Comments Add Comment

वीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति घुससहित पक्राउ

Photo Credit : डा. राजकुमार रौनियार

२६ असार, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई उपकुलपतिको निवास धरानबाट रंगेहात पक्राउ गरिएको हो ।

‘प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत दुई जनाले सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो’, कोइरालाले भने । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यसअघि डा. रौनियारलाई प्रतिष्ठानको सिनेट बैठकले उपकुलपति पदबाट हटाउन सरकार समक्ष सिफारिस गरेको थियो । प्रतिष्ठानमा आर्थिक अनियमितता गरेको भन्दै सिनेटबाट गठित छानविन समितिले डा. रौनियारलाई कारवाहीको सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा पदबाट हटाइएपछि डा. रौनियार सर्वोच्च अदालत गएका थिए । अदालतबाट अन्तरिम आदेश लिएर उनी पुनः पदमा बहाली भएका थिए ।

सर्वोच्च अदालतको आदेशबाट पद बहाली भएको लगभग २ महिना नबित्दै डा.रौनियार बुधबार आफ्नै आवासबाट घुस प्रकरणमा रंगेहात समातिएका हुन् ।

हेर्नुहोस् अख्तियारकाे प्रेस विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment