+
+
Shares

जेनजी आन्दोलनको बलमा मेडागास्करको सत्ता सेनाको हातमा

मेडागास्करमा सेनाले सत्ता गरेपछि त्यहाँ फेरि राजनीतिक संकट गहिरिएको छ । यो संकट नयाँ भने होइन, देशको लामो इतिहासमै दोहोरिँदै आएको सत्ता संघर्ष र अस्थिर शासनको निरन्तरता हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेडागास्करमा सेनाको एलिट युनिट क्यापसाटले राष्ट्रपति एन्ड्रि रजोएलिनालाई पदच्युत गर्दै सत्ता कब्जा गरेको छ।
  • सेनाले संवैधानिक अदालत, निर्वाचन आयोग र प्रमुख लोकतान्त्रिक संस्थाहरू निलम्बनमा राखेको छ।
  • सेनाले १८ महिनादेखि दुई वर्षभित्र चुनाव गराउने वाचा गरेको छ र राष्ट्रिय सहमति कायम गर्ने जनाएको छ।

२८ असोज, काठमाडौं । जेनजी आन्दोलनपछि अफ्रिकी देश मेडागास्करमा सेनाले सत्ता हातमा लिएको छ ।

हिन्द महासागरको द्विपिय देश मेडागास्करमा राष्ट्रपति एन्ड्रि रजोएलिनालाई सत्ताबाट हटाउँदै सेनाको एलिट युनिटले शासन आफ्नो हातमा लिएको हो ।

सेनाले संवैधानिक अदालत, निर्वाचन आयोगसहित प्रमुख लोकतान्त्रिक संस्थाहरूलाई निलम्बन गरिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

कर्णेल मिकाएल रान्द्रियनिरिनाले आफ्नो ‘एलिट युनिट’ क्यापसाटले शासन नियन्त्रण लिएको बताउँदै नयाँ सरकार गठन गर्ने र सहमतिको बाटो खोज्ने बताएका छन् ।

क्यापसाट मेडागास्करको सेनाको एउटा विशेष फौजी इकाई हो । यसको पूरा अर्थ फ्रान्सेली भाषामा कोर देज अदमिनिस्ट्रात्योर ए तेक्रिस्यन दे सर्भिस अदमिनिस्ट्रातिफ ए तेक्रिक’ भनिन्छ । जसको अर्थ प्रशासनिक र प्राविधिक सेवाका अधिकृत र प्राविधिकहरूको दल भनेर बुझिन्छ ।

क्यापसाट प्रमुख रान्द्रियनिरिनाले पत्रकारहरूसँग भने, ‘हामी सरकार बनाउँछौं र राष्ट्रिय सहमति कायम गर्छौं ।’

चुनाव हुने/नहुनेबारे सोधिएको प्रश्नमा कर्णेल रान्द्रियनिरिनाले भने, ‘अवश्य हुन्छ । १८ महिनादेखि दुई वर्षभित्र हामी चुनाव गराउँछौं ।’

उनले जेनजी आन्दोलन सडकबाट सुरु भएको बताउँदै उनीहरूको मागको सम्मान गर्ने बताए । जनभावना अनुसार काम नगरेकाले सेनाले वर्तमान शासन हटाउन बाध्य भएको उनको दाबी छ ।

‘यहाँ न राष्ट्रपति छ, न सरकार, केही पनि काम गरिरहेको छैन,’ भन्दै उनले सरकारको अक्षम्य असफलताले सेना हस्तक्षेप गर्न बाध्य भएको दाबी गरेका छन् ।

राष्ट्रपति भवनअगाडि सत्ता नियन्त्रणको घोषणा गरेपछि क्यापसाट सैन्य इकाईका सदस्यहरू र प्रमुख कर्णेल मिकाएल रान्द्रियनिरिना।

मेडागास्करको स्थानीय सञ्चारमाध्यमका अनुसार संवैधानिक अदालतले कर्णेल मिकाएल रान्द्रियनिरिनालाई देशको नयाँ नेतृत्वको रूपमा मान्यता दिएको छ ।

अदालतले राष्ट्रपतिसहित संसद्को माथिल्लो सदन (सिनेट) का सभापतिको पद पनि रिक्त भएको घोषणा गरेको छ ।

संसद्‌मा राष्ट्रपति रजोएलिनाविरुद्धको महाअभियोग प्रस्ताव पारित भइसकेका बेला सेनाले सत्ता कब्जाको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

राष्ट्रपति रजोएलिनाले संसद्मा आफूविरुद्ध भएको मतदानलाई अवैध बताएर खारेज गर्दै देश छाडेर अज्ञात स्थलमा गएका थिए । राष्ट्रपति कार्यालयले नखुलाएपनि उनी फ्रान्स गएको सैनिक अधिकारीहरू बताउँछन् ।

 अज्ञातस्थलबाट रजोएलिनाले सोमबार फेसबुकमा लाइभ गर्दै अझै पनि आफू नै मेडागास्करको वैध राष्ट्रपति भएको दाबी गरेका थिए ।

पदच्यूत भएका राष्ट्रपति एन्ड्रि रजोएलिना।

रजोएलिनाले सन् २००९ मा क्यापसाट नामक विशेष सेनाको सहयोगमा सत्ता कब्जा गरेका थिए ।

सेनाको सहयोगमा तत्कालीन राष्ट्रपति मार्क रावालोमानानालाई हटाउँदै रजोएलिनाले शासन हातमा लिएकोमा अहिले सेनाले नै उनलाई पदच्युत गरेको छ ।

पानीको संकट र बिजुली आपूर्तिको मुद्दा उठाउँदै गत सेप्टेम्बर २५ देखि मेडागास्करमा जेनजी प्रदर्शन सुरु भएको थियो ।

तर, लगत्तै आन्दोलनकारीले भ्रष्टाचार, शासकीय अव्यवस्था र आधारभूत सेवाको वितरणका मुद्दामा पनि उठाउँदै प्रदर्शन चर्काए, जुन विद्रोहमा परिणत हुन पुग्यो ।

मेडागास्करको विद्रोह हालै नेपाल र मोरोक्कोमा भएका युवा आन्दोलनसँग मिल्दोजुल्दो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नेपालमा भदौ २३ र २४ गते भएको आन्दोलन विद्रोहमा परिणत हुँदा केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु परेको थियो ।

आन्दोलन दबाउन राष्ट्रपतिले दिएको आदेश अस्वीकार गर्दै त्यहाँ सेनाको एलिट युनिट प्रदर्शनकारीको पक्षमा उभिएको छ ।

मेडागास्करको संविधानअनुसार राष्ट्रपतिको अनुपस्थितिमा सिनेट अध्यक्षले कार्यवाहक राष्ट्रप्रमुखको भूमिका सम्हाल्ने व्यवस्था छ । तर, अहिले सेनाले पूर्णरूपमा सत्ता कब्जा गरेको घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार सेप्टेम्बर २५ यता भएको प्रदर्शन र सुरक्षाकर्मीबीचको झडपमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

कुनै बेला फ्रान्सको उपनिवेश थियो मेडागास्कर

मेडागास्करमा सेनाले सत्ता गरेपछि त्यहाँ फेरि राजनीतिक संकट गहिरिएको छ । यो संकट नयाँ भने होइन, देशको लामो इतिहासमै दोहोरिँदै आएको सत्ता संघर्ष र अस्थिर शासनको निरन्तरता हो ।

मेडागास्कर सन् १८९६ मा फ्रान्सको उपनिवेश बनेको थियो । त्यसअघि देशमा मेरिना साम्राज्यको शासन चलिरहेको थियो ।

फ्रान्सले दोस्रो उपनिवेशिक युद्धपछि महारानी रानावालोना तेस्रोलाई सत्ताच्युत गर्दै सम्पूर्ण देश आफ्नो नियन्त्रणमा ल्यायो ।

फ्रान्सेली शासनको समयमा कृषि सुधार र प्रशासकीय केन्द्रीकरण जस्ता संरचनात्मक परिवर्तन गरिए पनि स्थानीय जनतामाथि अत्यधिक कर र शोषण बढेपछि असन्तोष फैलियो ।

राष्ट्रपति भवन नियन्त्रणमा लिँदै क्यापसाट सैनिकहरू।

सन् १९४७ मा भएको ठूलो जनविद्रोह, जसलाई ‘मालागासी उठान’ भनिन्छ, फ्रान्सेली सेनाले हिंसात्मक रूपमा दमन गर्‍यो । लामो संघर्षपछि अन्तत: मेडागास्करले २६ जुन १९६० मा स्वतन्त्रता प्राप्त गर्‍यो ।

स्वतन्त्रतापछि पनि देशमा स्थायित्व कायम हुन सकेन । सन् १९७२ मा राष्ट्रपति फिलिबर्ट सायरनानालाई सेनाले हटाएपछि देशमा सैनिक शासन आयो ।

त्यसपछिका नेता डिडिएर राट्सिराकाले समाजवादी शैलीको शासन स्थापना गरे तर आर्थिक संकटले देशलाई कमजोर बनायो ।

सन् २००९ मा सेनाको विशेष इकाई क्यापसाटले तत्कालीन राष्ट्रपति मार्क राभालोमानानालाई हटाएर आन्द्रि रजोएलिनालाई सत्तामा ल्याएको थियो ।

अहिले फेरि उही क्यापसाट इकाईले सत्ता कब्जा गरेर पुरानो इतिहास दोहोर्याएको छ ।

हाल देशभर सेनाको नियन्त्रण कायम भएको बताइएको छ । संवैधानिक अदालत र अन्य लोकतान्त्रिक संस्थाहरू निलम्बनमा परेका छन् ।

सेनाले १८ महिना देखि दुई वर्षभित्र चुनाव गराउने वाचा गरेको छ, तर विगतका अनुभवले यस्तो वाचा प्राय: पूरा नहुने देखिएको छ ।

क्षेत्रीय संगठन साड्क र अफ्रिकी संघले मेडागास्करमा संविधान र शान्तिको पुनर्स्थापनाका लागि आह्वान गरेका छन् ।

राजनीतिक विश्लेषकहरूले हालको घटनालाई सत्ता संघर्षको पुनरावृत्ति भनेका छन् ।

उनीहरूको भनाइमा मेडागास्करमा लोकतान्त्रिक प्रणाली अझै सुदृढ हुन सकेको छैन र निरन्तर सैन्य हस्तक्षेप देशको राजनीतिक स्थायित्वका लागि गम्भीर चुनौती बनेको छ ।

फ्रान्सको पूर्व उपनिवेश मेडागास्कर फेरि एकपटक सैन्य नियन्त्रणमा पुगेको छ र यसको राजनीतिक भविष्य अझै अनिश्चित बनेको छ ।

तस्वीरहरू : एएफपी, रोयटर्स, गेट्टी इमेज

राजधानी एन्टानानारिभोको नगर सभाभवन (टाउन हल) अगाडि मंगलबार बिहानैदेखि जम्मा भएको भीड।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?