Comments Add Comment

चितवन मेडिकल कलेजमा गरीव तथा विपन्न बिरामीको निशुल्क डेंगु परीक्षण

२६ भदौ, चितवन । चितवनमा डेंगुले महामारीको रुप लिन थालेपछि भरतपुरको चितवन मेडिकल कलेज (सीएमसी) ले गरीव तथा विपन्न बिरामीहरुको निशुल्क डेंगु परीक्षण सुरु गरेको छ ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्न गरीव तथा विपन्न वर्गका विरामीहरुको निशुल्क डेंगु परीक्षण गराउने कार्य थालिएको कलेजका प्रमुख सञ्चालक डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार एक हजार त्यस्ता वर्गका बिरामीको निशुल्क परीक्षण गरिने छ ।

सरकारले बनाएको विपन्न बर्ग सम्बन्धी मापदण्ड अनुसार नै बिरामीलाई यो सेवा प्रदान गरिने डा. न्यौपानेको भनाइ छ । गरीब तथा विपन्न वर्ग भनी प्रमाणित गर्ने सिफारिस ल्याउन नसक्ने बिरामीहरुलाई अस्पातलले नै मुल्याङ्कन गरेर यो सेवा प्रदान गर्ने व्यवस्था कलेजले गर्नेछ ।

चितवनलाई डेंगुले निकै प्रभावित गरिरहेको सन्र्दभमा कलेजका तर्फबाट उर्जा प्रदान गर्न यस्तो कार्यक्रम ल्याइएको उनले बताए । कलेजमा दैनिक ४ सय ज्वरो तथा डेंगुका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । निशुल्क डेगु परीक्षणसँगै चिकित्सकिय परामर्श पनि दिइने कलेजका निर्देशक डा. दयाराम लम्सालले बताए ।

सरकारी भरतपुर अस्पतालमा डेंगुको निशुल्क परीक्षणको व्यवस्था गरिएको छ भने, अन्य नीजि मेडिकल कलेज तथा अस्पतालहरुले एक हजार पाँचसय रुपैयाँ डेंगु परीक्षणमा लिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment