Comments Add Comment

ललितपुरका मेयर अल्पमतमा, नीति तथा कार्यक्रम रोकियो

चिरीबाबु भन्छन्- के गर्नु, बहुमत उहाँहरुको छ

२६ असार, काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब एक साता मात्रै समय बाँकी हुँदा पनि ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रम पारित हुन सकेको छैन । महानगरले गत जेठ १० गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

अरु स्थानीय तहहरुले नीति तथा कार्यक्रम ल्याएको केही दिनमै पारित गराइसकेका छन् । ललितपुरमा भने कांग्रेस र नेकपाका जनप्रतिनिधिहरुको विवादले पारित हुन नसकेको हो ।

नीति तथा कार्यक्रम पारित गर्नका लागि ललितपुरको चौथो नगरसभा पटकपटक बसिसकेको छ । तर सहमति हुन नसक्दा त्यत्तिकै सर्दै आएको छ । मंगलबार नगरसभा बोलाइएको थियो । त्यसमा सहमति जुट्न नसकेपछि आगामी ३१ गतेलाई सारिएको महानगरले बताएको छ ।

महानगरको नगरसभा यसअघि आइतबार स्थगित भएर मंगलबार सरेको थियो । मंगलबार पनि स्थगित भएपछि आगामी आइतबारलाई बोलाइएको छ ।

चौथो नगरसभा असार १० गते बसेको थियो । मेयर महर्जनले पेश गरेको नीति तथा कार्यक्रममा नगरसभाका सदस्यहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए । संशोधनमा सहमति जुट्न नसक्दा आगामी आइतबारलाई सारिएको मेयर चिरिबाबु महर्जनले बताए । आइतबार सहमति जुट्नेमा आफू आशावादी रहेको उनको भनाइ छ ।

अल्पमतमा मेयर–उपमेयर

ललितपुर महानगरपालिकाका मेयर महर्जन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमतले थिचिएका छन् । नेपाली कांग्रेसका नेता महर्जनले ललितपुरको मेयरमा प्रतिष्पर्धीलाई ३६५ मतको झिनो अन्तरले पछि पार्दै चुनाव जितेका थिए ।

महर्जन मात्रै होइन महानगरकी उपमेयर गीता सत्याल पनि नेपाली कांग्रेसकै हुन् । कांग्रेसले स्थानीय तह निर्वाचनमा ललितपुरको मेयर, उपमेयरसहित १० वटा वडामा जित हासिल गरेको थियो । ललितपुर महानगरका २९ वडाहरु छन् । जसमध्ये १४ वटामा तत्कालीन एमाले विजयी भएको थियो ।

तत्कालीन माओवादी केन्द्र ४ वटा वडामा विजयी भएको थियो भने एउटामा स्वतन्त्र उम्मेदवार आएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्र एक भएपछि ललितपुरका १८ वडामा नेकपाका अध्यक्ष छन् । जसका कारण ललितपुरको नगर कार्यपालिकाको बहुमत मेयर तथा उपमयेरका पक्षमा छैन ।

नगर कार्यपालिका मात्रै होइन, नगरसभामा समेत नेकपाकै बहुमत छ । संघीय एवं प्रदेश संसदमा बहुमत भएकाले सरकारको नेतृत्व गर्न पाउँछन् । स्थानीय सरकारहरुको संसद भनेको नगरसभा हो । तर मेयरको पक्षमा भन्दा विपक्षमा नगरसभाका सदस्यहरु धेरै भएका कारण मेयर महर्जनले आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम पारित गराउन नसकेका हुन् ।

चालु आर्थिक वर्ष सकिन अब एक साता मात्रै समय छ । साउनदेखि नयाँ बजेट लागु हुनुपर्छ । नीति तथा कार्यक्रम नै पारित नभएपछि बजेट पारित गर्नसमेत अवरोध भएको छ ।

मेयर भन्छन्– अल्पमतमा परेपछि गाह्रो

नगरसभामा नेकपाका ९३, कांग्रेसका ४४, नयाँ शक्ति र स्वतन्त्र एक/एक सदस्य छन्  । नगरसभाका साथै कार्यपालिकामा पनि नेकपाको बहुमत छ । नेकपाका २६ जना नगर कार्यपालिकामा छन् भने मेयर र उपमेयरसहित कांग्रेसका १० जनामात्रै कार्यपालिका सदस्य रहेका छन् ।

आगामी आइतबार बस्ने नगरसभा बैठकमा नीति तथा कार्यक्रम पारित हुने आशामा मेयर महर्जन छन् । संशोधन दर्ता भएका विषयहरुमा छलफल भइरहेको भन्दै उनले नगरसभाअघि कार्यपालिका बैठक बस्ने जानकारी दिए । कार्यपालिकाले पारित गरेपछि नगरसभाले पनि पारित गर्ने उनको भनाइ छ ।

नगरसभा र कार्यपालिका दुवैमा नेकपाहरुकै बहुमत भएका कारण केही समस्या भएको उनले स्वीकार गरे । यद्यपि, सहमतिमा नै नीति तथा कार्यक्रम पारित हुनेमा आफू ढुक्क रहेको उनले अनलाइनखबरलाई बताए ।

‘नगरसभा र कार्यपालिकामा उहाँहरुकै बहुमत छ, संशोधन गरेर भए पनि पास त हुन्छ नै,’ मेयर महर्जनले भने, ‘उहाँहरुको बहुमत हुँदा गाह्रो त पर्ने नै भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment