँग समन्वय तथा द्विपक्षीय सम्बन्ध विस्तारको काम पनि अगाडि बढेको छ ।

दुई महिनाअघि (२० फेब्रुअरी २०२५ मा) नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको पोर्चुगल भ्रमणबाट आठ वर्षपछि दुई देशबिचको औपचारिक भ्रमणको सुरुवात भएको छ । सन् २०१८ मा नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भ्रमणपछि यो नै नेपालको तर्फबाट भएको औपचारिक भ्रमण हो ।

राईको उक्त भ्रमणका कारण आठ वर्षअघि स्थापना भएको ‘नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र’ को पहिलो बैठकसमेत बस्यो । तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा गठन भएको उक्त संयन्त्रको कुनै बैठक र छलफल भएको थिएन । नेपाली राजदूतावास स्थापनापछि मात्रै उक्त संयन्त्रको बैठक बस्न सम्भव भएको हो ।

राजदूत पौडेलका अनुसार दुई महिनाअघिको उक्त संयन्त्रको बैठक र राजदूतावासको निरन्तर आग्रहका कारण पोर्चुगल सरकार नेपालमै आफ्नो कूटनीतिक नियोग स्थापनाका लागि अग्रसर भएको छ । ‘यो उपलब्धि नेपालीका लागि र दुवै देशको आपसी सम्बन्धका लागि असाध्यै महत्त्वपूर्ण छ,’ राजदूत पौडेलले भने ।

१ अप्रिल २०२५ मा पोर्चुगिज विदेश मन्त्रालयले नेपालमा आफ्नो कूटनीतिक नियोग स्थापना गर्ने घोषणा गरेको छ । उक्त घोषणाको दुई साता नबित्दै त्यहाँका जिम्मेवार सरकारी पदाधिकारी नेपाल भ्रमणमा जाने पक्का भएको छ ।

नियोग उपप्रमुख एवं प्रवक्ता पोखरेलका अनुसार पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यसचिव डा. आना इसाबेल जेभियर नेपालको औपचारिक भ्रमणमा जाने भएकी छन् । उनको नेपाल भ्रमणको मिति यही अप्रिल २९ तारिख तय भएको बताइएको छ । उक्त भ्रमणपछि पोर्चुगल सरकारले नेपालमै आफ्नो राजदूतावास स्थापना गर्ने कार्यले गति लिने विश्वास गरिएको छ ।

पोर्चुगलको सरकारी तथ्याङ्कअनुसार त्यहाँ हाल ५८ हजार नेपाली बसोबास गर्दै आएका छन् । अनौपचारिक रूपमा भने ७५ हजारभन्दा बढी नेपाली त्यहाँ स्थायी र अस्थायी रूपमा बसोबास गर्दै आएको बताइन्छ । हजारौँको सङ्ख्यामा त्यहाँ रहेका नेपालीहरूलाई पर्ने कागजी झन्झटमा सहजीकरण गर्नसमेत नेपाली राजदूतावास अग्रसर देखिएको छ ।

कानुनी रूपमा बसोबास गर्न आवश्यक पर्ने विभिन्न कागजपत्रको दोहोरो प्रमाणीकरण गर्न भारतस्थित पोर्चुगिज दूतावास नै जानुपर्ने सास्ती यहाँ नेपाली राजदूतावास स्थापना भएपछि हट्न थालेको छ ।

त्यसका साथै अघिल्लो महिना मात्रै नेपाली राजदूतावासले नेपाली सवारी चालक अनुमतिपत्रलाई समेत त्यहाँ मान्यता दिन आग्रह गरेको छ । त्यस विषयमा समेत त्यहाँको यातायात र परिवहन हेर्ने संस्थाले आवश्यक अध्ययन र गृहकार्य थालनी गरेको छ ।

पोर्चुगलमा दूतावास स्थापना भएपछि भएको कूटनीतिक पहल र त्यसबाट प्राप्त उपलब्धिहरू नेपाल र नेपालीको पक्षमा रहेको टिप्पणी नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष केजिन राईको छ । दूतावासले काम थालेको एक वर्षकै अवधिमा कूटनीतिको क्षेत्रका साथै आफ्ना नागरिकहरूलाई यत्तिको सङ्ख्यामा सेवा दिन सामान्य मिहिनेतले नपुग्ने उनको भनाइ छ ।

‘यहाँको दूतावासले उत्कृष्ट कार्य गरेको हामीले पाएका छौँ,’ अध्यक्ष राईले भने, ‘सरकारको प्रतिनिधित्व गरेर कूटनीतिका क्षेत्रमा गर्नुपर्ने कामलाई निरन्तर गर्दै नागरिकहरूका सामान्य सास्तीहरूलाई समेत हल गर्न राजदूत तथा दूतावासका अन्य कर्मचारीहरू रातदिन खटिएको पाएका छौँ ।’

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?