News Summary
Generated by OK AI. Editorially reviewed.- विराट कोहलीले २००६ मा बुबाको मृत्युको पीडामा पनि रणजी ट्रफी खेल्दै टिमलाई हारबाट जोगाए।
- सन् २०१४ को इंग्ल्यान्ड भ्रमणमा खराब प्रदर्शनपछि विराटले डिप्रेसन भोगेका थिए र सचिन तेन्दुलकरको फोनले उनलाई पुनः उत्साहित बनायो।
- विराट कोहलीले ६८ टेस्ट खेल्दै ४० जित हासिल गरी भारतीय क्रिकेटको सबैभन्दा सफल टेस्ट कप्तान बनेका छन्।
विराट कोहली । यो नाम मात्र सुन्दा क्रिकेट, फिटनेस, फेसनदेखि बलिउडसम्म तरंग ल्याउँछ । इन्स्टाग्राममा २८० मिलियनभन्दा बढी फलोअर्स, फोर्ब्सको टप एथलिट सूचीमा वर्षौँ राज गरिरहेका उनको अनुष्का शर्मासँगको ग्ल्यामरस जोडीको टयाग पनि छ।
तर, यो शान–सौकत उनले विरासतमा पाएका होइनन् । यो मुकाम हासिल गर्न उनले अनगिन्ती संघर्ष र उतार–चढाव पार गरेका छन् । उनको जीवन यात्राबारे हरेक पटक सुन्दा कानका रौँ ठाडो पारिदिन्छ र लाखौं युवालाई प्रेरणा पनि दिन्छ ।
उनको सफलताको सुत्र हो, मेहेनत र कर्मप्रति लगाब ।
बाल्यकाल : प्लास्टिकको ब्याटबाट व्यवसायिक क्रिकेटको सपना
विराट कोहलीको जन्म १९८८ ५ नोभेम्बरमा दिल्लीमा भएको थियो । बुबा प्रेम कोहली एक वकिल थिए भने आमा सरोज गृहिणी थिइन् । परिवारमा विराटभन्दा तीन वर्ष जेठा दाइ विकास र दिदी भावना थिए।
तीन वर्षको उमेरमै प्लास्टिकको ब्याट समातेर गल्लीमा बल माग्दै क्रिकेट खेल्थे, विराट । अलिकति बुझ्ने भइसकेपछि टिभीमा क्रिकेट हेर्दै त्यहा खेलाडीले हानेका शटहरू याद गर्थे । अनि घर नजिकैको चौरमा गएर मस्तिष्कमा कैद गरेको ती शटहरू खेल्न अभ्यास गर्थे । उनले नयाँ-नयाँ शट खेलेको देख्दा सँगै खेल्ने साथीहरू दंग पर्थे ।
उनले पछि एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई क्रिकेटबाहेक अरू केही थाहा थिएन । त्यो बाहेक मलाई जान्नु पनि केही थिएन । मलाई यसमै केही गर्नु थियो । मेरो मन, मस्तिष्कले एक दिन म यो क्षेत्रमै केही गर्छु भन्ने मात्रै सोचेको थियो ।’
उनको यो सपना बुबाले पनि नजिकैबाट नियालेका थिए । उनी बुबालाई आइडल नै मान्थे । बुबाका कुराहरू ध्यान पूर्वक सुन्थे र व्यवहार पनि त्यस्तै गर्थे ।

त्यो बेला क्रिकेट संघमा आउनका लागि भनसुन पनि चल्थ्यो । चाहेको भए उनका बुबाले त्यो गर्न सक्थे । यही प्रसंग घरमा चल्दा बुबाले विराटलाई यसरी सम्झाएका थिए, ‘मेहनत र क्षमताबिना कुनै फेवर वा पैसाले सफलता दिँदैन ।’ यो कुरा निकै घत लाग्यो, उनलाई ।
क्रिकेटमा केही गर्ने सपना र त्यो सपना मेहेनतले पूरा गर्नुपर्छ भन्ने हौसला बुबाका तिनै शब्दहरूले दिएको उनले अन्तर्वार्ताहरूमा भन्दै आएका छन् । पढाइमा औसत भए पनि क्रिकेटमा सधैं उत्कृष्ट थिए, उनी ।
बुबाले उनलाई ९ वर्षको उमेरमा वेस्ट दिल्ली क्रिकेट एकेडेमी भर्ना गरिदिए । कोच राजकुमार शर्माले पहिलो नजरमै भनेका थिए, ‘यो केटामा केही फरकपन छ ।’ यही एकेडेमीले उनलाई अनुशासन र क्रिकेटको प्राविधिक जग बसालिदियो । उनले दिल्लीका अन्डर-१५, अन्डर-१७ टिमबाट खेल्दा उत्कृष्ट रन बनाएर प्रशिक्षक र चयनकर्ताहरूको ध्यान खिचे ।
परिवारमा शेयर मार्कोटको मार
कोहलीको परिवार ठिकठाक नै चल्दै थियो । उनी १४ वर्षको हुँदा घर बेचेर परिवार डेरामा बस्न बाध्य भयो । उनका दाइ व्यवसाय गर्न चाहान्थे । त्यसका लागि ठूलै लगानी चाहिन भयो, जुन घर नबेचीकन सम्भव थिएन । घर बेचेको त्यो पैसा व्यवसायमा लगाए । सुरुमा व्यवसाय राम्रो भएको थियो । तर केही समय पछि डुब्यो । उनीहरूको परिवार त्यो समय निकै कठिन परिस्थितिबाट गुज्रिरहेको थियो ।
त्यही समय थियो, जब कोहली ‘जुनियर लेभल अफ डेल्ली अन्डर-१८’ मा छनोट भएका थिए । टिममा छनोट हुँदाको खुसीसँगै अन्यौता त्यत्तिकै थियो उनको जीवनमा । घरको परिस्थितिले गर्दा अबको करियर कस्तो हुन्छ भन्ने अनिश्चित थियो।
सपनाको नजिक पुग्ने बेला बुबाको मृत्यु
विराटका बुबा अनलाइन शेयर ट्रेडिङ गर्थे । २००६ मा उनको शेयर ट्रेडिङ खाता क्र्यास भयो र कमाएको सबै पैसा गुमाए । यसले निकै धक्का दियो र उनी तनावमा परे । त्यसकै केही समयपछि बुबालाई मस्तिष्कघात भयो । शरीरको एकतर्फको भाग नचल्ने भयो । यस कुराले पनि परिवारमा तनावग्रस्त माहोल थियो ।
त्यो बेला उनी भारतको प्रथम श्रेणीको प्रतियोगिता ‘रणजी ट्रफी’ पहिलो वर्ष खेलिरहेका थिए । यसमा पाउने सफलता भारतीय टिममा स्थान बनाउने अवसर हुन सक्थ्यो । बुबाको मृत्यु भएको दिन पनि उनले क्रिकेट खेलेर टिमका लागि महत्वपूर्ण योगदान दिए ।
पारालाइसिस भएका उनका बुबा पुनर्वास केन्द्रमा थिए । यो कुराले कोहलीको दिमागमा सियो झैं हानिरहन्थ्यो ।
विराटको टोली दिल्ली र कर्नाटक डिसेम्बर १७ बाट सुरु भएको थियो । सुरुमा व्याटिङ गरेको कर्नाटकले पहिलो इनिङमा ४४६ रन बनाएको थियो । यसलाई पछ्याउने क्रममा दिल्लीले कमजोर गर्यो । दोस्रो दिनको खेल सकिँदा दिल्ली ५ विकेट गुमाएर १०५ रनको अवस्थामा थियो । विराट ४० रन बनाएर नटआउट थिए ।

त्यही रात उनका बुबालाई ‘कार्डियाक एरेस्ट’ भयो र अस्पताल लाने क्रममा निधन भयो । भोलिपल्ट विराटले खेललाई निरन्तरता दिने अठोट गरे । यसमा परिवारका सदस्यले पनि साथ दिए । बुबाको सपना विराट भारतको राष्ट्रिय टिमबाट खेलोस् भन्ने थियो । ‘बुबाको त्यही सपना पूरा गर्नका लागि पनि मैले खेल्नुपर्छ सोचें ‘ जम्मा १७ वर्षका विराटले यस्तो अठोट लिनु कम्ता ठूलो साहस थिएन।
एक कार्यक्रममा विराटले बताएअनुसार २००६ १९ डिसेम्बरको त्यो दिन बिहानै उनी आफैँ गाडी चलाएर मैदानका लागि हिँडे । बीच बाटोबाट आफ्नो टिमका बलर इशान्त शर्मालाई आफ्नो गाडीमा लिएर जाने गर्थे। इशान्त गाडीमा बसेको पछि त्यस दिन विराट केही बोल्न सकेनन् । धेरै बेरसम्म नबोलेको देखेर इशान्तले कारण सोधे । विराटले वास्तविकता बताए । यो सुनेर इशान्त स्तब्ध भए । इशान्तले नै यो घटना टिमलाई सुनाए ।
उनलाई टिम व्यवस्थापक, साथीहरू समेतले खेल्न गाह्रो हुने भए घर जाँदा हुन्छ भनेका थिए । उनले खेल्ने निर्णय लिए । टोलीलाई १०५ रन ५ विकेट अवस्थाबाट पुनीत विष्टसँग लामो साझेदारी गर्दै २११ को अवस्थामा पुर्याएपछि ९० रन बनाएर आउट भए । त्यसपछि विराट मैदान छाडेर बुबाको अन्तिम संस्कारका लागि गए । टिमलाई हारबाट जोगाउन विराटको त्यो इनिङ निकै महत्वपूर्ण रह्यो । चौथो दिन खेल बराबरीमा सकियो ।
कुनै असहज परिस्थितिको समाना गर्नुपरेका बेला अहिले पनि त्यो दिनको घटना सम्झिएर सम्हालिने गरेको उनी सुनाउँछन् । ‘म सम्झन्छु, त्यो परिस्थितिमा आफूलाई कसरी सम्हालेँ होला ?’ विराट भन्छन् ।
कुनै पनि कुरामा लगाव भएपछि बीचमा आउने अवरोधहरूलाई पनि जितेर लक्ष्यमा पुग्न सकिने पाठ आफूले सिकेको उनले एक अन्तर्वार्तामा भनेका छन् ।
‘ब्याड ब्वाई’ को छवि र डिप्रेशन
सन् २००८ देखि २०१४ सम्मको विराटलाई धेरैले ‘ब्याड ब्वाई’ भन्थे । सन् २००८ मा उनी सहितको टोलीले भारतलाई अन्डर–१९ विश्वकप जितायो । त्यो समय उनको हुलिया हेर्नलायक थियो । हेर्दा क्रिकेटर कम बलिउडको हिरो बढी देखिन्थे । सुनौलो कपाल, कानमा झुम्का, हातमा ट्याटु, घाँटीमा सिक्री ।
त्यतिबेला भारतीय क्रिकेटमा सचिन, द्रविड, लक्ष्मण जस्ता भद्र र ‘सज्जन’ खेलाडी मात्र देखिन्थे । कोही चिच्याउँदैनथे, कोही गाली फर्काउँदैनथे । तर विराट फरक थिए । उनी कसैले केही भन्यो भने तुरुन्तै जवाफ फर्काउँथे ।
२०११–१२ को अष्ट्रेलिया टुरमा उनी खराब व्यवहारका दण्डित नै हुनुपर्यो । अस्ट्रेलियाले व्याटिङ गरिरहेका बेला विराट फिल्डिङका क्रममा बाउन्ड्री नजिकै थिए । उनलाई इंगित गर्दै अस्ट्रेलियाका फ्यानले हो-हल्ला गरे । विराट रिसले आगो बने अनि हल्ला गर्नेहरूलाई माझी औंला देखाइदिए ।
खेल अनुशासन तोडेको भन्दै आईसीसीले उनलाई म्याच फिको ५० प्रतिशत जरिवाना तिरायो । त्यो समय विराटको राम्रै आलोचना भयो । एक प्रतिष्ठति मिडियाले लेख्यो, ‘यो केटो त क्रिकेटको संस्कृतिसँग मेल खाँदैन ।’
उनको आक्रामकता केवल रन बनाउनेमा मात्र सीमित थिएन । स्लेजिङमा जवाफ दिने, स्टम्प माइकमा सुन्ने गरी गाली गर्ने सम्मको रवाफले धरै आजित थिए । धेरैले भन्थे, ‘यो भारतीय क्रिकेटर जस्तो लाग्दैन ।’
उनी यी वर्षहरूमा डिप्रेसनमा पुगिसकेका थिए ।
टाइम्स अफ इन्डियासँगको कुराकानीमा बाल्यकालका कोच राजकुमार शर्माले कोहलीको सफलतासँगै उनले करियरमा भोग्नुपरेका चुनौतीहरूको पनि चर्चा गरेका थिए ।
शर्माका अनुसार २०१४ को इंग्ल्यान्ड भ्रमण कोहलीका लागि करियरकै सबैभन्दा कठिन चुनौती थियो, करियरकै सबैभन्दा खराब सिरिज खेल्न पुगे । शर्माले भनेका छन्, ‘पाँच टेस्टमा १० इनिङ्स खेल्दा जम्मा १३४ रन बनाए, औसत १३.४० मात्र रह्यो ।
उनको सबैभन्दा ठूलो कमजोरी (लेग स्टम्पबाहिर जाने) पत्ता लगाएर इङ्याण्डका बलरले हरेक इनिङमा कम रनमै आउट गराए । हरेक दिन मिडियामा ‘कोहली इज फिनिस्ड’ अर्थात् कोहली सकियो भन्ने हेडलाइन आउँथ्यो, जसले उनी निकै तनावग्रस्त रहन्थे ।’
पूर्व इंग्लिस क्रिकेटर मार्क निकोलससँगको पोडकास्टमा उनले आफैँ पनि त्यस समय डिप्रेसनको गम्भीर अवस्थामा पुगेको बताएका थिए ।
विराटले पोडकास्टमा खुलेर भनेका थिए, ‘मेरो आत्मविश्वास पूरै खोसिएको थियो । मैदानमा जाँदा डर लाग्न थाल्यो, क्रिकेट खेल्न मनै लागेन । होटलको कोठामा एक्लै बसेर घण्टौंसम्म रुन्थें । म संसारकै सबैभन्दा एक्लो मान्छे भएँ जस्तो लाग्थ्यो । प्याड लगाएर पनि ब्याट समात्न डराउँथे ।’
विराट पूरै टुटेका थिए ।
त्यही समय आएको एक कलले उनले ‘कम ब्याक’ गरे । त्यो कल थियो- दिग्गज क्रिकेटर सचिन तेन्दुलकरको । तेन्दुलकरले फोनमा भनेका थिए, ‘विराट, यो केवल एउटा खराब सिरिज हो । तिमी यस्तो खेलाडी हौ जसले फर्केर ठूलो कमब्याक गर्नेछौं । मलाई विश्वास छ, तिमी यो भन्दा धेरै माथि उठ्नेछौ ।’
यो छोटो कुराकानीले विराटलाई ठूलो हौसला मिल्यो । उनले पछि धेरै पटक भनेका छन्, ‘सचिन सरको त्यो फोन मेरो जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्टमध्ये एक थियो ।’ त्यसपछि नै उनले मानसिक रूपमा आफूलाई सम्हालेर अष्ट्रेलिया टुरमा धमाकेदार कमब्याक गरे ।
उही वर्षको अष्ट्रेलिया भ्रमणमा ६९२ रन बनाएर उनले धमाकेदार पुनरागमन गरे ।
२०१४ पछिको परिवर्तन
२०१४ को अष्ट्रेलिया भ्रमण उनको करिअरको टर्निङ प्वाइन्ट भयो । एडिलेड टेस्टमा कप्तान एमएस धोनी घाइते भएपछि विराटले पहिलोपटक टेस्ट कप्तानी गरे र दुवै इनिङ्समा शतक ठोके । त्यही भ्रमणमा उनले आफ्नो आक्रामकतालाई ‘कन्ट्रोल्ड एग्रेसन’ मा बदल्ने निर्णय गरे । पार्टी, धुमधडाका छोडे, फिटनेसमा ध्यान दिए, मानसिक रूपमा परिपक्व बने ।
सन् २०१५ मा नियमित टेस्ट कप्तान बनेपछि उनले भारतीय क्रिकेटलाई पूरै बदलिदिए । आक्रामकता अब रिसमा होइन, रणनीतिमा देखिन थाल्यो । उनले युवा खेलाडीहरूलाई डराउन नदिने, जवाफ दिने संस्कृति बसाले । २०१८–१९ मा अष्ट्रेलियामा पहिलो पटक टेस्ट सिरिज जिताए ।

इङ्ल्यान्ड, दक्षिण अफ्रिका सबैतिर इतिहास रचे । ६८ टेस्टमा कप्तानी गर्दा ४० जित हासिल गरी टेस्टमा भारतीय इतिहासकै सबैभन्दा सफल कप्तान साबित भए । यो परिपक्वताले उनलाई ‘ब्याड ब्वाई’ बाट सम्मानित खेलाडी बनायो । प्रतिद्वन्द्वीले पनि सम्मान गर्न थाले । अष्ट्रेलियन मिडियाले नै भने, ‘विराटको आक्रामकता हामीलाई हराउन चाहिन्छ।’
विराट कोहली सुरुमा अत्यन्त व्यस्त, प्रतिस्पर्धी र दबाबपूर्ण जीवन बाँचिरहेका व्यक्ति थिए । भारतीय क्रिकेटका सुपरस्टार भएकाले निरन्तर अपेक्षा, प्रदर्शनको दबाब र आलोचनाले उनीभित्र मानसिक थकान बढाउँदै गइरहेको थियो । यही कारणले उनी मानसिक शान्ति र आत्मसन्तुलन खोज्न थाले । फलस्वरुपः आज उनी क्रिकेट इतिहासकै सबैभन्दा सम्मानित खेलाडीमध्ये एक हुन्, किनकि उनले आक्रामकतालाई हतियार बनाउन सिके ।
भेजिटेरियनको किस्सा
२०१८ को दक्षिण अफ्रिका टुरमा हुँदा उनलाई गर्दनमा समस्या भएर सुत्न समेत नसक्ने भए । उनले सुत्नका लागि औषधि लिनुपर्ने अवस्था थियो । दाहिने हातका औलाहरू रातभर झमझम गर्थ्यो ।
युरिक एरिडको स्तर पनि बढेर क्याल्सियम शरीरबाट निस्किएर रहेछ, उनी हातखुट्टा कमजोर भइरहेको अनुभव गर्थे । चिकित्सकले रिर्पोटपछि मासुजन्य खाना र दूधबाट बनेका खानेकुरा छोड्ने र खानपानको शैली बदल्ने सल्लाह दिए ।
मासु भने पछि हुरुक्कै हुने उनले स्वास्थ्य नै तहसनहस हुने सुनेपछि तुरुन्तै छाडे । ‘मलाई मासु छाडेपछि शरीरको बोझ नै हटेको अनुभूति भयो । अहिले ९० प्रतिशत उमालेको तरकारी, दान, तोफु, सलाद खाने गर्छु’ उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘मैले मेरो शरीरलाई अहिले चिनेको छु, जस्तो लाग्छ । म फिट पनि छु ।’
लामो पर्खाइपछि आईपीएल उपाधि
इन्डियन प्रिमियर लिग(आईपीएल) विश्वको सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । विराट कोहलीले आईपीएलको कुनै पनि अक्सन टेबलमा आफ्नो नाम सुनिरहनु परेन । सन् २००८ को पहिलो सिजनअघि ‘ड्राफट’ प्रक्रिया मार्फत उनी सिधै रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)मा छानिए । त्यसयता १८ वर्ष बितिसक्दा पनि उनी त्यही टिममा आवद्ध छन् । प्रत्येक मेगा अक्सन (२०११, २०१४, २०१८, २०२२, २०२५) मा आरसीबीले उनलाई सबैभन्दा पहिला र सबैभन्दा महँगो मूल्यमा रिटेन गरिरहेको छ ।

२०२२ मेगा अक्सनमा १५ करोडमा रिटेन गरिएको थियो भने २०२५ को अक्सनमा २१ करोडमा रिटेन गरियो । यो उनको वफादारी र फ्रेन्चाइजको विश्वासको सबैभन्दा ठूलो प्रमाण हो । ‘म आरसीबी को डिएनए हुँ’ उनले बारम्बार भन्ने गर्छन् । १७औँ सिजनसम्म आरसीबीले आईपीएसको उपाधि जित्न सकेको थिएन । आफ्नो टोलीलाई आईपीएल जिताउने विराटको धोको १८औं सिजनमा गतसाल पूरा भयो ।
टेस्ट कप्तानीको कीर्तिमान
विराटले ६८ टेस्टमा कप्तानी गर्दा ४० जिताए । जुन भारतीय इतिहासकै सबैभन्दा सफल टेस्ट कप्तान साबित भए । फेब्रुअरी २०२१ मा इंग्ल्यान्डलाई घरमा हराएपछि उनी घरेलु मैदानमा सबैभन्दा बढी टेस्ट जिताउने भारतीय कप्तान बने, एमएस धोनीको कीर्तिमान तोडे ।
उनी विश्वका पहिलो र एकमात्र क्रिकेटर हुन् जसले २०१४–१५ मा भएको अष्ट्रेलिया सिरिजमा पहिलो तीन टेस्ट इनिङ्समा लगातार तीन शतक हाने । कुनै पनि भारतीय कप्तानले बनाएका इतिहासकै सबैभन्दा बढी टेस्ट रन र टेस्ट शतक उनको नाममा छ।
२०१८ मा आइसीसी क्रिकेटर अफ द एयर, टेस्ट प्लेयर अफ द एयर र ओडीआई प्लेयर अफ द इयर तिनवटै उपाधि जितेर इतिहास रचे । पद्यम श्री र भारतको सर्वोच्च खेल सम्मान खेलरत्न पुरस्कार दुवैबाट उनी सम्मानित भइसकेका छन् ।
अनुष्कासँग विवाह र अध्यात्मप्रति झुकाव
विराट कोहली र अनुष्का शर्माको भेट कुनै साधारण संयोग थिएन, दुवैको जीवन बदल्ने ‘टर्निङ प्वाइन्ट’ जस्तै थियो । सन् २०१३ मा एक ठूलो ब्रान्डले दुवैलाई एउटै विज्ञापनका लागि साइन गर्यो । यही सेटमा पहिलोपटक उनीहरूको भेट भयो ।
विराट त्यसबेला युवा, जोशिलो र क्रिकेटमा निकै फोकस थिए भने अनुष्का बलिउडकी स्थापित अभिनेत्री । तर दुवैको व्यक्तित्वमा एउटै कुरा समान थियो, सादगी र आफ्नो कामप्रतिको इमानदारी ।
भेटको पहिलो क्षण धेरैले कल्पना गरेजस्तो ‘फिल्मी’ थिएन । विराटले मजाकमा आफ्नो उचाइ अनुष्काभन्दा अलि कम देखियो भनेर जिस्क्याए । अनुष्काले पनि यस्तै पारा देखाइन् ।

यसपछि उनीहरूको निकटा बढ्दै गयो । जीवन, काम, परिवार, दबाब, सफलता र असफलताबारे कुराकानी बढ्दै गयो । विराटले पछि एक अन्तर्वार्तामा भनेका थिए, ‘अनुष्कासँग कुरा गर्दा मन धेरै हलुका भएको महसुस हुन्थ्यो । म आफैं हराएर कुरा गर्न सक्थेँ ।’
धेरैले यो जोडीलाई बलिउडमा ग्ल्यामरस जोडी भन्छन्, तर उनीहरूको प्रेमको सुरुवात निकै साधारण- आदर, समझदारी र करिअरका दबाबलाई बुझिदिने साथीको सम्बन्धबाट सुरु भयो र विवाहमा परिणत भयो ।
विराट अध्यात्मतर्फ मोडिनु अचानक लिइएको निर्णय थिएन । त्यसको जरा जीवनका थुप्रै परिवर्तनमा थियो, जसमा उनकी जीवनसाथी अनुष्का शर्माको ठूलो भूमिका रहेको धेरैले बताउने गरेका छन् ।
अनुष्का योग, ध्यान र आध्यात्मिक चिन्तनमा पहिले नै गहिरो रुचि राख्थिन् । उनको साथ, प्रभाव र सन्तुलित जीवनशैलीले विराटलाई पनि आफ्नो आन्तरिक शान्ति खोज्न प्रेरित गर्यो । उनीहरू नीम करौली बाबा र प्रेमानन्द महाराजका आश्रमहरूमा पुगेका दृश्यहरू सार्वजनिक भएपछि विराटको अध्यात्मिक झुकाव अझ स्पष्ट भयो ।

अध्यात्मले बाहिरी सफलता मात्र होइन, भित्री सफलतासँग पनि जोडिने बाटो देखाएको उनी मान्छन् । ध्यान, जप, साधना र आध्यात्मिक गुरुसँगको मार्गदर्शनले विराटले आफ्नो मानसिक बलियो बनाउनुका साथै भावनात्मक स्थिरता र जीवनप्रतिको कृतज्ञता बढेको अनुभव गरेको बताउँदै आएका छन् ।
अध्यात्म यात्राले नै उनको व्यक्तित्व, व्यवहार र जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको उनी मान्छन् ।
ट्याटुमा लुकेको रहस्य
विराटको शरीरमा १२ वटा ट्याटु छन्, प्रत्यकको गहिरो कथा रहेको छ । उनको बायाँ हातमा बुबा प्रेम र आमा सरोजको नाम हिन्दी अक्षरबाट खोपेका छन् । जसले परिवारप्रतिको गहिरो लगावलाई दर्शाउँछ ।
बाँया हातमै अर्को ट्याटु छ, भगवान शिवको, जसमा कैलाश पर्वतमा ध्यान दिएको मुद्रामा देखिन्छन् । यो उनको आध्यात्मिक मान्यता र आन्तरिक शान्ति र शक्तिको खोजको प्रतीक र शिवको नजिकै अर्को ऊँ चिन्ह पनि छ, जसलाई उनी ब्रमाण्डको सबैभन्दा सुसंगत ध्वनि मान्छन् ।

अर्को जापानी समुराई बायाँ काधमा छ, जो एक जापानी समुराई योद्धाको हो । समुराई बुशिडो कोडलाई पालना गर्छन् । यसले इमानदार, सम्मान, न्याय र साहस जस्तो गुण समावेश छ । यी गुण आफ्नो जीवनका लागि प्रेरणा भएको उनी मान्छन् ।
त्यति मात्र होइन, आफ्नो बाया हत्केलाको माथिल्लो भागमा टेस्ट डेब्यू क्याप नम्बर २६९ र ओडीआई डेब्यू क्याप नम्बर १७५ खोपेका छन् । उनलाई यो ट्याटुले क्रिकेट करियरको सुरुवात र देशका लागि खेल्न पाएको समयको सम्झना दिलाइरहन्छ ।
यसको साथै राशि चिन्ह, ट्राइबल आर्ट, ज्यामिति फुल डिजाइनका ट्याटु उनको शरीरमा देख्न सकिन्छ ।
फेसनका बादसाह
विराट कोहिलीलाई भारतका सबैभन्दा स्टाइलिश खेलाडीहरू मध्ये एक मानिन्छ । उनको फेसन सेन्स सधैं सरल तर आधुनिक र आकर्षक देखिन्छ । उनी प्रायः फिट टी–शर्ट, स्लिम–फिट जिन्स र सेतो स्निकर्समा देखिन्छन्, जसले उनको एथलेटिक लुकलाई झनै दमदार बनाउँछ ।

फर्मल पोशाकमा पनि उनले क्लासिक सूट र न्युट्रल रङ रोज्छन् । ट्रिम्ड दाह्री, फेड हेयरकट र मिनिमलिस्ट लुक नै उनको पहिचान बनेको छ । ‘पुमा’ र ‘रोगन’ जस्ता ब्रान्डसँगको सहकार्यले उनलाई फेसन आइकनको रूपमा थप स्थापित गरेको छ । फ्यान र मिडियाले उनलाई निरन्तर ‘मोस्ट स्टाइलिस प्रसनालिटी’ भनी मान्यता दिइरहेका छन्।
विराट कोहली आज
३७ वर्षको उमेरमा पनि उनी जर्बरजस्त ब्याट्सम्यान मानिन्छन् । विराट केवल क्रिकेट खेलाडी नभई विश्वभर लोकप्रिय आइकन पनि हुन् । टेस्ट, एकदिवसीय र टी-२० तीनै टाँचाका क्रिकेटमा उत्तिकै प्रभावशाली प्रदर्शन विराटले रह्यो ।
फोर्ब्सको टप एथलिट सूचीमा वर्षौंदेखि रहनुको कारण केवल खेलको उत्कृष्टता मात्र होइन, उनको प्रदर्शन, नेतृत्व क्षमता र व्यक्तित्वको आकर्षण हो । मैदानमा विराटको जोशिलो खेल, लगातार रन बनाउने क्षमता र दबाबमा पनि शान्त रहन सक्ने शैलीले विश्वव्यापी खेलप्रेमीहरूलाई मोहित बनाउँछ ।
तर केवल खेलले उनलाई लोकप्रिय बनाएको होइन । विराटले फिटनेस, अनुशासन र आत्म–निर्माणलाई पनि जीवनको हिस्सा बनाएका छन । उनको जिम र फिटनेसको डेडिकेसन, खेलको तयारी, ध्यान र योग–मेडिटेशन अभ्यास युवाहरूलाई प्रेरणा दिन्छ । आज उनी इन्स्टाग्राममा मात्र २८० मिलियन फलोअर्स र दर्जनौं ब्रान्डका एम्बेसडर हुन्।
प्रतिक्रिया 4