+
+
Shares

पक्राउको सूचना पाएलगत्तै भारत फरार भएका थिए पूर्वमुख्यसचिव अर्याल, भोलिमात्रै म्याद थप

यो मामलाका जानकाहरू त अर्याल श्रम सचिव हुनुभन्दा पहिला जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका बेलादेखि यो प्रकरणमा जोडिएकाहरूसँग निकट रहेर उनीहरूलाई सहयोग गरेको दाबी गर्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १८:३५

१० मंसिर, काठमाडौं । मलेसिया जाने नेपाली श्रमीकबाट स्वास्थ्य परीक्षणको नाममा गैरकानूनी रुपमा रकम उठाएर ठगी गरेको प्रकरणको अनुसन्धान थालिएसँगै सशंकित बनेका थिए, नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल ।

उनी मुख्य सचिव भन्दा पनि श्रम, रोजगार सामाजिक सुरक्षा मन्त्रालयको सचिव भएका बेला गैरकानूनी रुपमा नेपाली श्रमीकसँग रकम उठाउने र त्यो रकम विदेश लैजाने काममा संलग्न भएको आरोप उनीमाथि छ ।

उनले कृष्णकुमार श्रेष्ठदेखि, शेरबहादुर कुँवर, डोल प्रसाद अर्याल र शरतसिंह भण्डारीसम्मका मन्त्रीसँग श्रम सचिवको भूमिकामा काम गरेका थिए । यो बीचमा श्रेष्ठको पालामा मात्रै रकम अवैध रुपमा मलेसिया गएको थिएन । बाँकी तीनै मन्त्रीको पालामा रकम मलेसिया पुगेको देखिन्छ । अर्यालले २०७८ मंसिर १५ देखि २०८० जेठ २९ सम्म श्रम सचिवको जिम्मेवारी सम्हालेका थिए ।

अझ यो मामलाका जानकाहरू त उनी श्रम सचिव हुनुभन्दा पहिला जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका बेलादेखि यो प्रकरणमा जोडिएकाहरूसँग निकट रहेर उनीहरूलाई सहयोग गरेको दाबी गर्छन् ।

मलेसिया जाने कामदारबाट अवैध रुपमा रकम संकलन गर्ने र त्यसरी उठाइएको रकम मलेसिया लैजाने गरकोे आरोपमा यसका मुख्य योजनाकार रामेछापका कैलाश खड्कासहित ४ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २९ असोजमा पक्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्दा तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव, शेरबहादुर कुँवरदेखि तत्कालीन श्रम सचिव विनोद केसी, एकनारायण अर्यालयको भूमिका समेत देखिएको थियो ।

मन्त्रीद्वय यादव र कुँवरको पालामा मन्त्रीस्तरीय निर्णय गरेर रकम मलेसिया लगिएको पाइएपछि सीआईबीले यससँग सम्बन्धीत केही कागजात श्रम मन्त्रालयसँग माग गरेको थियो । कागजात माग गरेको सुईंको पाएपछि तत्कालीन श्रम सचिव तथा पूर्वमुख्य सचिव एकनारायण अर्यालय भने एकाएक सम्पर्कविहीन भए ।

‘पछिल्लो पटक हामीले केही कागजात मन्त्रालयसँग माग गरेका थियौं । त्यसलगत्तै उनी –एकनारायण अर्याल) फरार भएको देखिन्छ,’ एक अनुसन्धान अधिकृत भन्छन् ।

यो प्रकरणको अनुसन्धान गरिरहेका सीआईबीका एक अधिकारीका अनुसार, उनी १ असोजकै बिहानै भारत भागेका हुन् । ‘१ असोजमा बुद्ध एअरको जहाजमार्फत उनी कोलकत्ता गएको रेकर्डमा देखिन्छ,’ ती अधिकृतले अनलाइनखबरसँग भने ।

उनी अघिल्लो दिन अर्थात् १ असोजमा फरार भए । यसको भोलिपल्ट २ असोजमा सीआईबीले दुई पूर्वश्रममन्त्री, एक तत्कालीन श्रम सचिवसहित ६ जनालाई पक्राउ गर्‍यो ।

‘अतिगोप्य रुपमा हामीले काम गरेका थियौं । जुन दिन अदालतबाट पक्राउ पुर्जी लियौं त्यही दिन मान्छे पक्राउ परेका थिए । तर अर्यालले भने यसको सुईँको पहिल्यै पाएर फरार भए,’ एक अनुसन्धान अधिकृतले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै कोलकत्ता पुगेका उनी त्यहाँबाट होटलमा नबसेको ती अधिकृतले सुनाए । उनी करिब ४ वर्ष कोलकत्तास्थित नेपाली महावाणिज्यदूतावासमा महावाणिज्यदूतको जिम्मेवारी सम्हालेका थिए । सम्भवत त्यति बेलै चिनजान भएको एक भारतीय नागरिकको घरमा उनी बस्दै आएको ती अधिकृतले बताए ।

उनलाई कोलकत्ताबाटै पक्राउ गरेर आजै काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याएपछि आजै म्याद थप गर्ने तयारी गरिएको थियो । तर समय अपुगे भएको भन्दै सीआईबीले आज उनलाई अदालतमा उपस्थित गराएन ।

‘स्वास्थ्य जाँच र कागजात तयार पार्दा समय अभाव भएकाले आज अदालत उपस्थित गराउन भ्याइएन, अब भोलिमात्रै म्याद थपका लागि अदालत उपस्थित गराइन्छ,’ सीआईबीका ती अधिकृतले भने ।

अर्यालसहित यसअघि पक्राउ परेका १० जनालाई एकै पटक म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी थियो । तर अर्यालका भने नभ्याइएपछि बाँकी १० जनालाई पनि ढिला गरी अदालत उपस्थित गराइयो । उनीहरूलाई भने थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

अब अर्याललाई भने भोलिमात्रै अदालत उपस्थित गराइन्छ । म्याद मिलान गर्ने भएकाले उनलाई पनि बाँकी १० जनाको सँगै म्याद सकिने गरी सोमबार म्याद सकिने गरी म्याद दिने सम्भावना छ ।

सम्झौता विपरित सिण्डकेट खडा गरेर कैलाश खड्काको म्याक्रोटेकले नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने, गैरकानूनी रुपमा रकम उठाउने र त्यो रकम विदेश लैजान गरेको पाइएको छ ।

यसरी असुल गरिएको पैसा अमेरिकी डलर र पाउण्ड रुपान्तरण गरी मलेसिया पठाइएको छ । अहिलेसम्मको अनुसन्धानबाट १७ पटकसम्म यसरी पैसा पठाइएको छ ।

मलेसिया जाने श्रमीक (कामदार)बाट गैरकानूनी रुपमा उठाइएको रकम मध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ अवैध तरिकाले मलेसिया पुर्‍याइएको छ ।

यसरी गैरकानूनी रुपमा उठाइएको रकम मलेसिया पुर्‍याउने काममा काठमाडौंस्थित मलेसियन दूतावासका तत्कालीन राजदूत तथा कर्मचारीदेखि श्रम मन्त्रालयका सचिव, कर्मचारी, मन्त्री र राष्ट्र बैंकका कर्मचारीसम्म संलग्न देखिएको खुलेको छ ।

यो प्रकरणमा अहिलेसम्म दुई पूर्वमन्त्रीहरू रामेश्वर राय यादव, शेरबहादुर कुँवरसहित ११ जना पक्राउ परेको छन् । उनीहरुमाथि सीआईबीले ठगी र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?