Comments Add Comment

त्रिविका उपकुलपति भन्छन् : पत्रकारले रातो प्लाइउडलाई कार्पेट देखे

२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिकोत्सवमा उपकुलपति कार्यालय र नजिक बनाइएको सरस्वतीको मन्दिर उद्घाटन कार्यक्रम राखिएको थियो । त्यस कार्यक्रमका लागि निम्त्याइएका प्रधानमन्त्री केपी शर्मा ओली हिलोमाथि बिछ्याइएको रातो कार्पेटमा हिँडेको विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।

प्रधानमन्त्रीलाई कार्यक्रमस्थलसम्म पुर्‍याउन हिलोमाथि रातो कार्पेट ओछ्याइएको थियो । आखिर त्रिभुवन विश्वविद्यालयले किन प्रधानमन्त्रीलाई नै यसरी मजाकको पात्र बनाइदियो त ? त्रिविका उपकुलपति तीर्थ खानियाँले भने रातो कार्पेट ओछ्याइएको नै स्वीकार गरेनन् । हिलोमा ओछ्याइएको कार्पेट नभएर रातो प्लाइउड भएको उनले दावी गरे ।

उनले भने ‘मैले पत्रकारिता विभाग प्रमुखलाई बोलाएर पनि सोधेँ । पत्रकारिता विषयको कोर्स पल्टाएर पनि हेरेँ । त्यहाँ प्लाइउडलाई रातो कार्पेट देख्नुपर्ने पढाइ देखिन, त्यसैले पाठ्यक्रम, पाठ्यपुस्तकमा सुधार गर्नुस् भनेर पठाएँ । ‘

खानियाँको भनाइ उनकै शब्दमा  :

सरस्वती मन्दिर उद्घाटन प्रधानमन्त्रीबाट गराउने भन्ने दाताहरुको सदीक्षा थियो । त्यस बमोजिम उहाँलाई हामीले आमन्त्रित गरेका हाैं ।

कार्यक्रमस्थल जाने बाटो पानी परेर अलिकति हिलो भएको थियो । हिलोमा त हिँडाउने कुरा भएन प्रमलाई । त्यसैले हामीले बाटोमा दुई–तीनवटा प्लाइउड ओछ्याइदिएका थियौं । तर, त्यसलाई रातो कार्पेट भनेर प्रचार गरियो । प्लाइउडलाई कार्पेट देख्ने मिडियाका कस्ता आँखा हुन् मैले बुझ्न सकेको छैन । आउँदै नआई, हेर्दै नहेरीकन पत्रकारहरुले प्लाइउडलाई कार्पेट भनेर लेखे ।

भिसी कार्यालय भवन ६–७ महिना, एक वर्ष अगाडि नै बनेको हो । तर, भवनको अगाडि भाग फ्लोरिङ भइसकेको छैन । दुई–तीन दिनदेखि झरी परिरहेको थियो । सरस्वतीको मन्दिर भवनबाट अलि टाढा बाहिर छ । त्यहाँ जानलाई प्लाइउड बिछ्याइएको हो ।

हाम्रो नयाँ भवनको छतमुनि नै प्रधानमन्त्रीको गाडी रोकिएको थियो । भवनभित्र जान हिलोमा टेक्नै पर्दैनथ्यो । तर भिसी कार्यालय बाहिर सरस्वतीको मन्दिर थियो । भिसी कार्यालयभित्रै त मन्दिर राख्ने कुरा आएन नि । त्यहाँसम्म जाने बाटोमा ओछ्याइएको प्लाइउडलाई लिएर यसरी पत्रकारहरुले भ्रामक प्रचार गर्नुभयो ।

मैले पत्रकारिता विभाग प्रमुखलाई बोलाएर पनि सोधेँ । पत्रकारिता विषयको कोर्स पल्टाएर पनि हेरेँ । त्यहाँ प्लाइउडलाई रातो कार्पेट देख्नुपर्ने पढाइ देखिन मैले । त्यसैले पाठ्यक्रम, पाठ्यपुस्तकमा सुधार गर्नुस् भनेर पठाएँ । हामीले कमिटी पनि गठन गर्दैछौं ।

अब हामी छलफलमा जान्छौं । प्रेसको स्वतन्त्रतामा हामी प्रत्यक्ष प्रवेश गर्दैनौं । तर ज्यादै धेरै नकारात्मक भयो कि जस्तो लाग्छ मलाई । मैले समीक्षा पनि गर्दैछु ।

यो विश्वविद्यालय संसारभरका एक हजारमा परेको छ । आफू पढेको विश्वविद्यालय आफ्नो आमा जस्तो हो नि । त्यो विश्वविद्यालयको खिल्ली उडाउँदा मजा मान्ने पत्रकार कसरी निकाल्नु भयो भनेर आज मैले एचओडी (विभाग प्रमुख) सोधेको छु । पत्रकारहरुको त दोषै भएन यसमा । पत्रकारहरु त हामीले जे बनायौं, त्यस्तै बने । मैले उहाँलाई पनि सोधें– यो प्लाइउड रातो कार्पेट देख्ने पढाइ कहाँनेर छ ?

रातो कार्पेटको प्रयोग चाहिँ हाम्रो घरभित्र छ । सभासदहरु हिँड्दाखेरि घरभित्र रातो कार्पेट बिछ्याउने पुरानो कुरा हो । पोहोर पनि थियो, परार पनि थियो, झन् परार पनि थियो, सधैं हुन्छ । सिनेटरहरु गाउन लगाएर हिँड्ने क्षेत्रमा रातो कार्पेट राखिन्छ ।

रातो कार्पेट हाम्रो परम्परा हो । विश्वविद्यालयले परम्परा त धान्नुपर्छ नि । रातो कार्पेट राजाको पालामा सुरु भयो होला । त्यसपछिका प्रधानमन्त्रीज्यूहरु पनि रातो कार्पेटमा हिँडे । रातो कार्पेटको बहस आआफ्नो ठाउँमा छ, गरौंला । तर, हिलोमा रातो कार्पेट ओछ्याइएको होइन । रातो, कालो, पहेँलो कस्तो रंगको थियो, तर प्लाइउड नै हो त्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment