
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा कवाड संकलन केन्द्र राख्न नपाउने निर्णय कार्यान्वयन गर्दा मधेशी मूलका कवाड व्यवसायीहरू तीन दिनदेखि आन्दोलन गरिरहेका छन्।
- कवाड व्यवसायीहरूले महानगर प्रमुख बालेन शाह र प्रहरी प्रमुख राजु पाण्डेलाई लक्षित गर्दै कुर्सी छोड्न आग्रह गर्दै विरोध प्रदर्शन गरेका छन्।
- कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले महानगरपालिकाले करिब एक लाख व्यवसायीको रोजगारी संकटमा पारेको र डिपोमा डोजर चलाएर विस्थापन गरेको आरोप लगाएका छन्।
११ भदौ, काठमाडौं । कुनै न कुनै माग राख्दै आन्दोलन भइरहने काठमाडौंको सडकमा तीन दिन यता कवाड व्यवसायीहरू छन् । विषेशगरी मधेशी मूलका व्यक्तिहरूको बाहुल्यता रहेको यो आन्दोलनको मुख्य तारो संघीय होइन स्थानीय सरकार छ अर्थात् काठमाडौं महानगरपालिका ।
अघिल्ला दुई दिन जस्तै बुधबार पनि बिहान एघार बजेदेखि भृकुटीमण्डपमा भेला हुन थालेका कवाड व्यवसायीहरू जम्मा हुने क्रम एक बजेसम्म चल्यो । त्यसपछि चौरमा छरिएका सबै समेटिएर लागे- काठमाडौं महानगरपालिकाको कार्यालय, कमलादी ।
जब र्याली सुरु भयो, उनीहरूले महानगर प्रमुखलाई कुर्सी छोड्न आग्रह गर्दै नारा लगाए । उनीहरूको आक्रोशको निशानामा अर्का व्यक्ति पनि थिए–महानगर प्रहरी प्रमुख राजु पाण्डे ।
आन्दोलनकै हुलमा भेटिएका रौतहटका बिजुली बैठाले भने- हाम्रो त साइकल चोरिन्छ । दु:ख पनि धेरै दिएका छन् । रोजीरोटी खोसिदिए बालेनले ।
काठमाडौंको बानेश्वर क्षेत्रमा साइकलमा कवाड संकलन गर्दै हिँड्ने बैठा ५३ वर्षका भए । २२ वर्षदेखि यही पेशामा रहेर उनले आधा जीवन बिताए । अहिले महानगरले कवाडी संकलन केन्द्र मानव बस्तीको बीचमा राख्न नपाउने निर्णय गरेपछि उनी सडक संघर्षमा आएका हुन् ।
रौतहटबाट आएका बैठाले साथीहरूकै संगतले यो पेशामा हात हाले । परिवारको जीविकोपार्जन यसैबाट गर्दै आएका छन् । ‘हाम्रो रोजीरोटी खोसियो । हामीलाई काठमाडौं नै छोडेर जा भनियो । के यो ठाउँ हाम्रो होइन ?,’ मेयर बालेनप्रति संकेत गर्दै उनले भने ।

एकातिर काठमाडौं सफाईमा सहयोग, अर्कोतर्फ केही आम्दानी पनि हुने कारण यो पेशाले बैठालाई सन्तुष्टि दिएको छ ।
उनी भन्छन्- ‘हामी नपढेको मान्छेले केही कमाएर पेट/परिवार पाल्न पाइरहेका छौँ । सरसफाइ पनि भइरहेको छ । तर, सरकारले हामी दु:खीलाई देख्न सकेन ।’
बैठाको परिवारमा दश जना छन् । उनका चार मध्ये दुई छोरा काठमाडौंमै कवाड व्यवसायमै संलग्न छन् यसरी सबै मिलेर काम गर्दा दिनमा औसत ७०० देखि ८०० कमाउँछन् ।
उनको मासिक आम्दानी २० देखि ३० हजार रुपैयाँसम्म हुन्छ । यो रकमले उनले घरखर्च, छोराछोरीको पढाइ र अन्य आवश्यकता पूरा गर्ने गरेका छन्, जुन अहिले संकटग्रस्त अवस्थामा रहेकोले आन्दोलनमा आउनुपरेको उनी बताउँछन् ।
उनीहरूले कवाडी संकलन गर्छन् । त्यसपछि लगेर आफ्नो साहुलाई बुझाउँछन् । ती साहुहरूले आफ्नो ढंगले यसलाई व्यवसाय बनाउँछन् ।
‘हामी साहुसँगै बस्छौँ एउटा घरमा । दिनभर बटुलेको कवाडी लगेर उनैलाई बेच्छौँ । साहुले रिसाइकल गर्न पठाउँछन् । हाम्रो कमाई त्यही हो, अरु राजनीति त बुझ्दैनौं हजुर,’ आन्दोलनमा भेटिएका अर्का एकजनाले भने ।
उनीहरूको आन्दोलनको नारा नै बनेको थियो- ‘थोत्रा कागज, बोतल, कवाडी, फलाम’ आन्दोलन जिन्दावाद ।
०००
४३ वर्षीय शिवशंकर चौधरीलाई पनि आन्दोलनमा आउने कुनै सोख थिएन । चाबहिलको सडकमा साइकलमा कवाड संकलन गर्दै हिँड्ने यिनको मूल घर सर्लाहीमा छ ।
तर, विगत २५ वर्षदेखि काठमाडौंमा कवाड संकलन गर्ने र बेच्ने दैनिकीमा अभ्यस्त छन् उनी । जुन पेशाले आफ्नो जीवनको आधा उमेर बचायो, त्यही पेशामाथि चुनौती आउँदा चुप बस्न सकेनन् ।
शिवशंकरकाअनुसार उनले ०५७ सालदेखि काठमाडौंमा कवाड संकलनको काम सुरु गरे । पाँच जनाको परिवारलाई यसैले बचायो । ठूलो छोराले कक्षा १२ उत्तीर्ण गरेको छन् भने कान्छो छोरा एचए पढ्दैछन् ।
यसैबाट छोराछोरीलाई अझै पढाउनु छ उनलाई । ‘हाम्रो अरु कुनै आम्दानी छैन, यही पेशाबाट परिवार चल्छ । जानेको पनि यही हो,’ उनले भने, ‘तर सरकारले नै यो पनि नगर,त्यो पनि नगर भन्न थाले !’
सामान्य समयमा शिवशंकरको मासिक आम्दानी औसतमा २० देखि २५ हजार रुपैयाँ छ । कवाड संकलन गरेर उनी घरघरबाट बोतल, कार्टुन, फलामलगायतका सामग्री किन्छन् र साहुलाई बेच्छन् ।

महानगर प्रहरीले कवाड संकलन गर्नेहरूको साइकल खोस्ने र लखेट्ने गरेको उनको अनुभव छ ।
‘मेरो साइकल त खोसेको छैन, तर साथीहरूको खोसिएको छ । तर, मैले पनि धेरैपटक भागाभाग गर्नुपर्छ । नगर प्रहरी देख्यो कि मन आत्तिइहाल्छ, भाग्छु । उनीहरूले पनि लखेट्छन्,’ उनले भने ।
उनी मात्र होइन नगर प्रहरीप्र्रति आन्दोलनमा आएका अन्य आक्रोशित देखिन्थे । त्यसैले कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले प्रहरीसँग समन्वय गर्दा नगर प्रहरीलाई आउन नदिन अनुरोध गरेका थिए ।
‘हाम्रा साथीहरूले नगर प्रहरी देख्न सक्दैनन् । त्यसैले उनीहरूलाई अगाडि आउनचाहिँ नदिनु,’ त्यहाँ खटिएका प्रहरी नेतृत्वलाई गुप्ता अनुरोध गर्दै थिए, ‘दुई वर्षदेखि उनीहरूबाट कुटाई खाएका छन् । अनि रिसाउँछन् सर । आन्दोलन भड्किने डर हुन्छ ।’
३६ वर्षदेखि कवाड संकलन गरिरहेका वीरेन्द्रप्रसाद शाह पनि आफ्नो पेसा अब संकटमा गएको ठान्छन् । काठमाडौंको कुलेश्वरमा बस्ने उनी रौतहटबाट काठमाडौं आएदेखि नै यस पेसामा आबद्ध छन् ।
यिनको परिवारलाई यसैले बचाएको छ । लामो समयदेखि उनको जीविकाको आधार बनेको यो पेशा अहिले संकटमा पर्दा उनमा आक्रोशको सीमा छैन ।

महानगरपालिकाको प्रतिबन्ध र कवाडी संकलकमाथिको दमनले आन्दोलनको बाटो रोज्न बाध्य बनाएको उनले बताए ।
परिवारमा पाँच जना छन्– दुई छोरा, श्रीमती र आमा । उनी यहाँ कमाएको पैसा घर पठाउँछन् । ‘अहिले मलाई यहीँ गाह्रो हुन थालिसक्यो । अब के हुन्छ ? घरमा के होला ? आफैँ बुझ्नु…,’ उनी रोकिए ।
सामान्य समयमा वीरेन्द्रको दैनिकी बिहान ७ बजे सुरु हुन्छ । बिहानको खाजा खाएर उनी साइकल लिएर गल्ली–गल्लीमा कवाड संकलन गर्न निस्कन्छन् ।
दिनमा १२ घण्टा खट्छन् । ‘बोतल, कार्टुन, फलाम किन्छु, साहुलाई बेच्छु,’ उनले भने, ‘जम्मा त्यही २० हजार जति त कमाई हुन्थ्यो । यसमा पनि किन आँखा लगाएको बुझ्न सक्दैनौँ ।’
हजार जनाभन्दा धेरै उपस्थिति रहेको यो आन्दोलनमा महिलाको संख्या एकदमै कम थियो ।
०००
भृकुटीमण्डपबाट सुरु भएको यो आन्दोलन कमलादीस्थित काठमाडौं महानगरको कार्यालय अगाडि गएर रोकियो । बालेनको कार्यकक्षतर्फ माइक तेर्साएका उनीहरूले भोजपुरी गीत घन्काए । नाचगान गर्न थाले मधेशी समूदायमा लोकप्रिय गीत घन्काएर चेतावनीको घण्टी बजाए ।
कतिपयले भन्दै थिए – हामी त नेपाली नै हैनौँ जस्तो गर्छन् यहाँ । काठमाडौं छोडेर जा भन्न खोजेको त होला नि, हाम्रै पेशामाथि धावा बोलेर ! अरु समयमा पनि पहाडिया समाजले नेपाली नै नठान्ने गरेको अमिलो अनुभव उनीहरूसँग छ । अनौपचारिक कुराकानीको क्रममा यी कुरा पनि आन्दोलनकारीले कोट्याए ।
यिनै कुराको पेच परेर होला, आन्दोलनकारीले नेपालको राष्ट्रिय झण्डालाई बिम्बको रुपमा प्रयोग गरेको थिए । केहीबेर नारा लगाएपछि उद्घोषकले भनिहाल्थे– ‘हाम्रो चन्द्रसूर्य अंकित राष्ट्रिय झन्डा फहाराउनुहोस् ।’ त्यसपछि हातहातमा झन्डा राष्ट्रिय झन्डा बोकेका सबैले फहाराउँथे ।
‘हामी पनि नेपाली हौँ । हामीलाई यहाँबाट लखेट्न खोज्ने दुस्प्रयास स्वीकार्य छैन,’ आन्दोलनमा स्वयंसेवीको भूमिका निभाईरहेको एक कवाड व्यवसायीले भने ।
आन्दोलनमा सहभागी कवाड संकलकले यसो भन्दै गर्दै उनीहरूको व्यवस्थापन भने सम्बन्धित पेशामा साहुहरूले गरिरहेका देखिन्थे । एकजना साहू मातहतमा १५/२० जना संकलक हुने र उनीहरूबाट कवाडी सामान लिएर साहूहरूले व्यापार गर्ने गरेको संकलकहरूले बताए ।
‘महानगरले एक लाखको रोजगारी खोस्यो’
काठमाडौं महानगरपालिकाको कवाड संकलनमा प्रतिबन्धविरुद्ध आफूहरूले आन्दोलन गरेको कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले बताए । उनकाअनुसार महानगरले कवाड संकलकलाई धपाउँदा लाखौंको रोजीरोटी संकटमा परेको छ । काठमाडौंमा करिब एक लाख व्यवसायी र २–३ हजार डिपो छन्, जसले वार्षिक २०–२५ अर्बको कारोबार गर्छ ।
यो व्यवसायले सहरको सरसफाइमा योगदान दिँदै लाखौंलाई रोजगारी दिएको छ । तर, महानगरले कबाडीहरूलाई ‘फोहोर’ भन्दै लखेट्ने, साइकल खोस्ने र संरचना भत्काउने गरेको गुप्ताको आरोप छ । डिपोमा गएर डोजर चलाउने र कवाड व्यवसायीलाई विस्थापित गर्न खोजेको आरोप उनले लगाए ।
‘बालेनले आफै डिपो खोलेर व्यवसाय कब्जा गर्न खोजेका छन्,’ उनले आरोप लगाउँदै भने, ‘ बरु हामी कर तिरेर कानुनी रूपमा काम गर्छौँ । महानगरले पनि हाम्रो मेहनतको सम्मान हुनुपर्छ । जबजर्स्ती विस्थापित गर्नचाहिँ पाइँदैन ।’
नगरसभाको निर्णय कार्यान्वयन भएको हो : राजुनाथ पाण्डे
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे काठमाडौं महानगरको नगरसभाले पास गरेको विषय कार्यान्वयन गरिएकोले कसैमाथि निशाना गर्न आवश्यक नरहेको बताउँछन् ।
‘म वा बालेन शाह, कसैमाथि निशाना गर्न आवश्यक छैन । नगरसभाले जे पास गर्यो, त्यो नै हामीले कार्यान्वयन गरेका हौँ,’ उनले अनलाइनखबरसँग भने ।
पाण्डेकाअनुसार काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम २०८१/८२ मा कवाड संकलन केन्द्र र निर्माण सामग्रीको स्टोरलाई आवासीय क्षेत्रबाहेक अन्य स्थानमा मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।
यो निर्णय नगरसभाले पारित गरेको हो, जसलाई कार्यान्वयन गर्न महानगर अघि बढेको हो । ‘सोही बमजोमि नरहेकालाई हामीले कारबाही गरिरहेका हौँ,’ उनले भने ।
प्रतिक्रिया 4