News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडाैं महानगरपालिकाको सहरी व्यवस्थापन विभागमा भवन निर्माणका लागि बेसमेन्ट खन्दा घर चर्किएको भन्दै ३० भन्दा बढी छिमेकीले क्षतिपूर्तिको मागसहित उजुरी दिएका छन्।
- महानगरपालिकाको भवन व्यवस्था समितिले निर्माण पक्षलाई कानुनी प्रतिबद्धता अनुसार सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।
- भवन निर्माण गर्दा माटोको अवस्थिति र जमिन सतहको सम्बन्ध बुझेर दक्ष जनशक्ति आवश्यक रहेको निष्कर्ष छलफलमा निकालिएको छ।
७ मंसिर, काठमाडौं । भवन निर्माणका लागि जग (बेसमेन्ट) खन्दा निर्माण पक्षले सुरक्षा उपाय नअपनाएका कारण आफ्नो घर चर्केको, घर नै कोल्टिएको, घरमा बस्न असुरक्षा भएको कारण जनाउँदै काठमाडाैं महानगरपालिकाको सहरी व्यवस्थापन विभागमा क्षतिपूर्तिको मागसहित उजुरी दिने छिमेकीको संख्या बढ्न थालेको छ ।
भवन नक्सा स्वीकृत गर्दा नै यस प्रकारका सुरक्षा उपायको बलियो प्रबन्ध गर्न, छिमेकीलाई असर नगर्न घरधनीले प्रतिबद्धता गर्नुपर्छ ।
तर, कागजमा गरिएको प्रतिबद्धता फिल्डमा पूरा नगर्दा, लापरबाहीपूर्ण काम गर्दा समस्या बढ्न थालेको महानगरले जनाएको छ । महानगरपालिकाको भवन व्यवस्था समितिले यस विषयमा छलफल गर्दै प्रचलित कानुनको प्रतिबद्धताका साथ कार्यान्वयन गर्न भवन निर्माण पक्षलाई आग्रह गरेको छ ।
समितिका संयोजक हिरालाल तण्डुकार भन्छन्, ‘यस्ता समस्या पहिले थोरै सुनिन्थे । अहिले बढ्न थाले । यसको दिगो समाधानका लागि प्राविधिक र सामाजिक पक्षको अध्ययन गर्नु पर्ने देखिएको छ । विज्ञ र साझेदारको सहयोगमा हामी यो कामलाई अगाडि बढाउँछौँ ।’
कानुनी मर्यादामा निर्माण पक्षले लापरबाही गर्दा समस्या आएको उनले बताए। समितिका सदस्य सचिव एवम् विभागका प्रमुख सिनियर डिभिजन इञ्जिनियर हरिश्चन्द्र लामिछाने भन्छन्, ‘भवन नक्सा स्वीकृति लिँदा तोकिएका शर्तहरूको पूर्ण पालना हुनुपर्छ । यी शर्त पूरा नहुँदा विवाद सिर्जना हुन थाले । यसले निर्माण अवधि पनि लामो हुन्छ, खर्च पनि बढ्छ ।’
यसरी उजुरी परेपछि प्राविधिक टोलीलाई फिल्ड निरीक्षणमा पठाएर प्राप्त प्राविधिक प्रतिवेदनअनुसार पीडितको क्षति कम हुनेगरी काम अघि बढाइने उनले बताए । साथै त्यसबाट कारबाही अगाडि बढाउने गरिएको लामिछानेको भनाइ छ ।
विभागका स्ट्रक्चर इञ्जिनियर सन्तोष पाण्डेयका अनुसार बेसमेन्ट खनेका आफ्नो घर चर्किएको भनेर उजुरी दिनेहरुको संख्या ३० को हाराहारीमा पुगेको छ । वडा नम्बर १३, १४, १५, ७ लगायत वडाबाट धेरै उजुरी र गुनासो रहेको पाण्डेयको भनाइ छ ।
जिओटेक्निकल इञ्जिनियर उदयराज न्यौपाने भन्छन्, ‘मानिसमा छिमेक भएजस्तै जमिन सतहको माटोको पनि आपसमा सम्बन्ध हुन्छ । यसलाई खन्दा सम्बन्ध टुट्छ । यो पक्षलाई नबुझ्दा समस्या आएको हो । बेसमेन्ट निर्माण गर्नु भनेको पूरा इञ्जिनियरिङ काम हो । यसलाई ठेकेदार आफैले गर्न खोज्दा पनि समस्या आएको हुनसक्छ । त्यसैले यो काम गर्दा दक्ष जनशक्ति चाहिन्छ ।’
छलफलमा जमिन सतह र प्रकृति, माटोको अवस्थिति जस्ता पक्षमा कुरा गर्दै भवन निर्माणका लागि ड्रइङ डिजाइनिङ्सँगै निर्माण कार्यमा घरधनी, ठेकेदार उत्तरदायी हुनुपर्ने निष्कर्ष निकालिएको छ ।
छलफलमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अधिकारीहरु पनि सहभागी थिए । उनीहरुले सहरी विकासमा भवन निर्माणको क्रम र भूमिगत पानी दोहनका कारण सिर्जना हुन सक्ने जोखिमका विषयमा धारणा राखे ।
भवन निर्माण गर्दा भवन निर्माण संहिताले निर्माण सुरक्षा अपनाउनु पर्ने व्यवस्था गरेको छ । यस्तै मुलुकी देवानी संहिता २०७० को परिच्छेद ३ को दफा २७८ बमोजिम निर्माण सम्बन्धी काम गर्दा सुरक्षात्मक उपाय अपनाउनुपर्छ । यसमा भनिएको छ, ‘कुनै व्यक्तिले आफ्नो घर वा जग्गामा कुनै काम गर्दा संघीयारको घर वा जग्गा वा संघीयारलाई कुनै किसिमको हानी नोक्सानी नहुने वा असर नपर्ने गरी सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ ।’
प्रतिक्रिया 4