+
+
Shares

सप्तकोशीमा पानीबोट दुर्घटना : तीन जना अझै बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु र ३ जना बेपत्ता भएका छन्।
  • भोजपुरको हतुवागढीबाट चतरातर्फ गइरहेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
  • दुर्घटनामा घाइते मोहन सुनारको चतरा अस्पतालमा उपचार भइरहेको छ, र चालक सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

८ कात्तिक, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

दुर्घटनापछि सुनसरीको बराहक्षेत्रस्थित प्रहरी चौकीबाट खटिएको टोलीले चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पुर्‍याएको थियो ।

उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, करिब ७ वर्षीया एक बालिका र करिब ४०–५५ वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन् । उनको चतरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको धनकुटा प्रहरी प्रमुख नारायण रञ्जितकारले जानकारी दिए ।

तीन जना अझै बेपत्ता

प्रहरीका अनुसार दुर्घटनापछि झापाको कनकाई नगरपालिका–४ की निता मगरका सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।

दुर्घटनामा परेका केही व्यक्ति पौडी खेलेर तथा उद्धारपछि सकुशल घर फर्किएका छन् । प्रहरीले चालक सुमन मगरलाई नियन्त्रणमा लिएको छ । उनी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय हुन् ।

दुर्घटनापछि उद्धार तथा खोजी कार्यका लागि प्रहरी र सशस्त्रको टोली परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?