+
+
Shares

मनोहरा सुकुमबासी बस्तीमा डोजर : बिचौलियाको भर गर्दा भए बेघर

मनोहरा जग्गा एकीकरण आयोजनाका कानुन अधिकृत मनोज भेटुवालका अनुसार जसले पछिल्लो चरणमा जसले घर बनाए, उनीहरूलाई बिचौलियाले पछि लालपुर्जा दिने प्रलोभन दिएर सस्तोमा जग्गा बेचेर फसाएका हुन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ साउन ३० गते २१:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले मनोहरा खोलाको सुकुमबासी बस्तीमा डोजरसहित घरटहरा भत्काएको क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ।
  • झडपमा तीनजना नगर प्रहरी सामान्य घाइते भएका छन् भने अवैध संरचना भत्काउने क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
  • मनोहरा जग्गा एकीकरण आयोजनाले अवैध कब्जा गरी बनेका नयाँ संरचना मात्र हटाएको र बिचौलियालाई कारबाही गर्न पहल भइरहेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन्।

३० साउन, काठमाडौं । जडीबुटीको मनोहरा खोला किनारको सुकुमबासी बस्ती शुक्रबार दिउँसोभर तनावग्रस्त बन्यो ।

बिहान ११ बजे काठमाडौं महानगरपालिकाको टोली डोजरसहित घरटहरा भत्काउन पुग्दा स्थानीय आक्रोशित बने । टिनले छाएका घर र टहराहरू भत्काइन लागेको भन्दै प्रहरीमाथि जाइलागे ।

घर–टहरा भत्किन थालेपछि त्यहाँ बस्दै आएकाहरूमा रुवाबासी भयो । उनीहरूले डोजर र नगर प्रहरीमाथि ढुंगामुढाको प्रयास गरे ।

महानगरको टोलीलाई रोक्न खोज्दा सुकुमबासी र नगर प्रहरीबीच झडप भयो । त्यसक्रममा तीनजना नगर प्रहरी सामान्य घाइते भएका छन् ।

खाली जग्गामा अवैधरूपमा घरटहरा बनाएर बसिरहेकाहरू नगर प्रहरीमाथि जाइलागेकै थिए, समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीमाथि पनि वर्षिन खोजे ।

साउने झरीको बेला, मनोहराका अवैध बसोबासीहरूले घरटहराभित्रका सामान नगर प्रहरीले बाहिर निकालिदिन खोज्दा आक्रोशित हुनु स्वभाविक थियो । तर, महानगर प्रशासनको आदेशमा डोजरसहित पुगेको नगर प्रहरीको टोली रोकिएन ।

अस्थायी घरटहरा भत्किएपछि आजै राति कहाँ बास बस्ने भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको देखिन्थ्यो । पूर्व सूचना नदिएको भन्दै उनीहरू रोष पोख्दै थिए ।

‘कम्तिमा सूचना दिएको भए सामान त निकाल्थे होला,’ छिमेकीले भने ।

‘पत्रिकामा सूचना थियो त’ भन्दै घरटहरामा डोजर चलाइएको उनीहरूको गुनासो छ । एक जना भन्दै थिए, ‘हामीले पत्रिका कहिले हेर्नु ? त्यहाँ सूचना थियो भनेपनि हामीलाई कसरी थाहा हुन्छ ?’

काठमाडौं महानगर भने स्थानीयको दाबी झुटो भएको बताउँछ । महानगर प्रहरी प्र्रमुख राजु पाण्डे आफूहरूले पटकपटक सूचना दिएको बताउँछन् । मनोहराका सुकुमबासीलाई अवैध संरचना हटाएर खाली गर्न दुईतीन महिनादेखि निरन्तर सूचना दिइरहेको उनको दाबी छ ।

पाण्डेकाअनुसार सूची बनाएर मनोहरामा कम्तिमा ३० वटा अवैध संरचना भत्काइनेछ ।

महानगरले तीन महिनाअघि नै ‘मनोहरा जग्गा एकीकरण आयोजना’को जमिनमा बनेका अवैध संरचना हटाउन सूचना दिएको दाबी गरेको छ ।

डोजरले टिनका छाना भत्काउन थाल्दा बसोबासीहरू आफ्नो सामान जोगाउने चटारोमा थिए । एकै परिवारका कोही सामान निकाल्दै थिए भने कोही बाहिर रुने/कराउने गरिरहेका थिए ।

बसिरहेको छानो उजाडिन लागेको थाहा पाएर जडीबुटीबाट रुँदै आएकी एक महिला बीच सडकमै बिलौना गर्दै थिइन् । ‘म जडिबुटीबाट रुँदै आएँ, मेरो घर भत्काउन आएछन् भनेर । मसँग अब एक रुपैयाँ पनि छैन । अब कहाँ जाऊँ ?’, उनी भन्दै थिइन् ।

ति महिलाकाअनुसार उनको खुट्टा भर्खरै अपरेशन गरिएको थियो । आफ्नो आर्थिक अवस्था र असहजता पोख्दै उनले भनिन्, ‘यो घर बनाउन मैले २० लाख खर्च गरेँ । ठेकेदारले पनि खाइदिए । अब मेरो पैसा फिर्ता चाहिन्छ ।’

उनको आक्रोश र आँसुले वरपरका सबैको मन भारी बनाएको बुझ्न सकिन्थ्यो । सबैले सहानुभूति दर्शाइरहेका थिए ।

छेउमै अर्की महिला नगर प्रहरीसँग बिन्ती गर्दै थिइन्, ‘हामीलाई सामान निकाल्न समय देऊ, हामी कति वर्षदेखि यहीँ बसेका छौँ । यो घरजग्गा मिचेको हैन, मिहिनेतले बनाएको हो ।’

नगर प्रहरीले उनलाई बोलाएर अलि पर लगे । उनी त्यही खोला किनारमा एक्लै बसेर रुन थालिन् । ‘मलाई तिमीहरूले आफ्नो घरमा लान्छौ ? अब म कहाँ जाऊँ ? मलाई अब जागिर देउ,’ उनले भनिरहिन् ।

सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका थिए । तिनै सुरक्षाकर्मीलाई अघि राखेर अर्का स्थानीय बोले – हामीले कति दुख गरेर यो घर बनाएका थियौं । महानगरले दादागिरी देखायो । समितिका मान्छेले जग्गा बेचेर खाए, अहिले हामीलाई दोष ? हामीलाई नलखेट, बरु यो ठगेर बेच्नेलाई समात ।’

नगर प्रहरीकाअनुसार शुक्रबार भत्काइएका संरचनाहरू भएको जग्गा मनोहरा जग्गा एकीकरण आयोजनाले व्यवस्थापन गर्दै आएको छ । आयोजनाले व्यक्तिका नाममा भएका जग्गा समेत व्यवस्थापन गर्ने जिम्मा लिएको छ । तर, पछिल्लो समय केही बिचौलिया समूहले अवैध कब्जा गरेर घरटहरा बनाउन दिएको देखिएको छ ।

‘यो सार्वजनिक जग्गा होइन, तर अवैध रूपमा कब्जा गरिएको छ । हामीले पुराना बासिन्दाको टहरा भत्काएका छैनौँ, नयाँ बनेका संरचना मात्र हटाएका हौँ,’ पाण्डेले भने, ‘अब यसलाई आयोजनाले नै प्लटिङ गरेर लालपुर्जावाला जग्गाधनीलाई फिर्ता गर्नेछ । उनीहरूले नै व्यवस्थापन गर्नेछन् ।’

बिचौलियाका कारण आफूहरू फसेको बसोबासीको गुनासो छ । ‘बिचौलियाले हामीलाई घर बनाउन दिनेगरी जग्गा बेचे हामीले किनेर घर बनाउँदा अहिले फस्यौं’, उनीहरू भन्दै थिए ।

बिचौलिया पहिचान गरेर कारबाही गर्नुपर्नेमा आफूहरूलाई बेघर बनाइएको भन्दै उनीहरू आक्रोश पोख्दै थिए । बिचौलियामार्फत सस्तोमा जग्गा किनेका उनीहरूसँग जग्गाधनी पुर्जा छैन ।

खास विवाद के हो ?

विवादको सुरुवात २०५९ सालमा मनोहरा जग्गा एकीकरण आयोजनासँगै भएको हो । यो आयोजनाले काठमाडौं–३२ नम्बर वडाको व्यक्तिगत जग्गा र खोलाको बहाव क्षेत्र व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।

तर, मनोहरा खोलाले आफ्नो बहाव परिवर्तन गर्दा काठमाडौंको जग्गा खोलापारि (भक्तपुरतिर) पुग्यो । आयोजनाका कानुन अधिकृत मनोज भेटुवालले अनलाइनखबरसँग भने, ‘खोलाले बहाव बदलेर यता सरेको छ । व्यक्तिका जग्गाहरू खोलापारि पुगेका छन् । पुरानो बस्तीले खोला बग्ने ठाउँ कब्जा गरेको छ ।’

यद्यपि, पुरानो बस्तीको हकमा भूमि आयोगले हेर्ने उनी बताउँछन् । यस क्षेत्रमा २० वर्षदेखि सरकारले निर्माण रोक्का गरेको छ । तैपनि, पछिल्लो डेढ–दुई महिनामा उक्त बस्तीमा २०–२२ नयाँ टहरा बने । ‘हामीले बारम्बार रोक्न भन्यौँ । नबनाउन अनुरोध गर्यौँ । सूचना जारी गरेर टहरा हटाउन भनेका थियौँ । तर, अटेर गर्दा समस्या भयो,’ उनले भने ।

 भेटुवालका अनुसार जसले पछिल्लो चरणमा जसले घर बनाए, उनीहरूलाई बिचौलियाले पछि लालपुर्जा दिने प्रलोभन दिएर सस्तोमा जग्गा बेचेर फसाएका हुन् ।

यो कुरालाई छुट्टै अनुसन्धान गर्न प्रहरीमा आफूहरूले पनि अनुरोध गरिरहेको र त्यसको लागि पहल भएको उनले बताए ।

मनोहरा सुकुम्बासी बस्तीभित्रै थरीथरी समिती छन्, तिनैले ८–१० लाखमा जग्गा बेच्यो, तर लालपुर्जा दिएन ।

सस्तोमा पाएपछि लोभिएर जग्गा किन्दा उनीहरू फसे । समितिभित्रैका बिचौलियाले पनि पछि लालपुर्जा दिने आश्वासन बाँडेर फसाएको उनको दाबी छ ।

‘आज पनि घटनापछि बस्तीका मान्छेहरू समितीलाई खोज्दै थिए । उनीहरूलाई कारबाही गर्नुपर्छ भनेर भन्दै थिए,’ भेटुवालले भने, ‘त्यसको छुट्टै कानुनी उपचार गरेर न्याय दिनुपर्छ । हामीले पनि अब अरुको जग्गा प्लटिङ गरेर सम्बन्धितलाई फिर्ता गर्नुपर्छ । त्यसैले भत्काएका हौँ ।’

 तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर 

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?