Comments Add Comment

विख्यातको तबला वादन : र्‍यापमा शास्त्रीय फ्यूजन

६ भदौ, काठमाडौं । ‘सफल व्यक्तिहरु फरक काम गर्दैनन् तर, उही काम फरक ढंगले गर्छन् ।’

विख्यातप्रसाद ह्योजुले पनि केही फरक काम गरेका होइनन्, तबला बजाएका हुन् । तपाईं सोच्नुहोला, तबला बजाउने कति छन् कति । उनको चर्चा किन ?

तबला बजाउनको यही भीडमा विख्यात केही खास छन् । तबला त उनी बजाउँछन् नै, तर फरक ढंगमा । एक पटक सोच्नुस् त ? भिटेनको र्‍यापमा पनि तबलाको ताल मिलाउन सकिन्छ ? जस्टिन बिबरको स्वरमा तबला ठोक्न सकिन्छ ? अनि पब्जीको अफिसियल धुनमा तबलाको लय हाल्न सकिन्छ ?

विख्यात यस्तै सोच्छन् । सोच्छन् मात्र ? तबलामा ताल मिलाएरै देखाइदिन्छन् ।

आफ्ना हात र औंलाको सन्तुलित तोडबाट तबलामा यस्तो झंकार पैदा गर्छन्, जुन तपाईंले सोच्दै नसोचेको गीतहरुसँग ताल मिल्छ । वस् यत्ति हो उनको विशेषता ।

अठारौं शताब्दीबाट शास्त्रीय वादनमा प्रयोग हुँदै आएको यो वाद्य यन्त्रबाट र्‍याप, हिपहप, रक वा जस्तोसुकै संगीतमा ताल मिलाउनु उनको प्राइभेट खुबी हो ।

तबला उही हो । तर, त्यसमा धुन खोज्ने शैली फरक ।

र्‍यापर समिर घिसिङ अर्थात् भिटेनको र्‍याप ‘हामी यस्तै त हो नि ब्रो’ मा उनले तबलाको सुर–ताल मिलाइदिएका छन् । जस्टिन बिबर र एड सिरनको गीत ‘आइ डोन्ट केयर’मा तबला ठोकिदिएका छन् । नेपाली, हिन्दी, अग्रेजी सबैखाले गीतदेखि लोकप्रिय गेम पब्जीको अफिसियल थिम सङमा उनले तबला फिटिदिएका छन् ।

भलै यो सब अनौठो उपलब्धि नहोलान्, यद्यपि, १६ वर्षे किशोरको यो अभ्यासमा केही नयाँपन भने पक्का छ ।

उनको वादन–कला पनि खुब स्वादिलो छ । कुनै पनि गीतको रेकर्डेड धुन बजाएर त्यसमा तबलाको ताल मिसाइरहँदा उनले गर्ने हाउभाउ हेर्नलायक हुन्छ । गीतको भाव अनुसार बदलिने उनको मुखाकृत गजब छ । तर यो कसैलाई नपच्न पनि सक्छ । विख्यात सुनाउँछन्, ‘कतिले ओभर एक्टिङ भयो भन्छन् ।’

यस्तो टिप्पणी युट्युबमा उनको तबला वादन हेर्नेहरुले गरेका हुन् । हो त, उनी थरीथरीका गीतमा ‘तबला भर्सन’ मिसाएर गुगलको भिडियो स्ट्रिमिङ साइट युट्युबमा अपलोड गर्छन् । ‘यही प्लेटफर्ममा करियर बनाउने सोच छ’ विख्यात भन्छन् ।

तबलामै करियर खोज्नु र फरक प्लेटफर्ममा आफ्नो चिनारी बनाउनु पनि काइदाको कुरा हो ।

तबला कुनै ‘ग्ल्यामर’ वाद्ययन्त्र होइन । खासगरी शास्त्रीय गायनमा प्रयोग हुँदै आएको यो वाद्ययन्त्र आधुनिक संगीतमा उति प्रयोग गरिँदैन । पप, ब्लुज, रक, हार्ड रक, र्‍यापमा भुलिरहेका आधुनिक पुस्तालाई तबलासँग उस्तो चासो पनि छैन । जबकी तबलामा विख्यातको लगाव भने रहरलाग्दो छ ।

उनको उमेर १६ वर्ष । सात वर्षदेखि उनी तबलाको संगतमा छन् । १२ कक्षामा पढ्दैछन् । पढाई त छँदैछ, उनको दैनिकीमा तबला अभिन्न रुपले जोडिएको छ । साँझ बिहान नित्य तबलामा आफ्नो हात एवं औंलाहरु रगड्छन् ।

तबला वादनमा थप पोख्त बनाउन काठमाडौं आएका छन् । उनको खास घर बुटवल हो । काठमाडौंको सिर्जना संगीत पाठशालामा उनी साँझ–विहान तबला सिक्छन् ।

विख्यातको विगत

विख्यातको विगत कोट्याउन त्यती टाढा पुग्नुपर्दैन । चितवनकै न्यू होराइजन स्कुलमा पढ्थे चार कक्षामा । त्यहीबेला उनी साथीहरुको सिको गर्दै मादल बजाउन थाले । उमेर सानै थियो तर, मादलमा उनको हातहरु परिपक्क ढंगले चल्न थाल्यो ।

मादल देख्यो कि औंलाहरु यसैसयै सल्बलाउन थाल्थे । नेपाली समला, झ्याउरे, चुड्के, सोरठी गीतमा बजाइने मादललाई उनले हिन्दी र अंग्रेजी गीतमा समेत बजाइदिए ।

व्यवसायी पितालाई थाहै थिएन, विद्यालयमा पढ्न गएका छोरो मादलमा अभ्यस्त भइसकेछन् । विख्यातका पिता विष्णु ह्योजु सुनाउँछन्, ‘मलाई त केही थाहै थिएन, उ मादलमा निकै राम्ररी मादल घन्काउने भइसकेका रहेछन् ।’

मादल बजाउनुअघि विख्यात नाच्न सिपालु । खुब नाच्थे । नाच्ने मात्र होइन, नाचेरै पैसा कमाउँथे । ‘तर, उनको नृत्यकलामा हामीले खास चासो राखेनौं’ सौन्दर्य प्रशाधनको व्यवसाय गर्ने पिता विष्णु ह्योजु भन्छन्, ‘त्यसपछि मादल बजाउन थालेछ, उनको यो रहरलाई हामीले पनि साथ दिनुपर्छ लाग्यो ।’

मादलमा मन

छोरा विख्यातले एकदिन प्रस्ताव राखे, ‘बुबा मलाई मादल किनिदिनू ।’

एकदिन बुटवलबाट काठमाडौं आउदै गर्दा उनले छोराका लागि मादल खरिद गरिदिए । मादल पाएर उनी मख्ख परे । खुब रमाए । त्यहाँबाट काठमाडौंसम्म आइपुग्दा विख्यातले मादलमा नयाँनयाँ ताल बजाउन सिकिरहे । ‘मादल त सामान्य हिसाबले म पनि बजाउने’ विष्णु ह्योजु भन्छन्, ‘छोरोले राम्रै पारा ल्याएपछि उसलाई मादल बजाउन सिकाउनुपर्छ भन्ने लाग्यो ।’

चार कक्षामा पढ्दै थिए, विख्यात । तीन/चार हजार विद्यार्थी भएको न्यू होराइजन स्कुलमा उनले सबैलाई मादल बजाउन उछिने । कक्षा पाँचमा पुगेपछि उसले राष्ट्रिय गीतमा मादल बजाउन सुरु गरे । ‘जस्तो गीतमा पनि मादलको ताल मिलाउन थाल्यो, हिन्दीमा पनि, अंग्रेजीमा पनि’ विष्णु भन्छन्, ‘छोराले गजब गर्‍याे ।’

त्यसपछि उनले छोरालाई डोहोर्‍याउँदै बुटवलकै वागेश्वरी संगीत विद्यालयमा पुर्‍याए । त्यहाँ उनले छोरालाई मादल होइन, तबलाको प्रशिक्षणमा राखिदिए । त्यहाँ सुरेश सेञ्चुरीले विख्यातलाई तबला बजाउन सिकाए ।

तर, मादल जस्तो तबला सजिलो भइदिएन । तबलामा औंलाको चाल मिलाउनै गाह्रो । तबलामा औंलाको चाल मिलाउन सात, आठ महिना लाग्यो । एकदमै अनुशासित ढंगले सिक्नुपर्ने । बेलाबखत त उनलाई लाग्यो, छाडेर भागौं कि ?

तर वाद्य वादनप्रतिको गहिरो लगावले दायाँबायाँ गर्न दिएन । औंलाहरु दुखिरहँदा पनि तबलाबाट आफ्नो हात झिकेनन् । अभ्यास गरिरहे । गुरुले जस्तो सिकाउँछन्, त्यो भन्दा एक कदम अघि बढेर फरक शैलीका गीतमा पनि तबलाको ताल मिलाउन थाले । उनी भन्छन्, ‘हामीले गुरुभन्दा अगाडि बढेको भन्न त मिल्दैन, आइडिया गुरुबाटै लिने हो र त्यसमा आफुले फरक अभ्यास गर्ने हो ।’

यो शास्त्रीय वाद्ययन्त्रको ताल पश्चिमा शैलीका गीतहरुसँग चाहिँ कसरी मिलाउँछन् ?

‘गीतको आफ्नो विट हुन्छ, त्यसको टाइम क्याच गर्ने हो’ विख्यात भन्छन्, ‘अर्को कुरा कम्पोज गर्ने हो ।’ विख्यातको आत्मविश्वासले भन्छ, सबै किसिमको गीतमा तबलाको ताल मिलाउन सकिन्छ । उनले अभ्यास गरिरहेको पनि यही हो ।

उनी यस्ता गीतहरुलाई तबला भर्सनमा पेश गर्न चाहन्छन्, जसलाई सुनेर जो–कोही चकित होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment