Comments Add Comment

सरकारी गाडी लिएर भारतको बाबाधाम हिँडे मेयर

१० भदौ, काठमाडौं । बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव नगरपालिकाको गाडी लिएर तीर्थाटनमा निस्किएका छन् ।

नगरपालिकाको स्वामित्वमा रहेको ना १ झ १६६२ नम्बरको सरकारी गाडी लिएर यादब आइतबार भारतको बाबाधामतर्फ लागेका हुन् ।

गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट विजयी यादवले आफूसँगै केही कार्यकर्तालाई समेत लिएर गएका छन् । उनको साथमा परिवारका सदस्य भने नभएको बताइएको छ ।

कार्यालयको कामबाहेकमा सरकारी सवारी प्रयोग गर्न नपाइने नियम छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई मात्र सवारी सुविधा उपलब्ध गराउँदै आइरहेको महागढीमाई नगरपालिका स्वयंले पनि निजी काममा नगरपालिकाको सवारी प्रयोग गर्न नपाइने थिति बसाएको छ ।

तर, पारदर्शिता, सुशासन र सदाचार कायम गर्नुपर्ने नगरपालिकाका मुख्य अगुवा मेयर आफैं निजी प्रयोजनका लागि नगरपालिकाको गाडी लिएर भारतको बाबाधाम लागेका छन् । उनी बोलबमका लागि भन्दै त्यसतर्फ लागेका हुन् । नेपालमा साउनभर बोलबमको रौनक चल्ने भए पनि बाबाधाममा भदौको अन्तिमसम्म हुन्छ ।

अनलाइनखबरलाई मेयर यादव सवार गाडीको भिडियो र तस्वीर प्राप्त भएको छ । जसको पृष्ठभूमिमा भारतको भागलपुरको गेट प्रष्टसँग देख्न सकिन्छ ।

विजय यादव नामका एक फेसबुक प्रयोगकर्ताले पनि आफ्नो फेसबुक पेजमा गाडी दुरुपयोगको तस्वीर र भिडियो पोस्ट गरेका छन् । जसमा प्रतिक्रिया जनाउने अधिकांशले मेयरको रवैयाबारे आलोचना गरेका छन् ।

मेयर यादव तीर्थाटनकै क्रममा रहेकाले यसबारे प्रतिक्रिया लिने हाम्रो प्रयास भने सफल हुन सकेन ।

आएपछि सम्झाउँछु : प्रमुख प्रशासकीय अधिकृत

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम ढकालले सुरुमा मेयर यादव सरकारी गाडी लिएर तीर्थाटनमा निस्किएकोबारे अनभिज्ञता व्यक्त गरे । तर, मेयर सवार गाडी भारत पुगेको तस्वीर र भिडियो अनलाइनखबरसँग रहेको बताएपछि भने उनले आफू बिदामा रहेको भन्दै घुमाउरो पाराले गाडी दुरुपयोग गरेर मेयर तीर्थयात्रामा निस्किएको स्वीकारे ।

‘सरकारी गाडी निजी काममा प्रयोग नगरौं, यसो गर्न मिल्दैन भनेर हामीले बारबार सम्झाइरहेका हुन्छौं’, प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘तर, हाम्रा कुरा नमानेर उहाँहरू अटेरी गर्नुहुन्छ । म बिदामा बसेको समयमा यसपटक पनि मेयर सा’ब गाडी लिएर भारतको बाबाधाम जानुभएछ ।’

सरकारी गाडी लिएर मेयर तीर्थयात्रामा जानु गलत भएकाले आफूले आएलगत्तै सम्झाउने उनले बताए ।

सरकारी गाडी निजी काममा प्रयोग गर्न नमिल्ने नियम छ, अब मेयर आएपछि के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मेयरलाई मैले कारबाही गर्न मिल्दैन । केही दिनमा फर्किनुहुन्छ, आएपछि यसरी गाडी दुरुपयोग नगर्नुहोस् भनेर सम्झाउँछु’, प्रमुख प्रशासकीय अधिकृत ढकालले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment