Comments Add Comment

नाडा अटो शोमा १२ बैंक : सवारी कर्जामा यस्ता छन् सुविधा

१० भदौं, काठमाडौं । १४ औं संस्करणको नाडा अटो शो मंगलबारबाट सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मेलाको उद्घाटन गरे ।

सवारी साधन, पार्टपूर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरु सहभागी रहेको मेला आगामी भदौ १५ गतसम्म चल्नेछ । हरेक वर्ष आयोजना हुने यस सवारी साधनहरुको मेलामा यस वर्ष बैंकहरुको उपस्थितिसमेत देख्न सकिन्छ । हुन त गत वर्षबाहेक नाडा अटो शोमा हरेक वर्ष बैंक तथा वित्तीय संस्थाहरुले स्टल राख्ने गरेका थिए ।

शोका लागि नै भनेर बैंकहरुले ब्याजदर छुट, कर्जा अवधि लगायतमा विशेष अफरहरु ल्याउने गरेका छन् । गत वर्ष भने ठाउँ अभाव भएको भन्दै आयोजकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्टल राख्न दिएको थिएन ।

यस वर्ष शोमा १२ वटा स्टल बैंकहरुका छन् भने एउटा बीमा कम्पनीको स्टल रहेको छ ।

कुन बैंकमा कस्तो अफर ?

नाडा अटो शोमा स्टल राखेका १२ बैंकहरुको ब्याजदरका स्कीमहरु आ-आफ्नै छन् । कसैको ब्याजदर कम भने कसैको ब्याजदर महंगो छ ।

ब्याजदर महंगो भएका बैंकहरुले कर्जा अवधि लामोसम्म दिने बताएका छन् भने ब्याजदर कम भएका बैंकहरुले कर्जा अवधि कम तोकेका छन् । सेवा शुल्कसमेत समान छैन । कुनै बैंकले ०.५ प्रतिशत सेवा शुल्क लिएर कर्जा उपलब्ध गराउने जनाएका छन् भने कुनै बैंकले १.५ प्रतिशतसम्म सेवा शुल्क लिने बताएका छन् ।

१. स्टान्डर्ड चार्टर्ड बैंक

ब्याजदरका आधारमा हेर्ने हो भने स्टाण्डर्ड चार्टर्ड बैंकको तुलनात्मकरुपमा कम देखिएको छ । यो बैंकले ९.३९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । तर, यस्तो कर्जा ६ वर्षको लागि मात्र हुनेछ । सेवा शुल्क भने स्टाण्डर्ड चार्टर्ड बैंकले ०.७५ प्रतिशत लिने जानकारी दिएको छ । यो विदेशी लगानी भएको को बैंक हो । लगानी भएको बैंक हो ।

२. एनआइसी एशिया

यस बैंकले ९.५ प्रतिशत ब्याजदरमा सवारीसाधनका लागि कर्जा उपलब्ध गराउने जनाएको छ । एनआइसी एसियाको ब्याजदर स्टान्डर्ड चार्टर्डपछिको सस्तो देखिएको छ । उता कर्जा अवधि एनआईसी एशियाको सबैभन्दा धेरै छ ।

लामो समयका लागि कर्जा लिन चाहनेहरुका लागि एनआइसी एसिया रोजाइमा पर्न सक्छ । सेवा शुल्क भने यो बैंकले १.५ प्रतिशत लिने बताएको छ ।

३. नबिल बैंक

नेपालकै पहिलो ज्वाइन्ट भेन्चर लगानी भएको नविल बैंकले सवारीसाधनका लागि १०.५९ प्रतिशतमा कर्जा उपलब्ध गराउने बताएको छ । यो ब्याजदर इन्धनबाट चल्ने सवारी साधनको हकमा हो ।

इलेक्ट्रिक भेइकलका लागि बैंकले ९.५९ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने छ । ०.७५ प्रतिशत सेवा शुल्क लिने बताएको नविलले ७ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउन सकिने बताएको छ ।

४. माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले १०.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएको छ । बैंकहरुको आधार दर (बेस रेट) ३/३ महिनामा परिवर्तन हुन्छ । बेस रेट बढेपछि बैंकले कर्जाको ब्याजदर पनि बढाउने गर्छन् ।

तर माछापुच्छ्रे बैंकले बेस रेट परिवर्तन भए पनि ब्याजदर रकम परिवर्तन नगर्ने कवुल गरेको छ । यो बैंकले १० वर्षसम्मका लागि ०.५ प्रतिशत सेवा शुल्क लिएर सवारी साधनका लागि कर्जा उपलब्ध गराउन सक्ने बताएको छ ।

५. सिभिल बैंक

सिभिल बैंकले ११.११ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएको छ । यो कर्जा ७ वर्षदेखि १० वर्षसम्मको लागि हो ।

सिभिलबाट व्यक्तिगत सवारीसाधनमा ५० प्रतिशतसम्म कर्जा लिन पाइने छ भने कम्पनीका नामबाट सवारी साधन लिँदा भने ७५ प्रतिशतसम्म फाइनान्सको सुविधा पाइले बैंकले जानकारी दिएको छ ।

६. सानिमा बैंक

बाणिज्य बैंकहरुमध्ये सबैभन्दा कान्छो सानिमा बैंकले नाडा अटो शोका लागि भनेर १०.४९ प्रतिशतको ब्याजदर अफर ल्याएको छ । अरु बेला ११ प्रतिशतभन्दा माथि ब्याजदरमा लगानी गर्ने गरेको यो बैंकले शोमा १०.४९ प्रतिशतमा १० वर्ष सम्मका लागि कर्जा उपलब्ध गराउने भएको हो । बैंकका अनुसार सेवा शुल्क ०.७५ प्रतिशत लाग्नेछ ।

७. लक्ष्मी बैंक

लक्ष्मी बैंकले ११.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । विद्युतीय सवारीका लागि भने १०.५ प्रतिशतमै कर्जा उपलब्ध गराउने लक्ष्मी बैंकले जानकारी दिएको छ ।

सेवा शुल्क ०.५ प्रतिशत लिने बताएको लक्ष्मी बैंकले इन्धनबाट चल्ने सवारीसाधनका लागि ९ वर्ष र विद्युतिय सवारी साधनहरुमा ८ वर्षसम्मका लागि कर्जा लगानी गर्ने छ ।

८. ग्लोबल र जनता बैंक

मर्जरको प्रक्रियामा रहेका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले शोमा संयुक्त स्टल राखेका छन् । यि दुबै बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ७ वर्ष सम्मका लागि कर्जा उपलब्ध गराउने छन् । दुबै बैंकले सेवा शुल्क भने १ प्रतिशत लिने बताएका छन् ।

९. एभरेष्ट बैंक

एभरेष्ट बैंकले ९.६६ प्रतिशतसम्म ५ वर्षका लागि कर्जा उपलब्ध गराउने बताएको छ । ७ वर्षसम्मका लागि लिँदा भने १०.१८ प्रतिशतसम्म ब्याजदर हुने बैंकले बताएको छ । सेवा शुल्क यो बैंकको पनि १ प्रतिशत रहेको छ ।

१०. बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले बेस रेटमा १.५ प्रतिशत पि्रमियम जोडेर ब्याज लिने बताएको छ । बैंकको हाल ९.९ प्रतिशत बेस रेट भएको र पि्रमियम जोड्दा १०.४ प्रतिशत हुन आउँछ । बेस रेट घटबढ हुँदा ब्याजदरमा पनि प्रभाव पर्छ ।

११. सांग्रीला डेभलपमेन्ट बैंक

नाडामा एउटा मात्रै विकास बैंकको स्टल रहेको छ । २९ विकास बैंकहरुमध्ये सांगि्रला डेभलपमेन्ट बैंकले मात्रै शोमा स्टल राखेको हो । यो बैंकले ११.६६ प्रतिशत ब्याजदरमा सवारी साधनका लागि कर्जा दिने बताएको छ ।

इन्धनबाट चल्ने सवारीसाधनहरुका लागि ७ वर्षसम्म र विद्युतीय सवारीसाधनहरुका लागि ५ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने बैंकले बताएको छ । सेवा शुल्क भने यो बैंकले ०.७५ प्रतिशत लिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment