+
+
Shares
जेनजी अगुवा पुरुषोत्तम यादवसँग वार्ता :

जेनजीहरू नेतृत्व लिनेगरी चुनावमा जान सक्छन्

बालेन वा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने विषयमा त्यस्तो कुनै छलफल भएको मेरो जानकारीमा छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते २१:२३

पुरुषोत्तम यादव हालैको जेन–जी आन्दोलनका अगुवामध्येका एक युवा हुन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट २३ भदौमा आन्दोलनका लागि अनुमति लिन गएका यादव जेन–जीहरूले आन्दोलनअघि नै चलाएको ‘नेपोकिड्स’ लगायत भ्रष्टाचार विरोधी अभियानमा पनि सक्रिय थिए ।  नेपालमा सत्ता परिवर्तन गर्ने गरी भएको जेन–जी आन्दोलनको पृष्ठभूमि तथा आन्दोलनले ल्याएको परिणाम र भविष्यका अपेक्षा लगायत विषयमा यादवसँग अनलाइनखबरका जनार्दन बरालले गरेको कुराकानी :

जेन–जी आन्दोलनले २७ घन्टामै मुलुकमा सत्ता परिवर्तन ग‍र्‍यो । यो एकप्रकारले सपना जस्तै भयो । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धको यो आन्दोलन कसरी शुरु भयो ?

यो आन्दोलन कुनै एक व्यक्तिको होइन, सम्पूर्ण जेन–जी (युवा पुस्ता) को आन्दोलन थियो । यो भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धको लडाइँ थियो । म व्यक्तिगत रूपमा सन् २०२३ देखि भ्रष्टाचार विरुद्ध बोल्दै आएको थिएँ । मेरो ट्विटर एकाउन्ट थियो, जसमा मैले भ्रष्टाचार विरुद्ध अनुसन्धान र अन्य विषयहरू राख्थें । आन्दोलनका क्रममा केही अवाञ्छित गतिविधि भएपछि डरले त्यो खाता डिलिट गरें । तर म बोल्न छोडिनँ ।

मेरो नोटबुकमा रेकर्डहरू छन्, मैले लगातार भ्रष्टाचार विरुद्ध बोलेको छु । भ्रष्टाचार विरुद्धमा अभियान चलाउने उद्देश्यले म सिरहाबाट काठमाडौं आएर काम शुरु गरेको थिएँ ।

मैले पहिल्यै रमेश खरेल र महावीर पुनलाई भेटेर भ्रष्टाचार विरुद्धको गैरराजनीतिक आन्दोलनको अगुवाइ गर्न आग्रह गरेको थिएँ, तर उहाँहरूले अस्वीकार गर्नुभयो ।

‘नेपोकिड्स’ अभियान संसारभर चलेको छ । नेपालमा पनि चल्यो । त्यसले भ्रष्टाचार विरोधी आवाजलाई मुखरित गर्‍यो । र, यसपटक आन्दोलनको सुरुवात सामाजिक सञ्जालबाटै भयो । शुरुमा टिकटकमा ‘वेक अप नेपाल’ अभियान शुरु भयो । हामीले भ्रष्टाचार विरुद्ध भिडियो बनायौं, जसले रातारात लाखौं लाख भ्यूज पायो ।

सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि माहोल झनै तात्यो । त्यसले आगोमा घिउ थपे जस्तो भयो । त्यसपछि इन्फ्लुएन्सरहरूले पनि भ्रष्टाचार विरुद्ध बोल्न थाले । हामीले माइतीघरमा २३ भदौमा ११ बजे आन्दोलन गर्ने घोषणा गर्‍‍यौं । त्यही अनुरूप मानिसहरू जम्मा भए र आन्दोलन शुरु भयो ।

यो आन्दोलनको योजना कसरी बन्यो ? तपाईंहरूले कसरी मान्छे जम्मा गर्नुभयो र कसरी अघि बढ्नुभयो ?

हामीले ३ दिनअघि सामाजिक सञ्जालमा आन्दोलनको घोषणा गरेका थियौं । हामीलाई लागेको थियो, २००–३०० जना आउलान् । आन्दोलनका लागि अनुमति लिन जाँदा सहायक सिडिओले मलाई सोध्नुभएको थियो, ‘कति जना आउँछन् ?’ मैले भनेको थिएँ, ‘२००/३०० जना होलान् ।’

हाम्रो योजना शान्तिपूर्ण नाराबाजी र प्रतीकात्मक विरोध गर्ने थियो । माइतीघरबाट एभरेष्ट होटलसम्म र्‍याली निकाल्ने र त्यहाँ गएर विरोध गर्ने सोचेका थियौं । मेरो व्यक्तिगत योजना माइतीघरमा एक महिना अनशन बस्ने थियो, जस्तो अन्ना हजारेले सन् २०१२/१३ मा लोकपालका लागि गरेका थिए ।

तर, जब माइतीघर पुग्यौं, त्यहाँ हजारौं मान्छे जम्मा भए । हामीले यति ठूलो भीडको अपेक्षा गरेका थिएनौं । हाम्रो आन्दोलन शान्तिपूर्ण थियो । हामीले कुनै सार्वजनिक सम्पत्ति तोडफोड गर्ने वा हिंसात्मक बनाउने मनसाय राखेका थिएनौं । हामीले संविधानको दायराभित्र बसेर भ्रष्टाचार विरुद्ध आवाज उठाएका थियौं ।

तपाईंहरूले यो आन्दोलन कुनै खास व्यक्ति वा पार्टी विरुद्ध नभई भ्रष्टाचार विरुद्ध भनेर भन्नुभयो । तर कुन बिन्दुमा यो आन्दोलन तपाईंहरूको नियन्त्रणभन्दा बाहिर गयो ?

एभरेष्ट होटल नजिक पुगेपछि हामी त्यहाँ एकछिन रोकियौं । हाम्रो योजना त्यहाँबाट पुन: माइतीघर नै फर्कने थियो । तर, त्यही बेला बानेश्वर चोकतिरबाट अर्को जुलुस आयो, बाजागाजासहित । त्यहाँ प्रहरीको ब्यारिकेड थियो, तर त्यो सजिलै तोडियो ।

यसले के देखाउँछ भने आन्दोलन व्यवस्थापनमा सरकारको खुफिया जानकारी र तयारीको कमीले यो अवस्था आयो । प्रहरीको ब्यारिकेड बलियो हुनुपर्थ्यो, पानीको फोहोरा (वाटर क्यानन) र प्रहरीको संख्या पर्याप्त हुनुपर्थ्यो । अझ संसद् भवन जस्तो संवेदनशील क्षेत्रमा यस्तो तयारी हुनुपर्थ्यो, तर भएन ।

जब ब्यारिकेड तोडियो, प्रहरी पछाडि हट्यो र भीड अनियन्त्रित भयो । हामीले रोक्न खोज्यौं, तर भीडले हामीलाई पनि कुट्न थाल्यो । हामीले ‘नगर्नुस्, नगर्नुस्’ भनेर सम्झाउने कोसिस गर्‍यौं, तर भीडले हामीलाई पनि आक्रमण गर्न थाल्यो । त्यसपछि हामी त्यहाँबाट फर्कियौं । हाम्रो कुनै खराब नियत थिएन, तर यो अवस्था सरकारको गैरजिम्मेवारी र तयारीको कमीले आयो ।

यो आन्दोलनमा ठूलो जनधनको क्षति भयो । १९ जना युवाहरू, खासगरी १८/२२ वर्षका, मारिए । यो कसरी भयो ? ती घुसपैठिया थिए कि साँच्चिकै आन्दोलनकारी ?

यो अत्यन्तै दु:खद् र दुर्भाग्यपूर्ण घटना थियो । प्रहरीले लाठीचार्ज, पानीको फोहोरा वा अश्रुग्यास प्रयोग गर्नुपर्थ्यो । तर सिधै गोली चलायो, जुन गलत थियो । यो नरसंहारको जिम्मेवारी सरकारले लिनुपर्छ । ती मरेका युवाहरू हाम्रै उमेरका थिए, कतिपय कलेजको पोशाकमा थिए ।

मलाई लाग्छ, कोही घुसपैठिया पनि थिए होलान्, तर धेरैजसो ती साँच्चिकै आन्दोलनकारी थिए, जो भ्रष्टाचार विरुद्धको भावनाले आएका थिए । सरकारले यो अवस्था किन हुन दियो ? यो प्रश्न सरकारलाई सोध्नुपर्छ । यदि सरकारले पहिल्यै तयारी गरेको भए, यस्तो अवस्था आउँदैनथ्यो । १९ जनाको ज्यान गएको दिन राति नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो । यसले झन् आक्रोशित बनायो । यो नरसंहारको जिम्मेवारी कसले लिन्छ ?

भोलिपल्ट २४ भदौमा ठूलो हिंसा भयो । प्रहरी चौकीहरू जले, सार्वजनिक सम्पत्तिमा क्षति भयो । यो अवस्था तपाईंहरूले अनुमान गर्नुभएको थियो ?

हामीले यस्तो अवस्था हुन्छ भन्ने अनुमान गरेका थिएनौं । हामीलाई लागेको थियो, शान्तिपूर्ण श्रद्धाञ्जली सभा र विरोध हुन्छ । हामीले राति नै घोषणा गरेका थियौं कि भोलि शान्तिपूर्ण रूपमा श्रद्धाञ्जली व्यक्त गर्छौं र आन्दोलनलाई घर–घरबाट अगाडि बढाउँछौं । तर, भोलिपल्ट अवस्था अनियन्त्रित भयो । पुलिस स्टेसनहरू जले, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय र नेताहरूका घरहरूमा आक्रमण भयो । यो सबै मान्छेहरूको आक्रोशको परिणाम थियो ।

सरकारले राति नै जिम्मेवारी लिएर राजीनामा गरेको भए यो अवस्था आउँदैनथ्यो । यो सबै सरकारको गैरजिम्मेवारी र संवेदनशीलताको कमीले भयो ।

तपाईंहरूको आन्दोलनको मूल उद्देश्य के थियो ? के यो आन्दोलनले तपाईंहरूको अपेक्षा पूरा गर्‍यो ?

हाम्रो माग भ्रष्टाचारमुक्त समाज थियो । हामीले चाहेका थियौं – राजनीतिक नियुक्ति बन्द होस्, अख्तियारको प्रमुखदेखि स्कूल, अस्पताल, भन्सार, प्रहरी सबै क्षेत्रमा स्वतन्त्र र योग्य व्यक्तिहरू आउन् । हाम्रो करको पैसा सही ठाउँमा प्रयोग होस् । हामीले यो देशमा इज्जतपूर्वक बाँच्न पाउनुपर्छ, युवाहरू विदेश गएर प्लेट धुन नपरोस् । हाम्रो देशमा बिजनेसको वातावरण बन्नुपर्छ, विदेशी लगानी आउनुपर्छ, जीडीपी बढ्नुपर्छ ।

अब सुशीला कार्की जस्तो भ्रष्टाचारविरोधी छवि भएको व्यक्तिलाई हामीले प्रधानमन्त्रीको रूपमा समर्थन गरेका छौं । अब उहाँले समावेशी र भ्रष्टाचारमुक्त सरकार बनाउनुहुन्छ भन्ने अपेक्षा छ ।

नेपाली सेनाले तपाईंहरूलाई वार्तामा बोलायो । त्यहाँ के भयो ?

सेनाले हामीलाई कुरा बुझ्न बोलाएको थियो । राति १२–१ बजेतिर हामी ८/१० जना गयौं । हामीले हाम्रो माग राख्यौं– भ्रष्टाचारमुक्त समाज, स्वतन्त्र र योग्य व्यक्तिहरूको नियुक्ति र देशको हितमा काम गर्ने सरकार । भ्रष्टाचार नियन्त्रण र संसद् विघटन हाम्रो शुरुदेखि नै थियो । सेनाले हाम्रो कुरा राष्ट्रपतिसमक्ष पुर्‍यायो । हामीले सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा समर्थन ग‍र्‍यौं, किनभने उहाँ कानून बुझ्ने र भ्रष्टाचारविरोधी व्यक्ति हुनुहुन्छ ।

अब हामीले उहाँलाई पूर्ण स्वतन्त्रता दिएका छौं, मन्त्री नियुक्तिदेखि अन्य निर्णयमा । यद्यपि, अहिलेसम्म सरकारले जे काम गरेको छ, जेन–जीकै सल्लाहमा भएको छ ।

सुशीला कार्की नेतृत्वको सरकारसँग तपाईंहरूको सम्पर्क कस्तो छ ?

हामी शपथ ग्रहण र बालुवाटारमा कुराकानीका लागि गयौं । प्रधानमन्त्रीले हामीलाई सरकारमा सहभागी हुन पनि भन्नुभयो, तर हामीले उहाँलाई पूर्ण स्वतन्त्रता दिएका छौं । हाम्रो माग यति हो– मन्त्रीहरू गैरराजनीतिक, स्वतन्त्र, शिक्षित र अनुभवी हुनुपर्छ । हामी उहाँको निर्णयको समर्थन गर्छौं । हामीले कुनै जबरजस्ती गरेका छैनौं ।

यो आन्दोलनमा सुदन गुरुङको भूमिका के थियो ? उहाँलाई किन अगाडि राखियो ?

सुदन गुरुङजी आन्दोलनमा गाइड र संरक्षकको भूमिकामा हुनुहुन्थ्यो । उहाँले शान्तिपूर्ण बनाउन, पानी वितरण गर्न, मेडिकल किट लिएर घाइतेहरूलाई सहयोग गर्नुभयो । उहाँ अनुभवी र सिनियर हुनुहुन्छ, त्यसैले उहाँले हामीलाई मार्गदर्शन गर्नुभयो ।

तर, यो आन्दोलनको कुनै एक नेता थिएन । यो सम्पूर्ण जेन–जीको आन्दोलन हो । सुदनजीले हामीलाई सुरक्षित राख्न र शान्तिपूर्ण बनाउन ठूलो भूमिका खेल्नुभयो ।

यो आन्दोलनको स्टेकहोल्डर कोही पनि छैन । पुरुषोत्तम यादव पनि होइन, सुदन गुरुङ पनि होइन । स्टेकहोल्डर कोही छ भने त्यो जेन–जी नै हो ।

अबको ६ महिनामा चुनाव हुँदैछ । तपाईंहरूको योजना के छ ? जेन–जीले राजनीतिक दल बनाएर चुनाव लड्छ कि कसरी अगाडि बढ्छ ?

हामीले अहिलेसम्म राजनीतिक दल बनाउने कुरा सोचेका छैनौं । तर, मलाई लाग्छ, युवाहरूले अब राजनीतिमा आउनुपर्छ । गाली गरेर मात्र हुँदैन, नेता बनेर देशलाई निकास दिनुपर्छ । त्यसो हुँदा हामी छलफलमा छौं । हामीले नेता बन्न यो आन्दोलन गरेका थिएनौं तर अब हामीलाई लागिरहेको छ कि परिवर्तनलाई संस्थागत गर्न नेता पनि बन्नुपर्छ ।

परिवर्तनका लागि आन्दोलन गरेपछि त्यसको जिम्मेवारी पनि लिनुपर्छ । तर, राजनीतिक दल बनाउने कि कसरी अघि बढ्ने भन्ने निर्णय भइसकेको छ । तर, जेन–जीहरू परिवर्तनलाई संस्थागत गर्ने नेतृत्व लिने गरी चुनावमा जान सक्छन् ।

हाम्रो लक्ष्य भ्रष्टाचारमुक्त समाज र देश बनाउने हो । अहिले हामीले सुशीला कार्कीको सरकारलाई समर्थन गरेका छौं । र, यो परिवर्तनलाई जोगाउन सबै जेन–जी एकजुट भएर अगाडि बढ्नुपर्छ ।

हामी चाहन्छौं, पुराना राजनीतिक दलहरूले आफ्नो जिम्मेवारी लिनुपर्छ । उनीहरूले राजीनामा दिएर आफूमाथि छानबिन गर्न दिनुपर्छ । यदि उनीहरू भ्रष्टाचारमुक्त छन् भने, खुल्लमखुल्ला भन्न सक्नुपर्छ, ‘मेरो विषयमा जाँचबुझ गर्नुस् !’

बालेन शाह र हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने कुरा आएको थियो । हर्क साम्पाङले त आफैंले प्रधानमन्त्री नियुक्त गर्नुपर्‍यो भन्नुभएको थियो । त्यसमा तपाईंहरूको के धारणा छ ?

बालेन वा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने विषयमा त्यस्तो कुनै छलफल भएको मेरो जानकारीमा छैन । बालेन र हर्कलाई जनताले ५ वर्षका लागि मेयरको जिम्मेवारी दिनुभएको छ । उहाँहरूले त्यही जिम्मेवारी पूरा गर्नुपर्छ । कसैले जिम्मेवारी लिन चाहेको हो भने त्यो उहाँहरूको व्यक्तिगत निर्णय हो । तर हाम्रो समूहमा यस्तो कुनै कुरा भएको छैन । हाम्रो फोकस भ्रष्टाचार विरुद्ध र परिवर्तनलाई संस्थागत गर्नुमा छ । यो बेलामा कसैले पनि राजनीति नगरिदिएको भए राम्रो हुन्थ्यो ।

अबको एक–दुई वर्ष वा पाँच वर्षमा पुरुषोत्तम यादवलाई हामी कहाँ देख्छौं ?

म नेता बन्न काठमाडौं आएको थिइनँ । म भ्रष्टाचार विरुद्ध बोल्दै आएको थिएँ । यसअघि मैले अरूलाई भेटेर भ्रष्टाचार विरुद्धको आन्दोलनको अगुवाइ गर्न आग्रह गरेको थिएँ । तर, अब युवाहरूले नेतृत्व लिनुपर्छ । यो परिवर्तनलाई जोगाउन र भ्रष्टाचारमुक्त समाज बनाउन हरेक युवाले जिम्मेवारी लिनुपर्छ । म पनि त्यसैमा लाग्नेछु । हामी सबै जेन–जी एकजुट भएर यो परिवर्तनलाई कायम राख्नुपर्छ ।

पोजेटिभ सोचौं, भ्रष्टाचार विरुद्ध बोलौं । हरेक व्यक्तिको जिम्मेवारी छ– भ्रष्टाचार गर्ने र गर्न दिने दुवैलाई रोक्नुपर्छ । यो सरकारलाई समर्थन गरौं, र ६ महिनापछिको चुनावमा भ्रष्टाचारमुक्त समाज बनाउने माहोल बनाऔं । हाम्रो नेपाल बनाउनु छ । हाम्रा दाजुभाइ विदेश जान नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?