Comments Add Comment

पुडासैनी आत्महत्या प्रकरणमा ‘युट्युब ट्रायल’ को अभ्यास

विज्ञ भन्छन्– युट्युबर पत्रकार होइनन्, प्रहरी भन्छ– अफवाह फैलाउने समातिन्छन्

४ भदौ, काठमाडौं । चितवनको कंगारु होटलमा साउन २० गते मृत भेटिएका सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान ‘सोसल मिडिया ट्रायल’ को कोपभाजनमा पर्ने खतरा बढ्न थालेको छ । यो घटनामा खासगरी ‘युट्युब ट्रायल’ को गम्भीर खतरा बढेको छ ।

‘सोसल मिडिया ट्रायल’ अहिले विश्वभरिको न्यायालय एवं न्यायिक प्रक्रियामाथिको चुनौतीको विषय हो । अदालतले निरुपण गर्नुपर्ने कुनै पनि मुद्दा मामिलालाई फेसबुक, ट्विटर वा युट्युब लगायतका सामाजिक सञ्जालमार्फत प्रभावित बनाउने वा अदालत बाहिरैबाट दोषी–निर्दोषी छिनोफानो गर्न खोज्ने कार्यलाई ‘सोसल मिडिया ट्रायल’ भनेर बुझिन्छ ।

हुनत न्यायालयका अधिकारीहरु अफिसियल एवं परम्परागत मिडियाहरुले पनि कहिलेकाहीँ ‘मिडिया ट्रायल’ गर्ने गरेको गुनासो गर्छन् । तर, पछिल्लो समय औपचारिक एवं परम्परागत मिडियाले भन्दा ‘अनअफिसियल मिडिया’ ले अपराध अनुसन्धान र न्याय निरुपणलाई प्रभावित बनाउन थालेका छन् ।

नेपालमा पछिल्लोसमय कुनै अपराधको घटना हुनासाथ ‘सोसल मिडिया ट्रायल’ सुरु हुन थालेको भन्दै सरोकारवालाहरुले चिन्ता जनाएका छन् । परम्परागत मिडिया पुग्न नसकेको ठाउँमा पनि युट्युबरहरुको बाक्लो उपस्थिति हुने र वैयक्तिक घटनालाई समेत सार्वजनिकीकरण गर्न थालिएको छ । आम मानिसले कुन औपचारिक मिडिया हो र कुन हैन भनेर छुट्याउन नसक्दा भ्रम फैलँदो छ ।

यसअघि निर्मला हत्या प्रकरणमा अदालतले कसैलाई दोषी ठहर नगरिकन को अपराधी हुन् र को निर्दोष हुन् भन्दै कतिपयले सामाजिक सञ्जाल र ब्लगमार्फत ‘सोसल मिडिया ट्रायल’ सुरु गरेका थिए । अहिले शालिकराम पुडासैनीको आत्महत्या र रवि लामिछानेको गिरफ्तारीलाई लिएर त्यो भन्दा आक्रामक शैलीमा ‘सोसल मिडिया’ ट्रायल सुरु भएको छ ।

चितवनमा अहिले युट्युबरहरुको भीड लागेको छ । साथसाथै तिनै युट्युबले हाइलाइट गरेर सेलिब्रेटी बनाएका व्यक्तिहरु समेत भरतपुरमा डेराडण्डासहित भेला भई को दोषी हो र को निदोर्ष हो भन्ने सडकबाटै घोषणा गरिररहेका छन् ।

कुनै पनि घटनामा को दोषी हो र को निर्दोष हो भनेर निरुपण गर्ने काम अदालतको हो । तर, सामाजिक सञ्जालमा फोटोसपको प्रयोग गरेर भ्रामक सूचनाहरु दिने र अदालतलाई प्रभाव पार्ने कसरत भरतपुरबाट भइरहेको छ छ ।

यतिसम्म कि मृत्युपूर्व रेकर्ड गरेको भिडियोमा मृतक शालिकराम पुडासैनीको आँखाभित्र अर्को मानिसको तस्वीर देखियो, त्यसैले उनको आत्महत्या नभएर हत्या नै हो भन्ने प्रचार सामाजिक सञ्जालमा व्यापक भयो । त्यस्तै कश्मिरको घाइतेको तस्वीर जोडेर शालिकरामको शवमा नीलडाम देखिएको प्रचारबाजी पनि यसवीचमा भयो ।

यी सबै क्रियाकलापहरु निश्पक्ष अनुसन्धानलाई प्रभावित बनाउने र अदालतले गर्नुपर्ने काम सडकबाटै गराउन खोज्ने ‘सोसल मिडिया ट्रायल’ का भद्दा नमूना हुन् ।

सोसल मिडियामा आउने जथाभावी गतिविधिले मानिसलाई कस्तो प्रभाव पार्न सक्छ भन्ने सानो दृष्टान्त म्यानचेस्टर सीटीका फुटबलर चेड इभान्समाथि लागेको बलात्कारको मुद्दाको घटनालाई लिन सकिन्छ ।

सन् २०१२ ताका चेडमाथि एक १९ वर्षे युवतीलाई बलात्कार गरेको आरोप लाग्यो । अदालतले युवतीको नाम गोप्य राखेको थियो । तर, इमान्सका समर्थकहरुले ती युवतीको नाम र तस्वीर सार्वजनिक गरिदिए । सोसल मिडियामा पहिचान खुलेपछि युवतीले लुक्नुपर्‍यो । फलस्वरुप धेरैले थप मुद्दा मामिलाको सामना गर्नुपर्‍यो ।

तथापि आरोप लागेको र जेल परेको लगभग ५ वर्षपछि सन् २०१६ मा फुटबलर चेड अदालतबाट निर्दोष सावित भइसकेका छन् ।

चितवनमा ‘युट्युब ट्रायल’को अभ्यास

पछिल्लो समय नेपालमा युट्युबरहरुको सक्रियता बढेको छ । देशको कुनै पनि भागमा हत्या–हिंसाका घटना हुनासाथ युट्युबरहरुको ध्यान खिचिने गरेको छ ।

यसअघि पथरीमा एक महिला मृत अवस्थामा फेला परेको विषयलाई युट्युबरहरुले निकै हाइलाइट गरे । अनावश्यक नातागोतालाई समेत युट्युबमा ल्याएर रुवाए । मृतकका निकै टाढाका परिवार, नातागोता आफन्तसँग भिडियोवार्ता गर्न भ्याए । अन्तरवार्ता दिनेले पनि अफिसियल मिडियालाई जस्तै गरी अन्तरवार्ताहरु दिए ।

त्यस्तै, पाँचथरमा परिवारैको नरसंहार हुने गरी भएको हत्याको घटनामा पनि औपचारिक मिडिया, पत्रपत्रिका वा टेलिभिजनभन्दा अनौपचारिक मिडियाहरुको कभरेज व्यापक देखियो । त्यस्ता घटनामा औपचारिक सञ्चार माध्यमको कभरेज कमजोर देखियो । सो घटनामा पनि ‘युट्युब ट्रायल’ को प्रयास भयो । एकजनाले मात्रै सो हत्या गरेको हैन भनेर स्थापित गराउने प्रयास भयो ।

अघिल्लो महिना चितवनमा क्रिकेट रंगशालाको बार स्थानीयले भत्काएपछि आत्तिँदै घटनास्थलमा पुगेकी कुञ्जना घिमिरे (सुन्तली) लाई युट्युबरले फेला पारे । घिमिरेको आक्रोशित अभिव्यक्ति भाइरल भएपछि उनी विवादमा परिन् र तनाबसमेत झेल्नुपर्‍यो । अहिले कुञ्जनाले युट्युबर र औपचारिक मिडियाको फरक छुट्याउन थालेकी छिन् ।

केही साताअघि कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई युट्युबरहरुले काठमाडौं प्रहरी परिसरमा फेला पारे । जग्गा किन्ने बाहानामा पैसा खाएर फरार भएकी एक महिलालाई पक्राउ गरिदिन आग्रह गर्दै मीना प्रहरीसमक्ष पुगेकी थिइन् । तर, पैसा गुमाएर तनावमा परेकी मीनालाई युट्युबरहरुले प्रहरी परिसरमै घेराहालेर चलचित्रको अभियन गरेर देखाउन भने । मीनाले त्यहीँ वकीलको अभिनय गरेर देखाइन् ।

यसैवीच पछिल्लो श्रृंखलाका रुपमा चितवनमा रवि लामिछाने थुनिएपछि काठमाडौंका युट्युवहरु क्यामेरा लिएर दैनिक अपडेटमा जुटेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा गिरफ्तार भएका लामिछानेको पक्षमा वकालत गर्न र प्रहरी प्रशासन एवं नेताहरुलाई गाली गर्न केही ‘भाइरल म्यान’ हरु पनि चितवनमा पुगेका छन् । ती ‘सेलिब्रेटी’ र युट्युबरहरु एक–अर्काका परिपूरक हुन्– जसले निश्पक्ष न्यायलाई प्रभावित पार्ने जमर्को गरिरहेका छन् । प्रहरी प्रशासनविरुद्ध अनास्था बढाउने र आन्दोलन भड्काउने खालका अभिव्यक्ति दिइरहेका छन् ।

रवि लामिछानेको गिरफ्तारी न्यायिक निरुपणको विषय भएकाले चितवनमा कार्यरत टेलिभिजन एवं दैनिक पत्रिका जस्ता औपचारिक मिडियाहरुले ‘इभेन्ट’ बाहेक अन्य विषयलाई धेरै महत्व दिएको पाइँदैन । तर, युट्युबरहरुले भने सूचनामात्रै होइन आफैं न्यायाधीश बनेर दोषी यो हो, निर्दोष यो हो भन्दै फैसलासमेत सुनाइरहेका छन् ।

पछिल्लो ५ वर्षको ‘ट्रेन्ड’

नेपालमा आमसञ्चार माध्यमका लागि पछिल्लो ५ वर्षे अवधि शीघ्र परिवर्तनशील देखिएको छ । सुरुवातमा समाचारमूलक अनलाइन पोर्टलहरु खोल्ने क्रम तीब्र बन्यो । साप्ताहिक पत्रिकाका अधिकांश सञ्चालक अनलाइनतिर लागे ।

थोरै लगानीमा ‘गुगल एड’ लगायतका विज्ञापनजन्य सागाग्री पनि पाइन थालेपछि ‘वेव पोर्टल’मा आकर्षण ह्वात्तै बढ्यो । इन्टरनेटमा पाठक बढ्दो पहुँचसँगै ‘एक व्यक्ति, एक अनलाइन’कै रुपमा यसको विकास हुन थाल्यो ।

सुरुमा मूलधारका पत्रपत्रिका र अनलाइनले समाचार सामग्री हुबहु कपी–पेस्ट गरिने समस्याको सामना गर्नुपर्‍यो । केही सञ्चार माध्यमले सूचना नै जारी गरेर समाचार सामाग्री साभार नगर्न आग्रह पनि गरे । कतिपयले वेव पेजको अक्षरलाई ‘कपी प्रोटेक्ट’ गरे ।

फेसबुकले ‘इन्स्टान्ट आर्टिकल’ मा पनि विज्ञापनका दिन थालेपछि नेपालमा युट्युब च्यानलहरुमा अश्लील र भ्रामक सामग्री प्रकाशन/प्रशारण हुन थाल्यो । फलतः त्यस्ता च्यानलहरुमा प्रहरीले निगरानी बढायो ।

सामाजिक सञ्जालको तीब्र प्रयोगसँगै फेसबुकभन्दा बढी युट्युबमा नेपाली दर्शकको चाप बढ्यो । योसँगै अश्लिल भिडियो लगायतका अपाच्य सामग्री अपलोड गरेर आर्थिक लाभ लिनेको जमात पनि देखियो । जसको नियमन र नियन्त्रण गर्नु चुनौतीपूर्ण बनिसकेको थियो ।

सन् २०१८ एप्रिलमा युट्यबुले अश्लिल सामग्रीप्रति कडाइ गर्दै ८३ लाख भिडियो डिलिट गरेको जनाएको थियो, जसमा केही ‘स्पाम’ भिडियो पनि थिए । नेपाल प्रहरी पनि अश्लील भिडियो र अन्तरवार्ताविरुद्ध आक्रमक रुपमा प्रस्तुत भयो ।

काठमाडौं प्रहरी परिसर, टेकुले सामाजिक मर्यादामा खलल पुर्‍याउने किसिमका उत्तेजक र अश्लील सामग्री युट्युबमा राखेको आरोपमा ५ चैतमा तीनजनालाई पक्राउ गर्‍यो । फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानसहित अन्तवार्ता दिने परि तामाङलाई पनि पक्राउ गरिएको थियो ।

जब प्रहरीले युट्युबमा अश्लील सामग्री राख्ने विरुद्ध विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा चलाउन थाल्यो, युट्युबमा भद्दा सामग्री राख्ने क्रम विस्तारै घट्यो भने केही व्यवसायिक र पहुँचवाला युट्युबरले चलचित्र क्षेत्रका सेलिब्रिटीसँग अन्तरवार्ता लिने क्रम चल्यो ।

तर, यसमा सीमित व्यक्तिको मात्र पहुँच भएकाले विभिन्न अनलाइनमा प्रकाशित समाचार सामाग्रीलाई वाचन गरेर फोटो जोड्दै भिडियो प्रस्तुत गर्ने क्रम पनि देखियो । जब सञ्चारमाध्यमले त्यस्ता सामग्रीमा प्रतिलिपि अधिकार दाबी गर्दै ‘कपीराइट क्लेम’ गर्न थाले, त्यसपछि विस्तारै समाचार वाचन गर्ने क्रम पनि पातलियो । युट्युब च्यानलमा तीन पटकभन्दा बढी ‘कपीराइट क्लेम’ भयो भने मनिटाइजेसन खारेज हुने प्रावधान छ ।

त्यसमाथि युट्युबले ‘मनिटाइजेसन नीति’ परिवर्तन गरेर भिडियोको गुणस्तर पनि हेर्न थालेसँगै अहिले युट्युबरको ध्यान अहिले अपराधका घटनातिर मोडिएको छ ।

राम्रो भ्यूअर्स पनि पाइने, पक्राउ पनि नपरिने र प्रशस्तै विषय पनि हुने भएकाले अपराधस्थलमै पुगेर जे देखियो, त्यही सामग्री पोष्ट गर्ने क्रम अहिले बढेको छ । वेवसाइटमा अश्लील सामाग्री प्रकाशन प्रसारणमा कडाइ गरिएसँगै त्यो जमात युट्युबमा ‘क्राइम रिपोर्टिङ’ गर्नतिर सरेको छ । समाचारमूलक सामग्रीको भिडियो बनाएर युट्युबमा अपलोड गर्ने क्रम बढ्दै गयो ।

जस्तैः पाँचथरमा ७ जेठमा भएको एकैपरिवारको ९ जनाको हत्या प्रकरणमा मूलधारका सञ्चारमाध्यम र टेलिभिजनभन्दा पहिले यूट्यबुर अपरास्थलमा पुगे । ललितपुरमा २६ वैशाखमा म्यूजिक कम्पोजर उज्जवल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा पनि युट्युबर नै अगाडि देखिए ।

देशको जुनसुकै ठाउँमा कुनै पनि घटना हुने वित्तिकै युट्युबरको भिड त्यसतर्फ लाग्ने गरेको देखिन्छ । अहिले पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा युट्युबरको ध्यान केन्द्रित रहेको देखिएको छ ।

युट्युबको ट्रेन्डिङ (सर्वाधिक हेरिएको) सूचीमा रहेका ५० भिडियो मध्ये ३१ वटा रविकै विषयमा केन्द्रित भिडियो रहनुले पनि यसको पुष्टि गर्छ । भिजिटर बढाउने चटारोमा युट्युबरले केही पात्रलाई समेत चर्चित बनाएका छन् ।

जस्तैः ट्रेडिङ नं. ३ मा रहेको भिडियोमा रवि लामिछानेको खुलासा माताले गरिन् भन्ने शीर्षकमा सरु आचार्यको अन्तरवार्ता प्रस्तुत गरिएको छ । जसलाई ४ दिनमा करिब पाँच लाखले हेरिसकेका छन् ।

भूकम्प जाँदैछ भनेर अपवाह फैलाएको आरोपमा २१ जेठमा पक्राउ परेका ज्योतिषी भनिने अर्जुन क्षेत्रीको पनि लामिछाने प्रकरणमा अन्तवार्ता लिइएको भेटिन्छ ।

ओएस नेपाल न्यूज नामक च्यानलबाट ‘रवि लामिछानेको भित्री प्रमाणसहित अर्जुन क्षेत्री मिडियामा, फेरि गरे डर लाग्दो भविष्यवाणी’ शीर्षकमा राखिएको भिडियो अहिले १३ नं. टे«डिङमा छ । यही विषयमा पुन्य गौतम र दिलनिशानी मगरबीचको कुराकानी पनि दुई दिनमा झण्डै ३ लाखले हेरिसकेका छन् ।

एक दिनअघि नेपाल अपडेट च्यानलबाट अपलोड गरिएको ‘रवि लामिछानेबारे काली माताको सनसनीपूर्ण खुलासा, ठूलै मान्छेको हात छ’ शीर्षकको भिडियो पनि ६ लाख बढीले हेरेका छन् । जसमा ‘हत्यारा चितवनकै…’ भन्ने थम्बनेल राखिएको छ ।

गुड टीभी नामक च्यानलबाट ‘प्रचण्डले रिस फेर्न रविलाई फसाएको खुलासा, चिवनका एसपी प्रचण्डको भूपू बडिगार्ड, सबै योजनाको पर्दाफास’ शीर्षकमा हालेको भिडियो हेर्नेको संख्या पनि ४ लाख पुग्न लागेको छ ।

यसका साथै, ‘रमेश प्रसाईं गर्जिए, सजायँ हुनुपर्छ’, ‘मरेको बनाउन मारेर झुण्ड्याइएको साथीको आरोप, हत्यारा नै तोकियो’, ‘पेटमा रडै रडको डाम भएको खुलासा’ जस्ता शीर्षकमा उत्तेजक सामाग्री पनि हालिएका छन् ।

अनुसन्धान अधिकारीको चिन्ता

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दानबहादुर मल्ल अफवाह फैलाउने किसिमले राखिएका यस्ता भिडियोले भीडलाई उत्तेजित बनाउने काम गरेको बताउँछन् ।

‘ती भिडियोले दोषी पत्ता लगाउन वा कसूर नगरेका व्यक्तिलाई तथ्यले निर्दोष साबित गराउने कुरामा पनि प्रभाव पार्छ’, प्रहरी उपरीक्षक (एसपी) मल्लले अनलाइनखबरसँग भने, ‘अहिले जसरी सर्वसाधारणलाई शंका उत्पन्न गराउने किसिमले भिडियो राखिएका छन्, त्यसले अनुसन्धानलाई बाधा पुर्‍याउन सक्छ ।’

तर, अनुसन्धान अधिकृतले कुनै पनि कुरामा आग्रह, पूर्वाग्रह नराख्ने बताउँदै मल्लले भने, ‘निर्दोष मान्छे फस्नुहुँदैन र दोषी छुट्नुहुँदैन भन्नेमा हामी पनि सचेत छौं ।’

उनले भिडलाई उत्तेजित पार्ने खालको अफवाह फैलाउनेविरुद्ध कानूनी कारबाही गरिने पनि बताए ।

विज्ञ भन्छन्– युट्युबर पत्रकार होइनन्

पत्रकारिताका विज्ञ प्राध्यापक पी खरेल सामाजिक सञ्जालमा आएका विषयको दोष मूलधारको पत्रकारितालाई लगाउने क्रम देखिएको भन्दै चिन्ता व्यक्त गर्छन् ।

‘दर्ता नभएका ब्लग, वेवसाइट वा युट्युब च्यानल लगायतले बिगारेको कुरामा मूलधारका सञ्चार माध्यमलाई दोष दिन थालिएको छ, यसप्रति अगुवाहरु सचेत हुनु आवश्यक छ’, खरेल भन्छन्, ‘एक सर्वेक्षणले अमेरिकामा ७० प्रतिशत जनताले समाचारमा विश्वास गर्दैनन् भन्ने दखाएको थियो । नेपालमा पनि यस्तै स्थिति रहने हो भने यहाँ ढुंगै लिएर जनता आउँछन् ।’

प्राध्यापक खरेलले दर्तै नभएका ब्लग, युट्युवजस्ता माध्यमहरु पत्रकारिताभित्रै नपर्ने बताए । तर, दर्ता हुँदैमा जेजे लेखिन्छन्, त्यो सिद्धान्तभित्रै पर्छ भन्न पनि नहुने खरेल बताउँछन् । ‘दर्ता भएकाको हकमा विस्तृतरुपमा आचारसंहिता बनाउनु आवश्यक छ’, खरेलले अनलाइनखबरसँग भने, ‘यसमा सशक्त प्रेस काउन्सिल वा मिडिया काउन्सिलले भूमिका खेल्नुपर्छ ।’

‘विगत कैयौं वर्षदेखि काउन्सिलमा पार्टीका मान्छे राख्ने क्रमलाई पनि रोकिनुपर्छ’, खरेलले भने, ‘अझ यसमा सक्रिय पत्रकार पनि राखिनुहुन्न । किनकि, वर्गीकरण गर्ने अधिकार पनि काउन्सिललाई हुने भएकाले सक्रिय पत्रकार काउन्सिलमा राखिनु हूँदैन ।’

यसमा पत्रकार महासंघसहित दलका भातृ संगठन पनि सजग भएर लाग्नुपर्ने उनी बताउँछन् । ‘स्थापित सञ्चार संस्था चलायमान भएनन् भने विश्वसनीयता घट्दै जान्छ’, खरेलले अगाडि भने, ‘मिडिया क्रिटिक गर्ने गरी नियमित स्तम्भ राख्ने विषयमा पनि कुनै संस्थाले अगुवाइ गरेको देखिन्न । यो अहिलेको स्थितिमा आवश्यक भइसकेको छ ।’

सञ्चारविज्ञ खरेलले युट्युबरलाई पत्रकार मान्न नसकिने बताए । ‘म त दर्ता नभएका माध्यमलाई सामाजिक सञ्जाल भन्छु, उनीहरु कतिपय व्यवहारमा पत्रकार होइनन्, तर, प्राविधिक रुपमा प्रेस पास पनि पाएका होलान्’, खरेल भन्छन्, ‘त्यसमा कडा नियमन हुनु आवश्यक छ ।’

यस विषयमा ठूला सञ्चारगृहले एकआपसमा छलफल गर्नुपर्ने खरेलको सुझाव छ ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पनि युट्युबरलाई पत्रकार मान्न तयार छैनन् । ‘युट्युब र समाजिक सञ्जालमा आउने विषय देशको सिस्टम र मर्यादाप्रति संवेदनशील देखिँदैनन्’, श्रेष्ठ भन्छन्, ‘केही विषय देख्नेवित्तिकै फ्याट्टै टिप्पणी गर्ने र अर्काबारे न्यायाधीश बन्ने जस्ता कार्य देखिन थालेका छन्, जसले सामाजिक सौहार्दतालाई भाँडिरहेको छ ।’

जसले धेरै गाली गर्न सक्यो, त्यो हिट हुने परम्परा देखिएको बताउँदै श्रेष्ठले भने, ‘युट्युब र भीड कुनै पनि विषयमा जिम्मेवार देखिँदैन । यो त गाली गरेर पैसा कमाउने धन्दा रहेछ ।’ यसले घरघरमा पक्ष र विपक्ष बनाएर झगडा लगाएको उनी बताउँछन् ।

प्रेस काउन्सिलमा अनलाइन मिडियासम्बन्धी विषय हेर्नलाई छुट्टै कानून नभएको बताउँदै उनले भने, ‘पोहोर सरकारले हामीलाई गरेको पत्रका आधारमा अनलाइनलाई हामीले हेरिरहेका छौं । तर, सामाजिक सञ्जालको नियमन पनि अत्यन्त जरुरी देखिइसकेको छ ।’

हातहातमा भएको मोबाइलले छाडातन्त्र ल्याएको बताउँदै श्रेष्ठले भने, ‘सरकारले समेत आजित भएर सूचना प्रविधि सम्बन्धी विधयेक ल्याइसकेको छ । पारित नभएर अड्किएको छ, यो पास भइसक्दा धेरै हदसम्म नियन्त्रण हुन्छ भन्ने मलाई लाग्छ ।’

सामाजिक सञ्जाल पनि नेपाल दर्ता नहुँदा नियमनमा समस्या हुने गरेको श्रेष्ठ बताउँछन् ।

प्रहरी भन्छ– अफवाह फैलाउने समातिन्छन्

नेपाल प्रहरीको साइबर अपराध ब्युरो (सीसीबी) ले पनि सामाजिक सञ्जालमा भ्रामक विषय लेख्नेविरुद्ध निगरानी बढाएको जनाएको छ । ब्युरोका प्रमुख विकास श्रेष्ठले भ्रामक कन्टेन्ट राख्ने वेवसाइट र युट्युब च्यानललाई निगरानीमा राखिएको बताए ।

‘पत्रकारको हकमा पनि प्रेस काउन्सिलले हेर्ने भन्ने प्रावधान छ । हामीले काउन्सिलसँग पनि यस विषयमा छलफल गरेका छौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यसअघि केही व्यक्तिविरुद्ध कारवाही पनि भएको छ ।’

जिल्ला प्रहरी कार्यालय, चितवनले पनि लामिछाने प्रकरणमा अफवाह फैसाउने किसिमले सामग्री राख्ने अनलाइन र युट्युब च्यानलको सूची तयार पारिएको जनाएको छ । ‘हामीले घर, ठेगानासमेत पत्ता लगाएर खोजी गरिरहेका छौं, कतिपय घरै छाडेर भागेको पनि देखिएको छ’, चितवन प्रहरी प्रमुख मल्ल भन्छन्, ‘कतिपयले अहिले सागाम्री डिलिट पनि गरेका छन् । तर, हाम्रो निगरानीमा रहेका व्यक्ति भागेको भए पनि मुद्दा दर्ता हुन्छ ।’

प्रहरीको महागनरीय अपराध अनुसन्धान महाशाखाले मंगलबारमात्रै प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई गाली गरेको आरोपमा बाराबाट सागर मैनालीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तरगतको कसूरमा कारवाही गर्ने तयारी महाशाखाको छ ।

त्यसअघि रवि लामिछानेलाई पक्राउ गरेको भन्दै फेसबुकमा काठमाडौं प्रहरी प्रमुखलाई ‘रिप’ लेखेको आरोपमा अछामको मंगलसेनबाट रिदम बीसी पक्राउ परेका थिए । उनी एसएसपी उत्तमराज सुवेदीलाई माफी मागेर अबदेखि त्यस्तो हर्कत नगर्ने कागज गरेर छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment