Comments Add Comment

प्रधानमन्त्रीले सुझाए दुःख निवारणका ३ उपाय

'हाम्रो जीनमा नै खोज अनुसन्धान छ'

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको दुःख निवारणका तीन उपाय बताएका छन् । बुधबार काठमाडौंमा आयोजित सातौं राष्ट्रिय विज्ञान दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीर पुर्खाको वंशाणुगत गुण, प्राकृतिक सुन्दरता र विशाल युवा जनशक्तिलाई नेपालीहरुको दुःख निवारणको उपायको रुपमा व्याख्या गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी वीर पुर्खा र विद्वान पुर्खाका सन्तान हौं । त्यो जीन हामीसँग छ । हाम्रो जीनमा नै खोज अनुसन्धान छ । अहिले भएका पाका वैज्ञानिकहरुले सीमित खोज अनुसन्धान गर्नुपर्‍यो होला । नयाँ पुस्तालाई अवसर छ ।’

‘प्राकृतिक हिसाबले हामीसँग प्रशस्त सम्भावना छ । युवाको ठूलो जनसंख्या छ । अब हामी विकास गर्न सक्छौं । परम्परागत ढंगले विकास सम्भव छैन । त्यसकारण समाजलाई विज्ञान सम्मत ढंगले लैजानुपर्छ ।’

उनले युवा वैज्ञानिकहरुलाई उत्साहित भएर काममा लाग्न आग्रह गर्दै सरकारले साथ दिने पनि बताए । ‘राजनीतिक वातावरण बनेको छ । अरु वातावरण बनाउनका लागि सरकार तयार छ, बनाउँछ,’ उनले प्रतिबद्धता जनाउँदै भने, ‘विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने अठोट गरेका छौं । अब शान्तिपूर्ण ढंगले जानुपर्ने छ । त्यसकारण उत्साहित भएर काममा लाग्नुपर्छ ।’

उनले नेपालमा विकास र समृद्धिको कुरा गर्दा विरोधका कुरा आउने गरेको गुनासो गरे । सरकारको विरोध गर्नेहरुलाई उखरमाउला भन्दै प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र ल्याइसकेपछि नेपाली जनताले दुःख पाउँछन् भन्ने कुरा छैन, हामी लोकतान्त्रिकलाई सुदृढ गर्दै शान्तिपूर्ण ढंगले अगाडि जान्छौं । केही स्वार्थी तत्वहरु विकासभन्दा उखरमाउला कुरा गरेर जन्मदै कोही सार्थक हुन्छ भनेर हिँडिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment