Comments Add Comment

पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित ३ जना पक्राउ

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ ।

उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

रवि लामिछाने र शालिकराम पुडासैनी ।

पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई समातेको हो । लामिछाने, कँडेल र कार्की आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् ।

साउन २२ गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए ।

रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।

नर्स अस्मिता कार्की पनि समातिइन्

यसैवीच प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नुपूर्व विहीबार अपरान्ह एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको छ । ती नर्सलाई पक्राउ गरिएको नभएर ‘संरक्षण’ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले नियन्त्रणमा लिनुपूर्व अस्मिताले न्युज २४ लाई अन्तरवार्ता दिन लागेकी थिइन् । एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने, ‘अनुसन्धानलाई प्रभाव पार्ने र आफ्नो पक्षमा जनमत सिर्जना गर्ने गरी ती युवतीसँग अन्तरवार्ता लिन खोजेपछि उनलाई संरक्षणमा राखिएको हो ।’

लामिछानेसहित ३ जनाविरुद्ध लागेको आत्महत्यामा दुरुत्साहन दिएको कसूर प्रमाणित भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहितामा यो कानूनी व्यवस्था छ ।

हेर्नुस् प्रहरीले जारी गरेको विज्ञप्ति

यो पनि पढ्नुस्, आत्महत्यामा विवाद: ‘बार्गेनिङ’ को भूमिका कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment